अनुसन्धानको घेरामा रहेका गृहमन्त्री लामिछानेको बचाउमा एमाले

सहकारी ठगी प्रकरण

देशको आवाज
४ चैत २०८० २२:०२

काठमाडौं, ४ चैत्र । नयाँ सत्ता समीकरणको प्रमुख सहयात्री दल नेपाल कम्युनिष्ट पार्टी(एमाले)सहकारी ठगी प्रकरणमा अनुसन्धानकाक्रममा रहेका रास्वपाका सभापति समेत रहेका गृहमन्त्री रवी लामिछानेको बचाउमा उत्रिएको छ । सत्ता बाहिर हुँदा कुनै प्रकरणमा आरोप लागेका सरकारका मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने भन्दै संसद अवरुद्ध गर्दै आएको एमालले सत्ता गठबन्धन परिवर्तनसँगै बोली फेरेको हो ।

नेपाल टेलिकमको टेरामक्स खरिदका सन्दर्भमा विवादमा आएका अघिल्लो सरकारका स्वास्थ्य मन्त्री मोहन बस्नेत र बालकुमारी घटनामा विवादमा परेका भौतिक मन्त्री प्रकाश ज्वालाको राजनीनामा माग गर्दै सदन अवरुद्ध गर्ने एमाले नेताहरु सरकारमा पुगेसँगै सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई गृहमन्त्री बनाउन अग्रसर भएको थियो । एकै प्रकृतिका आरोपित व्यक्तिहरुमा पनि कोही ठिक कोही बेठिक भन्ने ढंगले एमाले सदनमा प्रस्तुत हुन थालेको नेपाली कांग्रेसका नेताहरुले टिप्प्णी गरेका छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भन्नुभयो–‘अघिल्लो सरकारको पालामा कुनै घटनामा संलग्न देखिएको आरोपमा अनुसन्धानका क्रममा रहेका व्यत्तिहरु मन्त्रीको जिम्मेवारीबाट नहटेसम्म सदन अवरोध गर्ने उद्घोषसहित प्रस्तु भएको एमाले अहिले सरकारमा पुगेपछि सहकारी ठगीको आरोपमा राजश्व अनुसन्धाले अनुसन्धान गरिरहेका व्यक्तिलाई गृहमन्त्री बनाएर गठी प्रकरणलाई छिपाउने प्रयत्नमा लागेको छ । त्यसलाई प्रधानमन्त्रीजीले स्वीकार्नुभएको छ ।’

प्रधानमन्त्री प्रचण्डकै क्याविनेटमा रहेका निवर्तमान मन्त्रीको भन्दा गम्भीर प्रकृतिको काण्डमा मुछिएका व्यक्तिलाई स्वार्थ बाझिनेगरी गृहको जिम्मेवारी दिएर सहकारी गठी प्रकरण गुमनाम पार्न खोजिएको प्रमखु प्रतिपक्षीदल कांग्रेसको आरोप छ । एउटै प्रकृतिका प्रकरण आफू सरकारमा सहभागि नहुदा बेठिक र सरकारमा जानेवित्तिकै ठिक ठिक थियो भन्ने कोणबाट प्रस्तुत हुन संसदीय मर्यादा, लोकतन्त्र र जनभावना विरुद्ध भएको नेता लेखकले दाबी गर्नुभयो ।

कांग्रेसले उठाउँदै आएको उक्त विषयमा नेकपा एमालेले भने गठबन्धन परिवर्तन पछि सत्ता बाहिर पुगेको कांग्रेसको छटपटाहट भएको बताएको छ । एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमाथि प्रहार गरेर वर्तमान सरकार ढाल्ने काममा लागेको आरोप लगाउनुभयो ।

आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले भन्नुभयो–‘कांग्रेसले गृहमन्त्रीलाई आक्रमण गरेपछि सरकार ढाल्न सकिन्छ भनेर अंक गणितका आधारमा प्रस्तुति देखाइरहेको छ ।’ कांग्रेसले २८ दिनभित्र सरकार ढाल्छौं भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै अनुसन्धानले दोषी ठहराएको खण्डमा दोषी कोहीलाई पनि उम्किन दिनु नहुने बताउनुभयो । आरोप लाग्दैमा कोही दोसी नहुने उहाँको तर्क छ ।