भागबन्डा अझै अन्यौलमा

सत्ता गठबन्धनमा देखिएको अविश्वासले सरकारमा हलचलको संकेत

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको दाबी : सरकारले कांग्रेसलाई पछ्याइरहेको छ

जीवन शर्मा
१९ चैत २०८० ८:३९

काठमाडौं,१९ चैत्र । नेकपा माओवादी केन्द्र नेतृत्वको पाँच दलीय सत्ता समीकरणमा आबद्ध दलहरुबीच आपसी विश्वासको संकट कायमै रहेको छ । गठबन्धनमा सहभागी दलका नेताबीच हरेक राजनीतिक एजेन्डामा मतैक्यता नहुँदा गठबन्धनभित्रै आपसी विश्वासको संकट समाधान हुन नसकेको हो ।

प्रदेश सरकार भागबन्डाका लागि आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा कुनै निर्णय हुन सकेन । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूलाई एमाले र माओवादी केन्द्रले सत्ता प्राप्तिको भ¥याङ मात्र बनाउन खोजिएको भन्दै यथास्थितिमा सहयोग गर्न नसक्ने अडान लिएसँगै बैठक अनिर्णीत बनेको थियो । सात प्रदेश मध्ये एउटा प्रदेशमा आफुले नेतृत्व पाउनुपर्ने सबै राजनीतिक नियुक्तिमा सम्मानजनक भागबण्डा हुनुपर्ने उक्त दलको माग कायमै रहेको नेकपा एकीकृत समाजवादीका नेता मेटमणी चौधरीले बताए ।

‘पाँच दलको बैठकमा कुरा मिलेको छैन’, नेता चौधरीले भने –‘एकीकृत समाजवादी सत्ता प्राप्तिको भ¥याङ मात्रै बन्दैन । पहिलो कुरा, सात प्रदेशमध्ये एक प्रदेश एकीकृत समाजवादीले पाउनुपर्छ । अर्को सबै राजनीतिक नियुक्तीमा सम्मानजनक सहभागिता हुनुपर्छ ।’ बैठकमा बागमतीमा विश्वासको मत दिन प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी ओलीले नेपालाई आग्रह गरेका थिए । तर, बैठकमा कडा रूपमा प्रस्तुत भएका नेपालले बागमतीसहित सबै ठाउँमा एकीकृत समाजवादीको पोजिसन क्लियर हुनुपर्ने अडान राखेको छ । नेकपा एसको प्रस्ट धारण आइनसकेकाले प्रदेशको शक्ति बाँडफाँटमा कुरा मिल्न नसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बलुवाटारमा भएको शीर्षतहको बैठकमा नेताहरुबीच मतैक्यता नदेखिएपछि सोमबार विश्वासको मत लिने तयारी गरेका बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेल संकटको डिलमा पुग्नुभएको छ ।

सोमबारसम्म एकीकृत समाजवादीसँग सहमति नभएमा बागमतीसहित अन्य प्रदेश सरकार पनि प्रभावित हुने खतरा उत्पन्न भएको छ । एकीकृत समाजवादी प्रदेश संसदीय दलको बैठकले समेत यथास्थितिमा मुख्यमन्त्री जम्मकेट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको दलका नेता कृष्णप्रसाद शर्मा खनालले बताए । पाँच दलीय गठबन्धन राजनीतिक गठबन्धन नभएको भन्दै अहिलेकै अवस्थामा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने उनको भनाई छ । गत फागुन २१ म बनेको चार दलीय गठबन्धनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) थपिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्ता गठबन्धनमा पाँच दल सहभागी छन् । नेताहरुको यस्ता तिकडमले सत्ता समीकरण बदलीएको एक महिना नपुग्दै गठबन्धनभित्र विश्वासको वातावरण धमिलिएको नेताहरुले बताएका छन् ।

