वामपन्थी भन्नेहरू अहिले पनि कांग्रेलाई भोट हाल्छन : केपी ओली

देशको आवाज
३ वैशाख २०८१ १७:३६

काठमाडौं,३ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई वामपन्थी भन्नेहरूले नै कांग्रेलाई भोट हाल्ने गरेकाे बताएका छन् । सोमबार नेकपा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले एमालेकै कतिपयले कांग्रेसलाई भोट हाल्ने बताएका हुन् ।

वामपन्थी एकता गरेर बलियो पार्टी नबन्ने जिकीर गर्दै ओलीले भने ‘वामपन्थी भन्ने, भोट चाहिँ कांग्रेसलाई हाल्नेहरूसँग एकता गरेर पार्टी बलियो हुँदैन, यस्ता शक्तिहरूसँग एकता गरेर पार्टी बलियो हुन्छ भन्ने भ्रम कसैले राख्नुहुँदैन ।’ पार्टी बलियो बनाउन संगठन विस्तार र सुदृढ गर्नुपर्ने उनकाे भनाई छ ।

ओलीले वामपन्थी शक्ति एक ठाउँमा आउन आवश्यक रहेको भए पनि अहिले नै वामपन्थी एकता हुन नसक्ने बताए । कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनु पर्ने भए पनि कांग्रेसमा भोट हाल्ने कम्युनिष्टलाई जोडेर कम्युनिष्ट पार्टी नबन्ने उनकाे भनाई छ ।अहिलेको अवस्थामा वामपन्थी शक्ति एक भएर मात्रै सरकार नबन्ने र त्यसबाट देश पनि नचल्ने ओलीले बताए ।

कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ भन्ने कुरामा आफू जानकार भए पनि अहिले त्यो अवस्था नरहेको ओलीकाे दाबी छ । ओलीले माधव नेपालमा दक्षिणपन्थी अवसरवाद मौलाउँदै गएको आराेप लगाउदै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनाउन माधव नेपालको पार्टी कांग्रेसँग मिल्न जानु यसैको परिणाम भएको स्पष्ट पारे । एकीकृत समाजवादीले कम्युनिष्टको साइन बोर्ड राखेर दक्षिणपन्थीलाई सहयोग गरिरहेको उनकाे टिप्पणी छ ।