सरकार पक्षको चोख्याउने दाउ

गृहमन्त्री लामिछानेमाथि छानविन गर्न संसदीय छानविन समिति बनाउनुपर्ने कांग्रेसको माग

देशको आवाज
६ चैत २०८० २२:३०

काठमाडौं,६ चैत्र । सहकारी ठगी प्रकरणमा अनुसन्धानको घेरामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय छानबिन समिति बनाउनु पर्ने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले माग गरेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा कांग्रेसले सरकारको ध्यानाकर्षण गराउँदै गृहमन्त्री लामिछाने माथि लागेको सहकारी ठगीको विषय छानबिन गर्न संसदीय समिति नै बनाउनु पर्ने माग राखेको हो ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन नभए आगमी संसद्को बैठक चल्न नदिने चेतावनी दिनुभएको छ । गृहमन्त्री रवि लामिछानेको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको जवाफ कांग्रेसलाई चित्त नबुझेको भन्दै खतिवडाले भन्नुभयो–‘कांग्रेसले संसदमै संसदीय छानबिन समितिको माग गरेको छ । समिति गठन नभए हामी आगामी बैठक चलाउने विषयमा सहमत हुन सक्दैनौं । त्यो काम सरकारको हातमा छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तासहयात्री दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले बचाउ गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका निर्देश भएको पुष्टि गर्न खोज्नु भएको छ । उहाँले भन्नुभएको छ– ‘हालसम्मको अनुसन्धानले उहाँ सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारीलगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि कहीँ कतै जोडिएको देखिएको छैन ।’

प्रधानमन्त्री प्रचण्डले सहकारीमा रवि लामिछानेको नाममा प्रवाह भएको भनिएको ऋण फर्छ्योट भएको देखिन आएकाले उनको हकमा अनुसन्धान गर्नुपर्ने नदेखिएको जानकारी गराउनुभयो । उक्त विषयमा संसदीय छानविन समिति आवश्यक नभएको पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले बताउनुभएको छ ।