सरकारी बजेटको दुरुपयोग

स्थानीय सरकार भत्काउने संघीय सरकारले बनाउने

देशको आवाज
२२ जेठ २०८१ १२:१९

काठमाडौं महानगरले न्युरोडको सडकमा पेटी बढाउन काटेको ठाउँमा सोमबार दिउँसो सडक डिभिजन कार्यालयले कालोपत्रे गरेको छ। कार्यालयको कार्यक्षेत्रभित्र पर्ने सो सडकमा कामपाले हस्तक्षेप गरेपछि सडक डिभिजनले कालोपत्रे गरेको हो। तीनदिने पत्रको जवाफ नदिएर म्याद गुजारेपछि सडक डिभिजन कार्यालय आफैंले पिच गरेको जनाएको छ ।

राज्यका जिम्मेवार निकायबीच टसलका कारण एउटाले भत्काउने र अर्कोले फेरि त्यही अवस्थामा ल्याउने गर्दा सरकारी बजेटको सत्यनानस भएको छ । सडक डिभिजन कार्यालय काठमाडौंका इन्जिनियर प्रमोद खतिवडाले भने – ‘न्युरोडजस्तो क्षेत्रमा महानगरले भद्रगोल गरेपछि आफैंले कालोपत्रे गर्न लागेका हौं । पिच गरेको खर्चको क्षतिपूर्ति कामपाले तिर्नेछ ।’

सोमबार बिहान कालोपत्रे गर्ने क्रममा कामपा प्रहरी र नेपाल प्रहरीबीच भनाभन भएको थियो। कालोपत्रे शुरू गरेलगत्तै मेयर साहले पठाएको नगरप्रहरीले हस्तक्षेप गर्न खोजेपछि नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। कामपाले पेटी चौडा गर्न काटेको सडकमा डिभिजन सडकले पिच गर्न थालेपछि समर्थन गर्ने स्थानीय खुसी भएका थिए भने विरोधमा उत्रिएकाले मेयर साहको समर्थन गर्दै नारा लगाएका थिए ।

महानगर प्रहरी पुगेपछि भएको तनावका बीच विभागले कालोपत्रेको काम जारी राखेको थियो । मेयर साहको हठ्ठीपनका कारण आफैंले धोका खानुपरेको स्थानीयको भनाइ छ। मेयरका सम्पदा सल्लाहकार यादवलाल कायस्थले स्थानीयसँग सल्लाह नगरी पेटी चौडा गर्न थालेकोमा विरोध भएको बताए ।

उहाँले भन्नुभयो– ‘मेयर साबले भेला डाकेर, सबै सरोकारवालाको धारणा सुनेर काम गरेको भए विरोध हुने थिएन। एकलौटी रूपमा काम गर्न थालेका कारण समस्या परेको हो ।’ कामपा क्षेत्रको वडा नं। २२, २३ र २४ का जनताले मेयर साहले मनपरी गर्न लागेको आरोप लगाएका थिए । वडानम्बर २२ र २३ का अध्यक्षहरू पेटी विस्तार गर्न नहुने पक्षमा थिए भने २४ वडा अध्यक्ष विनोद राजभण्डारी पेटी विस्तार गर्ने पक्षमा हुनुहुन्थ्यो ।

मेयर साहले न्युरोडको पेटी बनाउन सहमति नदिएको आक्रोशमा केही दिनअघि डिभिजन सडक कार्यालयको गेटमा धुलो फालेपछि सरकार आक्रोशित भएको थियो ।