अन्तरवार्ता

मानवीय स्वास्थ्यका क्षेत्रमा प्रभावकारी योजना बनाउनु पर्छ

ज्ञानबहादुर बस्नेत
१२ जेठ २०८१ १८:५८

ज्ञानबहादुर बस्नेत
स्वास्थ्य निर्देशक (कोशी प्रदेश, स्वास्थ्य निर्देशनालय)

काठमाडौं ।  कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेत स्वास्थ्यचौकीबाट सेवा प्रारम्भ गरेर ३५ वर्षको सेवा अवधिमा प्रदेश स्वास्थ्य निर्देशकको भुमिकामा हुनुहुन्छ । बिगत साढे ३ वर्षदेखि कोशी स्वास्थ्य निर्देशक भएर काम गर्दै आउनुभएका बस्नेतले मानवीय स्वास्थ्य अवस्था सुधारका लागि नीतिगत योजनासँगै सबै निकायको सहकार्य आवश्यक ठान्नुहुन्छ । पछिल्लो समय नसर्ने रोगहरुका कारण नागरिकको स्वास्थ्यमा निकै जटिलताहरु आउँन थालेको अनुभव सुनाउँदै उहाँले स्वास्थ्य क्षेत्रले भोग्दै आएको जनशक्ति अभाव र आवश्यक बजेट व्यवस्थापनमा संघीय तथा प्रदेश मन्त्रालय, विभाग लगायत निकायले बढी ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । साथै सबै मिलेर मानवीय स्वास्थ्य, शिक्षा र सचेतना मार्फत नागरिकले स्वस्थ रहँने उपाहरु अबलम्बन गर्न आग्रह गर्नुभएको छ । यीनै विषयमा रहेर बस्नेतसँग देशको आवाज डटकमले गरेको कुराकानीको संपादीत अंश:

प्रदेश स्वास्थ्य निर्देशनालयको मुख्य जिम्मेवारी के हो ?

प्रदेश स्वास्थ्य निर्देशनालय संघीयतापश्चात स्वास्थ्य मन्त्रालय अन्र्तगत रहँने एउउटा जिम्मेबार निकाय हो । यसको भुमिकाका सन्दर्भमा कुरा गर्दा संघीयतापूर्वको अवस्थामा प्रदेश भरीका सबै जिल्लामा रहेका स्वास्थ्यसंस्था, अस्पताल, आयुर्वेदिक स्वास्थ्यलयहरुबीच समन्वय र व्यवस्थापन गर्ने, जिल्ला अन्र्तगत रहेका स्वास्थ्यसंस्थाहरुले गर्दै आएका कार्यक्रमहरुलाई निरन्तरता दिने, समिक्षा गर्ने, नीति कार्यक्रम र बजेट योजना तर्जुमा समेत आवश्यक भुमिका खेल्ने,कर्मचारीको कार्यसम्पादन मुल्यांकन गर्ने, सरुवा,बढुवाको काम समेत गर्नेगरी विकास भएको सरकारको एउटा जिम्मेवार निकाय थियो ।

तर, संघीयतापछि ती जिम्मेवारीहरु कटौति भएका छन् । तथापी अहिले पनि यो निकायले अनुगमन, कार्यक्रमहरुको समिक्षा,केन्द्र र स्थानीय तहबीच कार्यक्रमका बारेमा समन्वय गर्ने र स्थानीय तहका अन्र्तगत स्वास्थ्यको क्षेत्रमा भए गरेका कामको बारेमा संघीय स्वास्थ्य मन्त्रालयमा रिपोर्टिङ गर्ने जिम्मेवारी रहेको छ । सोही अनुसार कोशी प्रदेश स्वास्थ्य निर्देशनालयले काम गर्दै आएको छ ।

निर्देशनालयले प्राप्त जिम्मेवारी अनुसारका कामहरु के–कसरी गर्दै आएको छ ?

