उपनिर्वाचन

इलाम-२ मा ५७ प्रतिशत मतदान, रातिबाटै मतगणना गरिने

देशको आवाज
१५ वैशाख २०८१ २१:३१

इलाम । इलाम २ मा आज सम्पन्न उपचिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको इलाम २ मा ५७ प्रतिशत मत खसेकाे मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार करिब ६६ हजारले मतदान गरेका छन् । मतगणना आजै रातीबाट सुरु गर्ने तयारी छ ।

बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गरिएको थियाे । मतदान सम्पन्न पश्चात मतगणना स्थल सदरमुकामको गौतमबुद्ध सभागृहमा यो समाचार तयार पार्दासम्म मतपेटिका ल्याउने क्रम जारी रहेको छ । आजै राती १०/११ बजेसम्ममा सबैतिरबाट मतपेटिका ल्याइसक्ने अपेक्षा मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

चाँडो मतपेटिका आएको खण्डमा सर्बदलिय बैठक पश्चात आजै रातीबाट गणना गरीने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । भौगोलिक कठिनाइ र सडक राम्रो नभएका कारण फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माङसेबुङ गाउँपालिकाबाट इलाम सदरमुकामसम्म मतपेटिका ल्याउन समय लाग्न सक्छ । इलाम २ मा ६ वटा पालिकाका ४२ वडाका १४९ मतदान केन्द्रबाट मतपेटिका संकलन गर्नुपर्छ ।

मतपेटिकाको ढुवानी ढिलो भएमा भोलिबाट मतगणना गर्ने तयारी छ । ०७९ को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित संबिधान सभा अध्यक्ष एवं एमाले नेता सुबासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि यहाँ उपचुनाव भएको हो । उपचुनाव यस क्षेत्रमा सौहार्दपूर्ण बाताबरणमा भएको इलामका प्रहरी प्रमुख बासुदेव खतिवडाले बताए ।