एमाले ओखलढुंगाका निवर्तमान अध्यक्ष शंकर कटवालद्वारा पार्टी परित्याग गर्नुकाे कारण के ?

देशको आवाज
२९ चैत २०८० १८:१६

ओखलढुंगा,२९ चैत्र । नेकपा एमाले ओखलढुंगाका निवर्तमान अध्यक्ष शंकर कटवालले पार्टी परित्याग गरेका छन् । दशौं जिल्ला अधिवेशनमा पार्टीका केन्द्रीय नेताहरुको हस्तक्षेप र दबाब सहन नसकेपछि जीवनकाे ३४ वर्ष लगानी गरेकाे एमालेकाे सदस्यता त्यागेकाे कट्वालले सामाजिक सञ्जालमार्फत जनाएका हुन् ।

दुई वर्ष पहिले पार्टी अध्यक्ष निर्वाचित भएर कार्यकाल नसकिदै नेतृत्व हस्तान्तरण गर्ने तयारीमा जुटेका श‌ंकर कट्वालले पार्टी भित्र बन्दै गरेकाे गुट र त्यहाँकाे अराजनीतिक व्यवहारबाट आजित भएकाे देशकाे आवाजलाई बताए । उनले जिल्ला ईञ्चार्ज खगेन्द्र राईलाई राजिनामा पत्र लेख्दै पार्टी त्यागेको जनाए ।

कटवालले निर्वाचित पदाधिकारीलाई शुभकामना दिँदै २७ गतेको पत्र सार्वजनिक गरेका हुन् । सामाजिक सञ्जालमा लेखेका छन्, ‘दशौं जिल्ला अधिवेशनमा जे जस्तो रवैया, भाँडभैलो र आरोपप्रत्यारोपको होड चल्यो, नेतृत्वको जुन खालको कार्यशैली र पक्षधरता देखियो । मैले ३४ बर्षे राजनीतिक जीवनमा यस्तो विधी र पद्धति बिहिनता देखिएको थिएन ।’

कट्वालले लेखेको पत्र बिहीबार सामाजिक सञ्जालमा राखेर पनि यो पत्र उनले २७ गते बेलुका नै जिल्ला ईञ्चार्ज खगेन्द्र राईलाई बुझाएका थिए । एमाले जिल्ला अधिवेशन नयाँ नेतृत्वय चयनसँगै २८ गते सम्पन्न भएको थियाे । ३४ वर्ष एमालेको राजनीति गरेर दुई वर्ष पहिले जिल्ला अध्यक्ष भएका कट्वालले बन्द सत्र शुरु भएपछि पार्टी त्याग गरेको पत्र लेख्नु सामान्य घटना होइन ।

उद्घाटन समारोहपछि अध्यक्ष कट्वाल बन्दसत्र र निर्वाचन प्रक्रियामा समेत सहभागी भएनन् । दशौं जिल्ला अधिवेशनको निर्वाचन प्रकृया शुरु हुने समयमा आएर उनले पार्टी नै त्याग गर्नु एमालेका लागि ठूलो दुर्घटना भएको नेताहरुले बताएका छन् । यसले पुर्‍याउने दिर्घकालीन क्षति आंकलन गर्न नसकिने भन्दै एमाले नेता कार्यकर्ताहरु निराश भएका छन् ।