उपनिर्वाचनमा सेना परिचालन गरिने

देशको आवाज
१३ वैशाख २०८१ १५:०२

काठमाडौं । इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा हुने उपनिर्वाचनमा नेपाली सेना पनि परिचालन गरिने भएको छ। मन्त्रिपरिषदको वैशाख १० गतेको निर्णय र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को पत्रका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएसँगै चसनावमा सेना परिचालन हुने भएका हुन् ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले सरकारको सिफारिसका आधारमा राष्ट्रपतिले सेना परिचालन स्वीकृति दिएको उल्लेख गर्दै बिहीबार विज्ञप्ति जारी गरेकी छन्। यही वैशाख १५ गते इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा निकायहरू समन्वयात्मक रूपमा परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्को गत वैशाख १० को बैठकले सेना परिचालन गर्नुपर्ने निष्कर्ष निकालेको थियो। विगतका निर्वाचनमा पनि नेपाली सेनालाई बाहिरी घेरामा परिचालन गर्ने गरिएको छ।