राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिवको नियुक्ति प्रकरणसहित विभिन्न माग गर्दै अध्यक्षको ध्यानाकर्षण

देशको आवाज
५ चैत २०८० ८:३४

काठमाडौं,५ चैत्र । राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिवको नियुक्तिका सन्दर्भमा परेको उजुरी सहित विभिन्न माग गर्दै कर्मचारी युनियनले अध्यक्षको ध्यानाकर्षण गराएको छ । कोषका सदस्य सचिवको नियुक्ति र योग्यताका विषयमा विभिन्न सामाजिक सञ्जालमा आएका विवादास्पद विषयमा सरोकारका निकायले उठाएका कारण संस्थाको गरिमामा गम्भीर क्षति पुगेको निष्कर्षसहित युनियनले कोषका अध्यक्षको ध्यानाकर्षण् गराएको हो ।

‘राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिवको नियुक्ति र योग्यताका विषयमा विभिन्न सामाजिक सञ्जालमा आएका विवादास्पद विषयमा सरोकारका निकायले उठाएका कारण संस्थाको गरिमामा गम्भीर क्षति पुगेकोले यस विषयमा आवश्यक निर्णय गरियोस्,’ मागपत्रमा उल्लेख छ । त्यस्तै विभिन्न कर्मचारीहरुले लामोसमयदेखि करार, ज्यालादारीका रुपमा मात्रै काम गर्दै आइरहेको अवस्थाको समेत ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गरेको छ

११ वर्षदेखि स्थायी विज्ञापन नखोलिनु कर्मचारीप्रति नेतृत्व ज्यादै अनुदार रहेको कर्मचारी युनियनको निश्कर्ष छ । साथै लामोसमयदेखि कार्यरत कर्मचारीहरुलाई पनि श्रम ऐन अनुरुप, सञ्चयकोष, अवकाश कोष तथा वृत्ति विकासको व्यवस्था समेत नभएकोमा त्यसको सम्बोधनका लागि समेत कर्मचारी युनियनले कोषका अध्यको ध्यानाकर्षण गराएको बताइएको छ । कोभिड–१९ को समयमा कर्मचारीबाट कट्टा गरिएको आधा तलब सोधभर्ना गर्नुको सट्टा करोडौंका सवारी साधन खरिद गर्नु कर्मचारीहरुको हकहितविरुद्ध रहेको समेत उक्त मागपत्रमा उल्लेख छ।