कोशी प्रदेश निर्देशनालयमा सात वटा शाखामा उपसचिव तहका कर्मचारी हुनुपर्नेमा हो । पहिलाको जस्तो अधिकार र श्रोत साधन नभएको अवस्थामा अहिले एकदमै थोरै कर्मचारीको भरमा काम गर्नुपरेको अवस्था छ । यो संगै प्रदेशभरीका स्वास्थ्यसंस्थामा करिव ४० प्रतिशत कर्मचारी अभाव छ । त्यस कारण सोचे अनुसार काम हुन सकेको छैन् । जनशक्ति अभाव भएकै कारण कार्य सम्पादन गर्ने कुरामा समस्या त छ । यद्यपी विकास साझेदार संस्थाहरु र करारका कर्मचारी साथिहरु मिलेर कामहरु गर्दै छौं ।

हामीले अहिले जिल्ला तथा स्थानीय तहहरुबाट आएका तथ्यांक हेर्ने र उनिहरुको अवस्था अनुसार तथ्यांक व्यवस्थापनको काम गर्दै आएका छौं । स्थानीय तह र जिल्लाबाट आएका ती त्थ्यांकहरुको अवस्था विश्लेषण गर्ने र पृष्ठपोषण दिने काम पनि भइरहेको छ । प्रत्येक ६ महिनामा समिक्षा गर्ने कामलाई निरन्तरता दिएका छौं । स्वास्थ्य संस्था अनुगमन गर्ने, स्वास्थ्य संस्थाहरुले अस्पताल सेवा दिन कत्तिको सक्षम छ ? स्वास्थ्यको अवस्था पहिचान गर्ने र माथिल्लो निकायलाई जानकारी सहित आवश्यकता पहिल्याउने गरी काम भइरहेको छ । यसले भोलीका दिनमा स्वास्थ्य क्षेत्रको हाम्रो अवस्था कस्तो रहेछ भनेर थाहा पाउन र आगामी कार्ययोजना बनाउन सहजता तुल्याउन आफ्नो जिम्मेवारी अनुसारका कामहरु गर्दै आएका छौं ।

संघीय सरकारबाट प्राप्त हुने योजना तथा कार्यक्रमका विषयमा स्थानीय तहहरुले प्रदेश निर्देशनालयसँग कत्तिको सहकार्य गरेका छन ?
यसमा अलिकति खाडल नै छ । हामीले स्वास्थ्यका हरेक कार्यक्रममा जुन पालिकामा पुग्दा पनि त्यहाँका पदाधिकारी जनप्रतिनिधि र स्वास्थ्यसंस्थाका कर्मचारी साथिहरुसँग स्वास्थ्यका कार्यक्रम र बजेट बनाउँदाखेरी कहाँ समस्याहरु छन्, ? कहा लभि गर्नुपर्ने अवस्था छ ? त्यहाँनेर हामीले आफ्नो विज्ञताका आधारमा सहयोग गर्न सक्छौ है भनेर भनिरहेकै हुन्छ । तर स्थानीय तहका साथिहरुले त्यसलाई खासै छलफलको विषय बनाउन भएको पाइँन् । स्वास्थ्यका एजेन्डामा छलफल गर्ने, विज्ञहरुसँगको समन्वयमा कार्यक्रमहरु तय गर्ने माथिल्लो तहसागको समन्वयमा के कसरी काम गर्ने भन्ने कुरा स्थानीय तहहरुमा अभ्यास भइरहेको अवस्था छैन् ।

स्थानीय सरकार आफै कार्यकारी हो भन्ने ढंगले उहाँहरु अघि बढेको देखिन्छ । तर स्वास्थ्यको क्षेत्रमा केही परिवर्तन हुनेगरी काम गरौं भन्नेहरु पनि हुनुहुन्छ उहाँहरुले हामीसँग आवश्यक समन्वय गर्दै आउनुभएको अवस्था पनि छ । केही स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरुले योजना निर्माणका चरमा आवश्यक सहयोग लिन हामीलाई छलफलमा बोलाउने गर्नुभएको पनि छ । बजेट नीति तथा कार्यक्रमका बेलामा प्रदेश स्वास्थ्य निर्देशनालयको नीतिगत सहभागीता होस भन्दा पनि कहिलेकही बोलाउनु पर्छ भन्ने हिसावले नै उहाँहरु अघि बढेको मैले अनुभुति गरेको छु । हाम्रो अस्था के छ र कसरी सहकार्य समन्वय गरेर जानु पर्छ भन्नेढंगले आम छलफलको विषय बन्न सकेको देखिदैन् ।

कोशी प्रदेशको समग्र स्वास्थ्यको अवस्था चै कस्तो पाउनुभएको छ ?

