श्रमाधान रोजगार मेला शुरु

आफ्ना उद्योगमा युवालाई रोजगारी दिन मन्त्री अर्यालको आग्रह

देशको आवाज
१९ जेठ २०८१ १४:५९

जनकपुर । मधेस प्रदेशको जनकपुरमा जेठ १९ र २० गते दुई दिन चल्ने श्रमाधान रोजगार मेलाको उद्घाटन आज श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले गरेका छन् । मेला उद्घाटन गर्दै मन्त्री अर्यालले धेरैभन्दा धेरै युवाहरूलाई आफ्ना उद्योगमा रोजगारी दिन उद्योगीहरू मधेस प्रदेशका उद्योगीहरूलाई आग्रह गरेका छन् ।

शनिबार मेला उद्घाटन गर्दै मन्त्री अर्यालले मधेसमा रोजगारी क्षेत्रमा व्यापक समस्या रहेको र मधेसबाट ठुलो सङ्ख्यामा युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य रहेको पनि ‍औंल्याए ।ु कुनै पनि कार्यक्रम गर्नुको पछाडि उद्देश्य हुन्छ। त्यस्तै एउटा उद्देश्य बोकेर श्रमाधान रोजगार मेला । उपायका रूपमा सुरु गरिएको हो । स्वदेश र विदेशमा भएका नेपाली श्रमिकका चाङका चाङ समस्या आउँछन्। एउटै माध्यमबाट समस्या सङ्कलन र समाधान गर्न श्रमाधान सुरु गरिएको हो,ु उनले भने । यो मेलाबाट अहिले नै ठ्याक्कै यति रोजगारी दिन सकिन्छ भन्ने ग्यारेन्टी गर्न नसकिए पनि श्रमिक र रोजगारदाताका समस्या आवश्यकता बारे बुझ्ने र दीर्घकालीन रूपमा श्रम क्षेत्रका समस्या सामधानका लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

सुझाव सङ्कलन गर्न, देशमा रोजगारीका अवसर वृद्धि गर्न र देखिएका समस्या समाधान गर्न श्रमाधान सुरु गरेका हौँ। यो कार्यक्रम सुरुआत हो, उनले भने । भविष्यमा यसलाई अझ व्यापक बनाउँदै लगिने उनको भनाइ छ । देशको युवापुस्ता बाध्य भएर वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था औंल्याउँदे मधेसको युवा पुस्तामा यस्तो समस्या अझ धेरै रहेको उनले बताए । मधेस प्रदेशका सबै नागरिकलाई यो मेलाबारे जानकारी गराइ सकेसम्म देशको श्रम बजारको आवश्यकता अनुसार सीप सिकेर अवसरको सदुपयोग गर्न पनि मन्त्री अर्यालले आग्रह गरे ।

उनले रोजगारीको खोजीमा भतारिइरहेकाहरूलाई मेलामा सहभागिताका लागि आग्रह गरे । सरकारले रोजगार बैंकको अवधारणा पनि अघि सारेको मन्त्री अर्यालले बताए । नेपालबाट भारत जाने श्रमिकहरूको तथ्याङ्क सङ्कलनको काम पनि सरकारले गरिरहेको मन्त्री अर्यालको भनाइ छ । मन्त्रालयले अझ उत्कृष्ट काम गर्ने पनि विश्वास दिलाए । केही समस्या परे ११४१ पैसा नलाग्ने श्रमाधान कलसेन्टरमा पनि गुनासा राख्न आग्रह गरे ।

मधेस प्रदेश श्रम तथा यातायात मन्त्री वेची लुंगेलीले यो मेलाले श्रम क्षेत्रका समाधानका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् । मेलाबाट बढी भन्दा बढी मधेस प्रदेशका युवाले लाभ लिने विश्वास पनि उनले व्यक्त गरिन् ।  ‘मधेस प्रदेशमा बेरोजगारी समस्या व्यापक छ । यहाँबाट विदेश पलायन हुनेको संख्या धेरै छ । यो मेलाले ठुलो योगदान पुर्यापउँछ भन्ने अपेक्षा छ’ , उनले भनिन् । वैदेशिक रोजगारीमा जानेका लागि देशमै केही गर्छु भन्नेका लागि र वैदेशिक रोजगारीबाट फर्किएकाहरूका लागि यो मेलामा धेरै कुराहरू सिक्ने अवसर राखिएको पनि उनले बताइन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मेलाले श्रम बजारको मागअनुसार श्रम शक्ति उत्पादनमा सहयोग पुग्ने बताए । नेपाली रोजगार क्षेत्रलाई सुरक्षित व्यवस्थित र श्रमिक तथा उद्योगमैत्री बनाउँदै लगिने पनि उनले बताए। प्रतिनिधि सभा सदस्य मनिष झाले यो मेलालाई अवसरको रूपमा लिनुपर्ने बताए ।  ‘श्रम सम्बन्धी समाधान आवश्यक छ त्यसैले श्रमाधान आवश्यक छ। हाम्रा युवा विदेश गएर श्रम गर्ने होइन देश बनाउन गर्ने हो’, उनले भने । आज सुरु गरिएको यो मेला भोलिसम्म चल्ने छ ।

मेलामा श्रम तथा रोजगारसँग सम्बन्धित सरकारी निकायको स्टल, रोजगारदाता, म्यानपावर व्यवसायी, विभिन्न सामाजिक संस्थाहरू लगायत ३५ भन्दा बढी स्टलहरू राखिएको छ । श्रम मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, कल सेन्टर, सुरक्षित आप्रवासन सामी, रेमी श्रमाधान लगायत सरकारी स्टलहरू छन् । कामको खोजीमा रहेका युवाहरूलाई लक्षित गर्दै सीपसँग सम्बन्धित तथा रोजगारीमा जोड्ने रोजगार परामर्श स्टल राखिएको छ । विभिन्न नेटवर्किङ सत्रहरू पनि राखिएको छ । साइडलाइन सत्रहरू, तथा स्थानीय सांस्कृतिक कार्यक्रमहरू पनि राखिएको छ ।