सुन तस्करी प्रकरण:

अदालतबाट अस्पताल भर्ना भए पूर्व सभामुख महरा

देशको आवाज
५ चैत २०८० २१:२४

काठमाडौं,५ चैत्र । सुन तस्करी कान्डमा थप अनुसन्धानका लागि पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई जिल्ला अदालत काठमाडौंले अस्पतालमा बस्न दिन आदेश दिएको छ । महाराले विभिन्न ८ प्रकारका औषधि खाँदै आएको र स्वास्थ्य अवस्था ठीक नभएकाले अस्पतालमा बस्नुपर्ने आवश्यकता रहेको अदालतमा बताएपछि उहाँलाई अस्पताल बस्न दिन आदेश दिएको हो ।

अदालतको आदेशअनुसार महरालाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । यो सँगै केन्द्रीय अनुसन्धान ब्युरोका हिरासतमा बस्न नपर्ने भएको छ । पक्राउ परेलगत्तै यती एयरलाइन्सको जहाजमार्फत काठमाडौँ ल्याएर अदालतमा उपस्थित गराइएका महरामाथि अनुसन्धान गर्न सीआईबीलाई ४ दिनको म्याद दिएको छ ।

तर न्यायाधीश दुर्गा प्रसाद खनालको इजलासमा महराले आफूमा मस्तिष्कसम्बन्धी, घाँटीको क्यान्सर, प्रोस्टेटसम्बन्धी समस्या रहेको भन्दै सोहीअनुसार आठ प्रकारको औषधि खाने गरेको बताएका थिए ।