गणतन्त्रमा संसद विघटन गर्न अनुमति दिने पूर्वराष्ट्रपति भण्डारीलाई गणतन्त्र गौरव सम्मान

देशको आवाज
१० वैशाख २०८१ १४:११

काठमाडौं,१० बैशाख । नेकपा एमालेले गणतन्त्रमा संसद विघटन गर्न अनुमति दिने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान गरेको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित दुइ दुई पटक संसद विघटन गर्ने निर्णयको अनुमति दिने पूर्वराष्ट्रपति भण्डारीलाई गणतन्त्र गौरव सम्मानबाट सम्मानित गरेको हो । नेकपा स्थापनाको ७५ वर्ष पुरा भएको अवसरमा आयोजित हीरक महोत्सवमा भण्डारीलाई प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त सम्मानबाट सम्मानित गरेका हुन् ।

नेपालको महिला आन्दोलनको अग्रणी व्यक्तित्व, कम्युनिस्ट आन्दोलनको योद्धा, गणतन्त्र नेपालको दुई पटक निर्वाचित राष्ट्रपति भएकी भण्डारी जननेता मदन भण्डारीको पत्नी हुन् । उनी नेपालको पहिलो महिला रक्षामन्त्री समेत भएकी थिइन् भने वातावरण संरक्षण र जलवायु परिवर्तनका सवालमा पैरवी गर्दै आएकी थिइन् ।

राष्ट्रपति भण्डारीले संविधान मिचने प्रधानमन््त्री ओलीलाई निरन्तर सहयोग गरेपछि विवादीत छवि बनाउँदै राष्ट्रपतिको कार्यकाल सकेर विदा भएकी थिइन् । उनलाई एमालेले पार्टी नेतृत्वमा ल्याउने विषयमा समेत राजनीतिक बृत्तमा चर्चा चलिरहेको छ । यसैबीच पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने उक्त सम्मान कार्यक्रम बहिष्कार गरेका छन् ।