दुई ठूला दल कांग्रेस–एमालेबीच सत्ता सहकार्य प्रयास

देशको आवाज
१३ वैशाख २०८१ १६:१२

काठमाडौं । मुलुकमा राजनीतिक स्थायित्व दिने भन्दै दुई राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिच सत्ता सहकार्यको प्रयास अघि बढेको छ । प्रतिनिधि सभाको पहिलो र दोस्रो ठूलो दल कांग्रेस–एमालेबीच सत्ता सहकार्यका सन्दर्भमा छलफल अघि बढेको हो ।

पार्टीको दोस्रो तहका नेताहरुबीच अनौपचारिक छलफल भईरहेको नेताहरुले बताएपनि अहिले नै यो विषयलाई बाहिर ल्याउने पक्षमा उनिहरु छैनन् । इलामा क्षेत्र नम्बर २ को उपनिर्वाचन लगत्तै छलफललाई मुर्तरुप दिने गरी तयारी भइरहेको श्रोतको दाबी छ । गत फागुन २१ मा बनेको नयाँ सत्ता समीकरणका मुख्य सहयात्री एमाले–माओवादी केन्द्र, रास्वपा, जसपा र नेकपा एकीकृत समाजवादीका नेताहरुबीच मनमुटाव त्यत्तिकै छ । पार्टीका अध्यक्ष माधव कुमार नेपाल वर्तमान गठबन्धन प्रति पूर्ण असन्तुष्टि जनाउँदै आउनुभएको छ । उपनिर्वाचनमा समेत उनिहरुले आ–आफ्ना उम्मेदवार उठाएर आपसी आरोप प्रत्यारोपमा उत्रिएपछि आन्तरिक मनमुटावले प्रश्रय पाएको नेताहरुले बताएका छन् ।

सत्तासहयात्री दलहरुबीचको लफडा चलिरहेकै अवस्थामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एमालेसँगको सत्ता सहकार्यका लागि हात फैलाएको छ । कांग्रेसका अधिकांश नेताहरुले वर्तमान गठबन्धन आफ्नै पिरले चाउरिदै गएको बताएका छन् । ‘यो गठबन्धनको सरकार कांग्रेसले चलाउनै पर्दैन’, नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले भने–‘गठबन्धन आफ्नै झगडाले टुट्ने सम्भावना बढेको छ । धेरै दिन यो सरकार रहँदैन् । अहिलेको संसदको उपस्थिति नै अस्थिततालाई बल पुर्याउँने भएकाले नागरिकको चाहाना र देशको आवश्यकता हेर्दा ठूला दलहरु एक ठाउँ भएर सरकार बन्यो भने सेवा प्रवाह , विकास निर्माण र सुशासनमा केही काम गर्न सकिन्छ भन्ने लागेको छ ।’

एमालेसँगको सत्ता सहकार्यपूर्व छलफलका लागी कांग्रेसका नेता डा शेखर कोइराला, महामन्त्री गगन कुमार थापा, प्रमुख सचेतक रमेश लेखकसहितका नेताले एमाले नेताहरु विष्णु पौडेल, प्रदीप ज्ञवालीसहितका नेताहरुसँग अनौपचारिक कुराहरु भइरहेका छन । देशमा राजनीतिक स्थायित्व र जनअपेक्षा अनुसार काम गर्नका लागी संसदको बाँकी कार्यकालभर कांग्रेस–एमालेसहितको सरकार आवश्यक रहेको दुबै दलका युवा नेताहरुको बुझाई छ ।

एक वर्ष अघि छोटो समय सत्ता सहकार्य गरेर नेपाली कांग्रेससहितको नयाँ समीकरण गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि धोका दिनसक्ने कुरामा नेताहरु सचेत रहेको एमालेका एक नेताले बताए । स्थिरताका लागी ठूला दलहरु मिलेर सरकार बनाउँने विषयमा कांग्रेसले भरपर्दो कुरा लिएर आएको खण्डमा सत्ता सहकार्यका लागी एमाले सकारात्मक भएको नेकपा एमालेका पोलिटव्युरो सदस्य विशाल भट्टराईले बताए । तर, कांग्रेसले भरलाग्दो कुरा नगरेकाले अहिले नै सत्ता सहकार्यको विषय अघि नबढेको उनको भनाई छ ।

केन्द्रीय सत्ता समिकरण लगत्तै सुरु भएको प्रदेश सरकार पुर्नगठनको विषयलाई लिएर वर्तमान गठबन्धनमा भाँडभौलो कायमै रहेको नेकपा एकीकृत समाजवादीका एक नेताले बताए । सरकारमा सहभागी नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी समेत सन्तुष्ट नभएको उनको भनाई छ । मधेका मुद्दार र खासगरी गौर हत्या काण्डका विषयमा प्रचण्ड नेतृत्वको सरकारले सकारात्मक काम नगरेको जसपाका अध्यक्ष उपेन्द्र यादवको निष्कर्ष छ ।

नयाँ सत्ता समीकरण पछि पनि सरकारका सहभागी जसपा र नेकपा एसबीच कार्यगत एकता हुँदै पार्टी एकता सम्मको प्रयास भइरहेको समाजवादीका नेताहरुले अनौपचारिक रुपमा बताएका छन् । उता गृहमन्त्री समेत रहेका रास्वपाका सभापति रबि लामिछानेले पुराना दलहरुले सत्ताको चलखेल गर्नका लागि रास्वपाका उम्मेदवारमाथि खनिएको टिप्पणी गर्नुभएको छ । उहाँको यो अभिव्यक्तिले पनि सत्ता समीकरण फेरबदलको संकेत गरेको छ ।