प्रधानमन्त्रीलाई सहकारी पीडीतको ध्यानाकर्षण

गृहमन्त्री लामिछानेमाथि छानबिन र जिबी राईलाई पक्राउ गर्न माग

देशको आवाज
५ चैत २०८० ८:०४

पोखरा,५ चैत्र । उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेमाथि आवश्यक छानबिन गर्न पोखराका सहकारी पीडितले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् । सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न र जीबी राईलाई पक्राउ गर्न माग गर्दै आइतबार प्रधानमन्त्री दाहाललाई सहकारी पीडीत बचतकर्ताले ज्ञापनपत्र बुझाएका हुन् ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताले रास्वपाका सभापति समेत रहेका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न प्रधानमन्त्री दाहालसँग माग गरेको बताएका छन् । सूर्यदर्शनबाट ३० करोड, चितवन सहाराबाट ११ करोड ७१ लाख र बुटवलको सुप्रिमबाट १० करोड ७४ लाख गोर्खा मिडिया नेटवर्कमा बिनाधितो, बिनाप्रक्रिया र गैरकानुनी रूपमा सारिएको विषयमा गम्भीर अनुसन्धान नभएको भन्दै पीडितको गुनासो छ ।

‘प्रधानमन्त्रीलाई बाटोमै ज्ञापनपत्र बुझायौं, उहाँले कुन सहकारी हो भनेर सोध्नुभयो । हामीले अपचलनमा गृहमन्त्री संलग्न रहेको सूर्यदर्शन सहकारी भन्यौं,’ सहकारीपीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले भने, ‘गितेन्द्रबाबु (जीबी) राईलाई पक्राउ गर्न र गृहमन्त्री लामिछानेलाई पनि छानबिन गर्न अनुरोध गरेका छौं ।’ ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले सहकारीको समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएकाले छिट्टै नीतिगत निर्णय लिने बताए ।

१८ हजार ७ सय बचतकर्ता रहेको सूर्यदर्शन सहकारीबाट १ अर्ब ३५ करोड रुपैयाँ ठगी भएको महानगरको अध्ययनले देखाएको छ । थप २० २२ करोड ठगिएको भन्दै सयौं जना पुनः जाहेरी दिने तयारीमा रहेको बताउँदै श्रेष्ठले भने, ‘अहिले बचतकर्ताहरूको घरमा रुवाबासी छ, बिरामी हुँदा औषधोपचार गर्ने उपाय छैन ।’ सूर्यदर्शनमा कृत्रिम पुलेसो खाता खोली लामिछानेले एक करोडको कारोबार गरेको पोखरा महानगरको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

छानबिनमा सहयोग गर्न लामिछानेलाई पटक–पटक अनुरोध गर्दा सुनुवाइ नभएको श्रेष्ठले बताए । ‘सूर्यदर्शनको समस्या बाहिर आएको १ वर्ष ८ महिना हुँदासम्म जीबी राई फरार छन्,’ श्रेष्ठले भने, ‘सत्ता बाहिर रहँदा पनि लामिछानेमाथि सरकारले अनुसन्धान गरेन । अहिले पनि अनुसन्धान भएको छैन, हाम्रो आपत्ति छ ।’

पीडितहरूले जीबी राई पक्राउ तथा लामिछानेमाथि छानबिन भए ८० प्रतिशत समस्या हल हुने बताएका छन् । तर, लामिछाने गृहमन्त्री बन्नुअघि र अहिले पनि सहकारीपीडितको समस्यालाई सरकारले सामान्य रूपमा लिएको उनीहरूको गुनासो छ । ‘हामीजस्ता सहकारीपीडित धेरै छन्, अहिले हाम्रो समस्यालाई सामान्य मानिएको छ । यसको असर आगामी समयमा देखिनेछ’, श्रेष्ठले भने । गत असोज १८ मा सूर्यदर्शन सहकारीका अध्यक्ष जीबी राईसहित सञ्चालक समिति, लेखा र ऋण समितिका १९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

कास्की प्रहरी प्रमुख एसपी मोहन थापाका अनुसार ५ जनालाई पक्राउ गरी थुनामा राखिएको छ भने १४ जना फरार छन् । ‘फरार रहेका १४ जनाको पनि खोजी भइरहेको छ,’ एसपी थापाले भने, ‘पीडितले रकम फिर्ता कहिले पाइन्छ भन्नुहुन्छ । विचाराधीन मुद्दामा बढी बोल्ने ठाउँ छैन ।’ जीबी समूहको सहकारीको सचिव र कोषाध्यक्ष बनेर बचत हिनामिना गरेको आरोपमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा तथा माओवादीनिकट अखिल क्रान्तिकारीका महासचिव दीपेश पुन पक्राउ परेका छन् ।

सहकारीका १० हजार ३ सय ९१ बचतकर्ताको ७८ करोड ५० लाख रुपैयाँ नेचर नेष्ट र गोर्खा मिडिया नेटवर्कलगायतका विभिन्न निजी कम्पनीमा बिनाधितो, बिनाप्रक्रिया र गैरकानुनी रूपमा सारिएको थियो । यही सहकारीको एक करोड रुपैयाँ आफ्नो तर्फबाट गोर्खा मिडियामा सारेको बैंक स्टेटमेन्ट कम्पनी रजिस्ट्रार कार्यालयमा पेस गरेर लामिछाने गोर्खा मिडिया नेटवर्कको १५ प्रतिशत सेयरसहित प्रबन्ध निर्देशक बनेका थिए ।