भन्सार राजश्वमा भारी गिरावट

देशको आवाज
७ चैत २०८० १६:४७

काठमाडौं,७ चैत्र । चालु आर्थिक वर्षमा भन्सार राजश्वमा भारी गिरावट आएको छ । चालू आर्थिक वर्ष (२०८०/०८१) को फागुन मसान्तसम्म (८ महिना) ११ खर्ब ३० अर्ब ८४ करोड रुपैयाँको कूल वैदेशिक व्यापार भएको केन्द्रीय भन्सार कार्यालयले जनाएको छ। गतवर्षको सोही अवधिमा ११ खर्ब ६३ अर्ब १८ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो। जसअनुसार गत वर्षको तुलनामा २.७८ प्रतिशतले वैदेशिक व्यापारमा गिरावट आएको छ।

चालू वर्षको फागुन मसान्तसम्ममा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने एक खर्ब ६१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। जसअनुसार देशको व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड बराबर रहेको कार्यालयले जनाएको छ। गतवर्षको यसै अवधिमा १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो भने एक खर्ब ४ अर्ब ७९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो। गत वर्ष देशको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ रहेको थियो।

गत वर्षको तुलनामा आयात २.६६ प्रतिशतले गिरावट आएको छ भने निर्यातमा ३।९९ प्रतिशतले गिरावट आएको छ। यस्तै आयात गर्दा संकलन हुने राजस्व संकलनमा पनि गिरावट आएको छ। चालू वर्षको फागुन मसान्तसम्ममा २ खर्ब ७० अर्ब ७८ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ। गतवर्षको सोहि अवधिमा ३ खर्ब ३३ अर्ब रुपैयाँ बराबर राजस्व संकलन भएको केन्द्रीय भन्सार कार्यालयले जनाएको छ।

पेट्रोल आयातमा कमी

सबैभन्दा बढी आयात हुने पेट्रोलियम पदार्थ यस पटक घटेको छ । पेट्रोलियम पदार्थ २ खर्ब १४ अर्ब २८ करोड रुपैयाँ बराबरको आयात भएको छ। गत वर्षको सोही अवधिमा २ खर्ब १७ अर्ब ३० करोड रुपैयाँ बराबरको पेट्रोल आयात भएको थियो। जसअनुसार गतवर्षको तुलनामा यसवर्ष २ अर्ब २ करोड बराबरले आयातमा गिरावट आएको छ। यस्तै १ खर्ब रुपैयाँको फलाम तथा फलामजन्य वस्तु आयात भएको छ। ६६ अर्ब रुपैयाँको बोइलर मेसिन तथा पार्टस्, ६७ अर्ब ६९ करोड रुपैयाँको इलेक्ट्रिकल मेसिन,४८ अर्ब १० करोड रुपैयाँको सवारी साधनका पार्टपुर्जा, ३८ अर्ब ७० करोड रुपैयाँको प्लाष्टिक जन्य वस्तु, २७ अर्ब ४१ करोड बराबरको फार्मासिटिकल सामग्री आयात भएको छ।

३४ अर्ब १७ करोड रुपैयाँ बराबरको पाम तेल तथा प्रशोधित तेल आयात भएको छ। ३२ अर्ब २९ करोड रुपैयाँ बराबरको मोती आयात भएको छ। ३५ अर्ब ९५ करोड रुपैयाँ बराबरको फलफूल र तरकारी आयात भएको छ। जसमध्ये २१ अर्ब २० करोड रुपैयाँ बराबरको फलफूल आयात भएको छ भने १४ अर्ब ७४ करोड रुपैयाँ बराबरको फलफूल आयात भएको छ।

फलाम तथा फलामजन्य वस्तु १० गुणा बढी निर्यात

११ अर्ब ६३ करोड रुपैयाँ बराबरको फलाम तथा फलामजन्य वस्तु निर्यात भएको छ। गत वर्ष १ अर्ब ४६ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको थियो। त्यसैले गत वर्षको तुलनामा १० गुणले फलामजन्य वस्तुको निर्यात बढेको छ। यस्तै ५ अर्ब ६३ करोड रुपैयाँको पाम तथा प्रशोधित तेल निर्यात भएको छ। ९ अर्ब रुपैयाँ बराबरको तयारी गरिएको तथा नगरीएको कपडा निर्यात भएको छ भने ५ अर्ब ३४ करोड रुपैयाँ बराबरको फलफूल तथा तरकारकीका विरुवा निर्यात भएको छ। गतवर्षको तुलनामा चियाकफी निर्यात बढेको छ। चालू वर्षको ९ अर्ब ३ करोड रुपैयाँ बराबरको चिया कफी निर्यात भएको छ। गत वर्षमा ६ अर्ब ६ करोड रुपैयाँ बराबरको चिया कफी निर्यात भएको थियो। ७ अर्ब ५५ करोड रुपैयाँको कार्पेट, ७ अर्ब ३८ करोड रुपैयाँको स्टेबल फाइबर निर्यात भएको छ।