पार्टी भन्दा माथि उठेर राष्ट्र बचाउन लागाैं – शेखर काेइराला

देशको आवाज
२९ चैत २०८० १७:४३

काठमाडौं,२९ चैत्र । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देश दुर्घटनाको संघारमा पुगेकाले पार्टी भन्दा माथि उठेर आफुले राष्ट्र बचाउने अभियान शुरु गरेको बताएका छन् ।

“मैले देश बचाउनकै लागि संसदमा रहेका पहिलो र दोस्रो दल मिल्नुपर्छ भनेर भन्दै आएको हुँ”- कोइरालाले भने “राजनीतिक दलहरुले देश पहिले भन्ने कुरालाई प्राथमिकतामा नराखेसम्म राष्ट्र बन्दैन, छिटोभन्दा छिटो दुई ठुला दल एक ठाउँमा उभिएर देशलाई निकास दिउँ” ।

राजनीतिक दलहरुले राष्ट्रलाई प्राथमिकता नराखेकै कारण जनतामा निराशा छाएको कोइरालाले बताए । नेताहरुले पहिले आफु त्यसपछि पार्टी र अनि मात्रै देशलाई राख्ने गरेकाले राष्ट्र संकटमा परेको दुखेसो कोइरालाले पोखे ।

घोराहीमा आयोजित नेपाली कांग्रेस दाङको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेसलाई एक्लै चुनाव लडेर बहुमत ल्याउन सक्ने अवस्थामा नपुर्याएसम्म आफ्नो यात्रा नरोकिने समेत बताए ।