म बिगत साढे ३ वर्ष देखि स्वास्थ्य निर्देशकको भुमिकामा काम गर्दै आएको छु । संघीयतापछि स्थानीय तह, प्रदेश र केन्द्रिय सरकारबीच समन्वयको भुमिकामा हामी छौं । यो अवधिमा स्थानीय तह, प्रदेश र केन्द्रबीच जति समन्वय हुनु पर्ने हो त्यो हुन नसकेको मेरो अनुभव छ । स्थानीय तह आफै जिम्मेवार सरकार भएकाले आफ्नै हिसावले चलिरहेको छ । केन्द्रको श्रोत साधनहरु कसरी व्यवस्थापन गर्ने र तीनै तहको सरकारबीचको समन्वयमा के कसरी कामहरु गर्न सकिन्छ भनेर पुलको काम गर्ने अवस्थामा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले सरकारका कार्यक्रमलाई जोड्ने प्रयत्नमा लागेको छ । हाम्रो आफ्नै अधिनमा सबै कुराहरु नहुँने हुँदा प्रदेश स्वास्थ्य मन्त्रालय अन्र्तगत रहेका जिम्मेवार व्यक्तिहरुबाट अलि बढी छलफल गरेर योजना तथा बजेट व्यवस्थापनमा लागनुपर्ने अवस्था छ । सरकारको स्थायीत्व नहुनु पनि यो क्षेत्रको अर्को मुख्य समस्या हो ।

तर पनि स्वास्थ्यका केही सुचांकहरु सुधारोन्मुख छन् भने केही सूचांकहरु घटेको अवस्था पनि छ । यसको मुख्य जड राजनीतिक टकराव र सरकारको अस्थिरता हो भन्ने लागेको छ । प्रदेशस्तरका सबै राजनीतिक दलहरुले यो अस्थिरतालाई व्यवस्थापन गरेर मानविय स्वास्थ्य शिक्षाको विषयमा प्रभावकारी ढंगले काम गर्ने योजना नबनाउँदा सम्म समस्याहरु समाधान हुन सक्ने अवस्थामा छैनन् । मानीस स्वस्थ्य भउन भने मुलुकनै स्वस्थ हुँदैन भन्ने कोणबाट जिम्मेवार निकायले हेर्न जरुर छ । कोशी प्रदेशमा अहिलेपनि ४० प्रतिशत जनशक्ति कम छ । स्थानीय तह, प्रदेश र संघीय सरकारको आन्तरिक व्यवस्थापनमा सेवा करारबाट कर्मचारीहरु राखेर काम चलाएको अवस्था छ ।

प्रदेशले समयमै ऐन कार्यविधिहरु नल्याउँदा लोकसेवाबाट पदपुर्ति गर्नका लागि परिक्षा आब्हान भएको थिएन । अव ती कानुनहरु आइसकेकोले चाडै लोकसेवामार्फत आवश्यक पदपुर्तिका लागि पर्छ । विशेषगरी स्वास्थ्य मन्त्रालयले आवश्यक श्रोत साधनको पर्याप्तता गर्ने र स्थानीय तह देखी तल्लो तहका इकाईहरु स्वास्थ्य सम्बन्धी सरोकारवाला, राजनीतिक दलहरु, सञ्चारकर्मीहरु, सामाजिक अभियान्ता र आम नागरिकसमेतको सहभागीतामा मानविय स्वास्थ्य सचेतनाका कार्यक्रमहरुलाई प्रभावकारी बनाउने गरी योजनाहरु अघि सार्नु पर्दछ ।

स्वास्थ्य सेवा सुधार र विस्तारका लागि आगामी योजना के कसरी बनाउँदै हुनुहुन्छ ?