तर, नयाँ गठबन्धन निर्माणकै समयमा आफु राजनीतिमा रहुन्जेल उथलपुथल गर्ने र आफुलाई कसैले प्रयोग गर्न खोजे लात्तले हानेर बाहिरिने भनी दिएको धम्कीपूर्ण अभिव्यक्तिले गठबन्धनका दलहरुबीच प्रचण्डप्रति पूर्ण विश्वासको वातावरण बनिनसकेको प्रतिकृया दिएका थिए । कांग्रेस सहितको पुरानो सत्ता गठबन्धनलाई फुटाउने मुल एजेन्डा बोकेको तत्कालिन प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले समेत पहिलाका सबै कम्जोरीलाई सच्याउदै गठबन्धनलाई बलियो बनाउन लाग्नुपर्ने सदनमै बोलेका थिए । प्रधानमन्त्रीले संसदमा विश्वासको मत पाउँदा उब्जिएको अविश्वासको आकार बढ्दै गएको नेताहरुले जिकीर गरेका छन् ।

फागुन ३० मा संसदमा तेस्रो पटक विश्वासको लिँदा १५७ सांसदको समर्थन पाए पनि प्रधानमन्त्री प्रचण्डलाई सत्ता साझेदार दलकै नेताहरु र प्रतिपक्ष दल कांग्रेसको प्रस्तुतिले सरकार सम्बद्ध दलहरु झस्कीएका थिए । प्रधानमन्त्री प्रचण्डले समीकरण बदलेको एक महिना नपुग्दै दोस्रो पटक अर्को उथलपुथल गर्न बेर नलाग्ने अभिव्यक्ति दिनुलाई पनि राजनीतिक बृत्तमा अर्थपूर्णरुपमा हेरिएको छ । उता एमाले अध्यक्ष ओलीले बिहीबार गृह जिल्ला झापा पुगेर सत्ता सहकार्य निश्चित उद्देश्यका लागि बने पनि कसैसँग घाँटी नजोडिएको अभिव्यक्ति दिएका दिनुभएको विषयलाई समेत नेताहरुले गम्भीरताकासाथ लिएका छन् ।

नेकपा माओवादी केन्द्रका एक नेताले बताए । उनले भने–‘यता प्रधानमन्त्रीले विश्वासको मत पाएको आधा महिनाको बिचमा प्रदेश सरकार भागबण्डा र वैशाख १५ मा हुने इलाम–२ र बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा समेत एमालेले गठबन्धनभित्र सल्लाहा नै नगरी उम्मेदवार बनाएर सहयोग गर्न गरेको अनुरोध बाँकी दलहरुका लागी पेलेर गएको अनुभुति भएको छ ।’उपनिर्वाचनमा सत्ता साझेदार दलले मिलेर जानुपर्ने नेकपा एमालेका एमाले उपाध्यक्ष युवराज ज्ञवालीले बताए ।

‘उपनिर्वाचनमा तालमेल नहुनुले सत्ता गठबन्धनबीच अस्वस्थ देखिन्छ’, उनले भने–‘उपनिर्वाचनमा सत्ता साझेदार दलले मिलाएर जानुपर्थ्यो । त्यस्तो देखिएन । यो राम्रो सङ्केत होइन । यद्यपी यही विषयलाई लिएर सरकारलाई अस्थिरतातर्फ लैजानु मुलुक र जनताका लागि उचित हुदैन ।’ आगामी वैशाख १५ मा हुने इलाम–२ को उपनिर्वाचनमा सत्ता गठबन्धनका एमाले, माओवादी, रास्वपा, एकीकृत समाजवादी एक्लाएक्लै चुनावी मैदानमा जाने तयारीमा छन् । सत्ता गठबन्धन भित्रको असमझदारीकै बीचमा प्रमुख प्रतिपक्षी दलका नेता शेखर कोइराला र महामन्त्री गगन थापाले कांग्रेस सरकार चाडौ कांग्रेसको हातमा आउने बताउदै आएका छन् ।