तीन वर्ष देखि गुमनाम भीम रावल एमाले राजनीतिबाट मोडीने तयारीमा

जीवन शर्मा
१४ वैशाख २०८१ १३:५७

काठमाडौं । विगत तीन वर्ष यता पार्टीको कुनै जिम्मेवारी नपाएपछि जिम्लीएर बसेका नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावल एमाले राजनीतिबाट मोडीने तयरीमा पुगेका छन् । पार्टीको गत बैशाख ८–१० मा भएको महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा सहभागि हुन बैठकस्थल गोदावरी पुगेका रावललाई प्रवेश पत्र खोज्दै स्वयमसेवक तथा सुरक्षाकर्मीले गेटमै रोकेपछि उनि हलमा छिर्न पाएनन् । त्यसपछि थप आक्रोसित बनेका रावलले बिहीबार पत्रकार सम्मेलन गरेर एमाले राजनीतिकको ‘घुम्तीको मोडमा’ पुगेको बताए ।

२०७९ मंसिरको आम चुनावमा टिकट नदिएपछि पार्टी छाड्ने तयारी गरेपनि एमालेमै पुनः जिम्मेवारी पाइँने आशासहित सामान्य कार्यकर्ताको रुपमा जिम्लीएर रहेका रावल एकाएक जुर्मुराएर निस्कीएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको कटाक्ष गर्दै पत्रकारमाझ सार्वजनीक हुनुभएका रावलले एमाले एमाले नेतृत्वले एकपछि अर्को गर्दै ‘बाइपास’ गर्दै डिलमा धकेलेको बताए । २०७८ साल मंसिरमा पार्टीको दसौं महाधिवेशनमा ओलीसँगै अध्यक्षको प्रतिष्पर्धामा उत्रिएपछि रावलमाथि ओलीले राजनीतिक कारबाहीको डन्डा चलाएका थिए । पार्टी केन्द्रीय समितिमा नलगीएका रावललाई एमालेले गत निर्वाचनमा अछामबाट जित्ने निश्चित हुँदाहुँदै पनि टिकट नदिएर थप चिढ्याएको थियो ।

एमालेको राजनीतिमा विताएका तीन दशक लामो यात्राबाट बिट मार्ने संकेत रावलले गरेका छन् । एमाले नेतृत्वले एकपछि अर्को गर्दै ‘बाइपास’ गर्दै डिलमा धकेलेको भन्दै रावलले बिहीबार पत्रकार सम्मेलन गरेर आफू घुम्तीको मोडमा पुगेको बताए । पत्रकार सम्मेलनमा अध्यक्ष ओली लक्षित असन्तुष्टि पोख्दै रावलले भने– ‘यहाँभन्दा अगाडिको मैले सबै सहेर आएको छ, गोदावरीको अधिवेशनमा उहाँहरूले जुन प्रकारको व्यवहार गर्नुभएको छ । मैले के सोचेको छु भने अब मलाई राजनीतिक जीवनको एउटा मोडमा धकेलिएको जस्तो महसुस भएको छ । एउटा घुम्तीमा पुगेको जस्तो महसुस गरेको छु । अब त्यो घुम्तीबाट मान्छे अर्को मोडमा जानेछ हामी सबैलाई थाहा छ ।’

आफू १० औँ महाधिवेशनमा अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेकै कारण महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफूलाई निषेध गरेको उनको गुनासो छ । पार्टी नेतृत्वको व्यवहार सहेर यहाँसम्म आइपुगेको उल्लेख गर्दै अब आफू गम्भीर मोडमा पुगेको रावलले बताए । एमाले छाड्ने संकेत गर्दै उनले त्योे घुम्तीबाट मान्छे अर्को मोडमा जाने बताए । यद्यपी कुन राजनीतिक दलमा जाने वा नयाँ पार्टी निर्माण गर्ने भन्ने रावलले प्रष्ट बताएका छैनन् । ‘कतै उहाँहरूले मलाई त्यो घुम्तीमा पु¥याएर अर्को मोडमा जाओस् भन्ने दुराशयका साथ यो काम गरिरहेको हो कि भन्ने महसुस गरेको छु । त्यस कारण अब म त्यो घुम्तीमा पुगेको छु भने भविष्यमा त्यो मोड कस्तो हुने छ भन्ने कुरामा फेरि आउनेछु’, रावलले भने ।

उनले घुम्तीबाट अर्को मोडमा जाँदा कतातिर गइन्छ त्यो चाडै भन्ने बताए । एमालेको गोदावरी बैठकमा जबज र एमालेको परम्परा विपरीत गतिविधि भएको जिकिर गरे । नयाँ पार्टी खोलेर अघि बढ्ने सम्भावनाबारे उनले भने – ‘मैले विगतमा पनि राष्ट्रिय हितलाई सर्वोपरि राखेर हाम्रो राजनीति परराष्ट्रनीति, शासकीय स्वरूप, सुरक्षा, कृषि नीति लगायत हाम्रो राष्ट्रको हितलाई सर्वोपरि राखेर एउटा रूपरेखा कोर्न सकिन्छ भनेको छु । र, हाम्रो पार्टीको १० औँ महाधिवेशनको बेलामा मैले एउटा घोषण पत्र जारी गरेको थिएँ, त्यसमा नेपाललाई कसरी अगाडि लैजान सकिन्छ भनेर दूर दृष्टिकोण राखेको थिएँ, त्यसमा म अहिले पनि दृढ छु ।’

दसौं महाधिवेशनमा रावलले ओलीसँग अध्यक्षमा चुनावी प्रतिस्पर्धा गरेपछि ओली र रावलबीचको सम्बन्ध चिसिएको मात्र होइन बोलचाल नै बन्द भएको थियो । करिव २ वर्षपछि २०८० साउन अन्तिममा दुई नेता (ओली–रावल)बीच छलफल भएसँगै रावल एमालेमै सक्रिय हुने र पार्टीले पनि उचित जिम्मेवारी दिने आंकलन थियो । यद्यपी रावललाई ओलीले त्यसयता पनि पार्टीको कुनै जिम्मेवारी दिएका छैनन् । पूर्व उपाध्यक्ष तथा उपप्रधानमन्त्री गृहमन्त्री समेत रहेका रावललाई पार्टीले कुनै भूमिका जिम्मेवारी नदिएकोमा देशव्यापी रूपमा एमालेभित्र चासो र चिन्ता बढेको थियो । एमाले पार्टीका लागी अछाममा मात्र नभई सुदुर पश्चिम कै हस्ती मानीएका रावललाई पार्टी नेतृत्वमा आउन सक्ने सम्भावनाको ख्याल गर्दै पार्टीको दोस्रो तहका नेताहरुले समेत जिम्मेवारीमा ल्याउन समेत चाहेका छैनन् ।