यसको लागि सबैभन्दा महत्वपूर्ण कुरा छलफलमा बस्नु पर्छ । सबै सरोकारवालाहरुबीच बसेर अब हाम्रो १६ औं पञ्चवर्षिय योजना पनि आउँदैछ । १५ औं पञ्चवर्षिय योजनाले दिएका कुराहरु कस्ता रहे समिक्षा गर्नुपर्ने हुन्छ र वार्षीक बजेट कार्यक्रमको छलफलमा लैजानु पर्दछ भनेर लागेका छौं । हाल सम्म सबै जिल्लाको अर्धबार्षिक समिक्षाहरु सकिएको छ । सबै जिल्लाको स्वास्थ्य क्षेत्रको तथ्यांक समिक्षा गर्दै आगामी वर्षको योजनामा के कस्ता कार्यक्रम समावेश गर्नु पर्छ भनेर खाका तयार पारेका छौं । अव बजेट बनाउँदाखेरी कुन कार्यक्रमलाई पथमिकता दिने र जनमुखी स्वास्थ्यसेवा दिनका लागि के गर्नु पर्छ भन्ने कुरा छलफलको विषय बन्यो । स्वास्थ्य सरसफाई, अस्पतालले दिने सेवाको प्रभावकारीता, पोषण, स्वास्थ्य संस्थाको सरसफाइ तथा व्यवस्थापकिय पक्ष लगायतका विषयमा योजनाहरु बनाइएको छ ।
त्यसलाई कार्यन्वायन पक्षको हकमा हेर्दा अहिले बजेट बढ्ने अवस्था छैन् । बजेटको सिमा, कर्मचारीको चाहाना इच्छा, कसले कसरी नेतृत्व लिने, कुन कार्यक्रम आवश्यक हो भन्ने कुरामा भर पर्छ ।

छलफल गरेर बनाईएका योजना तथा कार्यक्रमलाई राम्रोसँग बुझेर कार्यन्वायनमा लैजान सक्दा केही दिशानिर्देश गर्छ । अव स्वास्थ्यको भवन निर्माणमा भन्दा पनि स्वास्थ्य सेवा प्रवाह र प्रतिकारात्मक तथा प्रवद्र्धनात्मक सेवा, जिवनशैलि, खानपा,रोगहरुका बारेमा सचेतना, नसर्ने रोगहरु मुटु रोग, क्यान्सर रोग,उच्च रक्तचाप, डाइभिटिज, किड्नीका समस्या लगायत समस्या पहिचान र न्युनिकरणका लागि गाउँ बस्तीमै कसरी सचेतना पुर्याउन सकिन्छ भनेर पनि योजनाहरु बनेका छन् । यी योजनालाई कार्यन्वायनमा लैजान सक्यौं भने भोलीकादिनमा विरामी नै नहुने र स्वस्थ्य बन्ने सक्ने अभियानलाई सफल बनाउन सकिन्छ । स्वास्थ्यचौकी देखि प्रदेश स्वास्थ्य निर्देशक सम्मको जिम्मेवारी बहन गरिसक्नु भएको छ । तपाइको यो अनुभवका आधारमा भन्दा आम

नागरिकमा कस्ता स्वास्थ्य समस्याले बढी सताएका छन ? र ती समस्याको न्युनिकरणका लागि कस्ता योजना आवश्यक छन ?

हो म स्वास्थ्यचौकीबाट सेवा शुरु गरेर प्रदेश स्वास्थ्य निर्देशकको भुमिकामा पनि तीन वर्ष बढी काम गरिसकेको छु । स्वास्थ्य क्षेत्रमा करिव ३५ वर्षको अनुभव म सँग छ । पहिला पहिला सरुवा रोगको ममस्याहरु बढी हुन्थे । आँउ, झडापखाला टाइफाइड मलेरिया, कालाज्वरहरु बढी हुने गर्थे । पछि मानीसहरु अलि शिक्षित हुँदै गए । सभ्य र संस्कारी बन्दै गएपछि मानीसकोस्वास्थ्य सरसफाइमा अलि ध्यान दिन थाले र त्यो अवस्थामा केही परिवर्तन हुँदै गयो । अहिले पनि ती समस्याहरु निराकरण भएका छैनन् ।

