उपनिर्वाचन

मैत्रीपूर्ण प्रतिष्पर्धाको तयारीमा सत्ता गठबन्धन दल

जीवन शर्मा
१५ चैत २०८० ६:४६

काठमाडौं,१५ चैत्र ।  आगामी वैशाख १५ मा हुने इलाम–२ प्रनिधिसभा र बझाङ –१ (क) प्रदेशसभा उपनिर्वाचनमा सत्ता साझेदार दलहरुबीच मैत्रीपूर्ण प्रतिष्पर्धा हुने भएको छ । उपनिर्वाचनमा सत्ता गठबन्धन दलहरुले आ–आफ्नना उम्मेदवार उठाउने निर्णय गरेसँगै आपसी प्रतिस्पर्धा गर्न बाध्य हुने भएका हुन् ।

सत्ता गठबन्धनको प्रमुख सहयात्री दल नेकपा एमालेले एमालेले इलाम २ मा सुहाङ नेम्वाङ र बझाङमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने सोमबार नै घोषणा गरिसकेको छ । दुबै क्षेत्रमा उम्मेदवार टुंग्याएर गठबन्धनमा रहेका माओवादीसहित साना दलहरुलाई सहयोग गर्न आग्रह गरेको छ । तर, सत्ता गठबन्धनमा रहेका माओवादी रास्वपा र नेकपा एकीकृत समाजवादी पार्टीले समेत आफ्नै उम्मेदवार निर्णय गरेका छन् ।

गत फागुन २१ बाट सत्ता सहयात्री फेरेको नेकपा माओवादी केन्द्रले उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ । बुधवार बिहान बसेको माओवादी केन्द्रीय सचिवालय बैठकले जिल्लाको समन्वयनमा पार्टी अध्यक्ष प्रचण्डलाई उम्मेदवार तय गर्न जिम्मेवारी दिएको छ । नेकपा माओवादी इलाम जिल्ला कमिटीले चार जनाको नामावली माथिल्लो कमिटीलाई सिफारिस गरिसकेको छ । अर्को सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले पनि दुवै स्थानमा उम्मेदवारी उठाउने निश्चित भएको छ । नेकपा एसका सम्मनीत नेता झलनाथ खनालले इलामा–२ मा जीतबहादुर राई र बझाङ प्रदेश सभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको जानकारी दिए ।

त्यस्तै प्रदेशसभातर्फ उम्मेदवारी नदिने निर्णय गरेको सत्ता गठबन्धनभित्रकै दल रास्वपाले इलाम–२ मा उम्मेदवारको खोजी गरिरहेको छ । उसले स्वतन्त्र उम्मेदवारी दिएका मिलन लिम्बुलाई समर्थन गर्ने वा आफ्नै उम्मेदवार उठाउने भन्ने अन्तिम निर्णय गरिसकेको छैन । गठबन्धनमा हाल नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जनता समाजवादी र नेकपा एकीकृत समाजवादी छन् । यी पाँच दलमध्ये जसपाले कसलाई सहयोग गर्ने वा आफ्नै उम्मेदवार खडा गर्ने भन्ने निर्णय गरिसकेको छैन् ।

उपनिर्वाचनका लागि निर्वाचन आयोगले आगामी चैत २४ गते उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका सार्वजनीक गरेको छ । त्यसअघि दलहरूबिच एक अर्कामा बार्गेनिङ पावर बढाउन उम्मेदवारी दिने रणनीति पनि भएको हुनसक्ने कतिपयको बुझाई छ । तर सत्ता गठबन्धन फेरबदल भएपछि प्रमुख प्रतिपक्षी बेन्चमा पुगेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार राती नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता गरेका थिए । उक्त भेटलाई लिएर राजनीतिक बृत्तमा तरंग उत्पन्न भएको छ ।

देउवाले उपनिर्वाचन र संक्रमणकालिन न्याय सम्बन्धी विषयमा छलफल गरेको उनको सचिवालयले जनाएको छ । माओवादी, नेकपा एसलगायत सत्ता गठबन्धनमा दलहरुसँग सल्लाहा नै नगरी एमालेले आफ्ना उम्मेदवार घोषणा गरेर अरु दलहरुसँग सहयोग मागेपछि माओवादी सहितका साना दलले हेपिएको महसुस गरेको नेताहरुले टिप्पणी गरेका छन् ।