वाइडबडी विमान खरिदमा एक अर्ब ४७ करोडमाथि भ्रष्टाचार, पूर्वमन्त्री शाहीसहित ३२ विरुद्द मुद्धा दायर

देशको आवाज
२२ चैत २०८० १५:५४

काठमाडौं,२२ चैत्र । वाइडबडी विमान खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरूद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको अदालतका सहायक प्रवक्ता यज्ञाराज रेग्मीले जानकारी दिए।

उनकाअनुसार एक अर्ब ४७ करोड १० लाख ८५ हजार ४८२ रकम बिगो माग गरी मुद्दा दायर गरिएको छ । यस मुद्दामा तत्कालीन पर्यटनमन्त्री शाही, नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगत कंसाकार, तत्कालीन भन्सार विभाग महानिर्देशक शिशिर ढुंगाना, सहसचिव बुद्धिसागर लामिछाने र पर्यटन सचिव शंकर अधिकारीविरूद्ध मुद्दा दायर भएको छ।

अधिकारी नेपाल वायुसेवा निगमका तत्कालीन संचालक समिति अध्यक्ष समेत थिए। उक्त समितिका सदस्यहरू टेकनाथ आचार्य, निमा नुरू शेर्पा र मुक्तिराम पाण्डेविरूघ पनि मुद्दा दायर भएको हो। त्यस्तै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका तत्काली महानिर्देशक एवं‌ समिति सदस्य जीवनप्रकाश सिटौला र समिति सदस्‍य भई अच्युतराज पहाडी, निगमका तत्कालीन कामु निर्देशक रामहरि शर्मा सेढाँई, तत्कालीन कामु निर्देशक तथा हाल नायब महाप्रबन्धक जनकराज कालाखेती र उपनिर्देशक प्रभासकुमार कर्माचार्यविरूद्ध पनि दर्ता भएको छ।

त्यसैगरी निगमका तत्कालीन निर्देशक गणेशबहादुर चन्द, तत्कालीन कामु निर्देशक कर्णबहादुर थापा र तत्काली नि।निर्देशक तथा वरिष्ठ क्याप्टेन सुवास रिजालविरूद्ध पनि मुद्दा छ। ३२ जनाविरूद्ध मुद्दा दायर भएको अख्तियारले जनाएको छ।

२०७३ सालमा करिब २४ अर्ब रूपैयाँमा दुइटा वाइडबडी एयरबस जेट विमान खरिद प्रक्रिया अघि बढाइएको थियो। निगमले दुईवटा वाइडबडी विमान भित्र्याएलगत्तै खरिद प्रक्रिया अपारदर्शी भएको भन्दै विरोध हुन थालेको थियो। संसदको सार्वजनिक लेखा समितिले २०७५ सालमा गरेको छानबिनमा विमान खरिद गर्दा निगमलाई करिब ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ नोक्सान भएको निष्कर्ष निकालेको थियो।