यद्यपी धेरै कम भएको अवस्था छ । तर मानीसहरुमा काम गरौं भन्ने भावना चाही अहिलेको भन्दा पहिला अझ बढी थियो । बदलीदो समयमा मानीसहरुमा काम गर्ने इच्छाशक्ति अहिले अलि घटेको हो की भन्ने महसुस भएको छ । मानवजातीको जिवन यापनमा पहिलाको भन्दा अहिलेको समय नै फरक भइसकेको छ । सुख सुविधाहरु बढी छन् । मान्छेहरु सुविधाभोगि भइसकेका छन् । साथै विश्व वातावरणीय अवस्थामा आएको परिवर्तनसँगै हाम्रा शसरहरु धुलो धुँवा, वातवरण प्रदुषण भइरहेको छ । मानीसहरुमा खर्च बढी आम्दानी कम, बैदेशीक रोजगारीका लागी विदेश पलाएन, रहनसहन, भड्कीलो खर्चिलो वातावरण, खानपान, जिवनशैलि लगायतले रोगको प्रकृति पनि फरक हुन थालेको छ । सरुवा रोग भन्दा अहिले मानीसहरुमा नसर्ने रोगहरु (उच्च रक्तचाप, डाइभिटिज, मधुमेह, बाथ, मुटु, किड्नी, बोसोपना, क्यान्सर,नशा सम्बन्धी समस्या, आँखासम्बन्धि समस्या) ले बढी च्यापेको अवस्था छ ।

यो अवस्थामा हामी सबै मिलेर प्रकृति बचाउँ भियानमा लाग्न जरुरी छ । अन्तर्राष्ट्रिय स्वास्थ्य योजनालाई समेत पछ्याउँदै नेपाल सरकार, प्रदेश सरकार,स्थानीय तह देखी तल्लो तहका इकाईहरु स्वास्थ्य सम्बन्धी सरोकारवाला, राजनीतिक दलहरु, सञ्चारकर्मीहरु, सामाजिक अभियान्ता र आम नागरिकसमेतको सहभागीतामा मानविय स्वास्थ्य सचेतनाका कार्यक्रमहरुलाई प्रभावकारी बनाउन पर्दछ । जिवन शैलि परिवर्तन, खानपान, रहन सहनका कुरा, प्रणायाम, योग, जिवन विज्ञानका कुराहरुलाई बुझेर मानविय स्वास्थ्य सम्बद्र्धनमा सकारात्मक सोचकासाथ सबै मिलेर अघि बढ्नु पर्छ ।

संघीय र प्रदेश सरकारसँग स्वास्थ्य निर्देशनालयको अपेक्षा के हो ?

सबैभन्दा बढी हामीले समन्वकारी भुमिका खेल्ने हो । हामीसँग तथ्यांकीय अवस्था हेर्ने र त्यसको व्यवस्थापन गर्ने जिम्मेवारी छ । स्थानीय स्तरका स्वास्थ्य संस्थाको अवस्था, भइरहेका स्वास्थ्ये सेवाको प्रभावकारीता, स्थानीय र प्रदेश स्तरको स्वास्थ्यको अवस्थाको प्रतिवेदन केन्द्रले पनि समयमै आओस भन्ने हामीसँग अपेक्षा राखेको हुन्छ । त्यही अनुसार हामीले प्राप्त बजेट र जनशक्तिलाई उपयोग गरेर कामहरु गरिहरेका छौं । निर्देशनालयको भुमिकामा कुनै कमी हुन दिएका छैनौं । तर जनशक्ति अभाव र आवश्यक बजेट व्यवस्थापनमा संघीय तथा प्रदेश मन्त्रालय, विभाग लगायत निकायले अलि ध्यान दिनुपर्ने अवस्था छ । श्रोत साधन र जनशक्तिको कमी हुन नदिनका लागी जिम्मेवार निकायहरुको ध्यानाकर्षण होस । अन्तमा सबै मिलेर मानविय स्वास्थ्य, शिक्षा र सचेतनामा जोड दिदै सबै स्वस्थ्य रहने उपाहरु अबलम्बन गरौं भन्न चाहान्छु ।