नयाँ सत्ता समीकरणले ओली–माधव मिलापको ढोका खुला

नेकपा एसको स्वास गन्हाउँदै आएको एमालेलाई अहिले बास्ना आउन थालेको माधव  नेपालको टिप्पणी

जीवन शर्मा
३ चैत २०८० २२:१२

काठमाडौं,३ चैत्र । नयाँ सत्ता समीकरणले नेपाल कयुनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शार्म ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालबीच मेलमिलापको ढोका खुलेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्ष अघि तोडेको एमालेसँगको सहकार्यलाई जोसँगै ओली–नेपालबीचको सम्बन्ध सुधारका लागि ढोका खुलेको हो ।

एमाले सहितको नयाँ गठबन्धन सरकारमा सहकार्य शुरु गर्नुभएका नेकपा एसका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीको स्वास गन्हाउँदै आएको एमालेलाई पाछिल्लो समय पार्टीको स्वासमा बास्ना आउन थालेको टिप्पणी गर्नुभएको छ । पार्टी काभ्रेको जिल्ला अधिवेशन उद्घाटन गर्दै नेपालले हिजोको राजनीतिक कटुतालाई भूलेर अघि बढ्ने वातावरण बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘अहिले फेरि हिजो एमाले एकीकृत समाजवादी भएको ठाउँमा बस्नै नसक्ने, स्वास नै गन्हाउने स्थिति थियो । अहिले बास्ना आउन थालेको छ । त्यस्तो हुन्छ । कटुता भएको बेलामा मन पर्दैन । अविश्वास बढेको बेलामा शंका हुन्छ । तर, तपाईंहरुले सुन्नुभएकै छ राजनीतिमा कहिलेपनि स्थायी शत्रु हुँदैन । मित्र पनि हुँदैन । यो कुरालाई ध्यान गर्नुपर्छ ।’

यद्यपि अहिले एकीकृत समाजवादी एमालेमा मिल्ने भनेर भएको हल्ला सत्यता नभएको जिकिर गर्दै अध्यक्ष नेपालले भन्नुभयो –‘हाम्रो पार्टी कुनै पार्टीसँग मिल्न गइरहेको छैन । हाम्रो पार्टीको आफ्नै विचार र धारणा छन् । नेपालको राजनीतिमा हाम्रो छुट्टै पहिचान, अस्तित्व र भूमिका छन् । वामपन्थीहरुले एउटै गठबन्धनमा बसेर होस् वा अलगअलग मोर्चामा बसेको अवस्था होस् साझा उद्देश्यलाई बिर्सन हुँदैन ।’ प्रचण्डसँग ४० र ओलीसँग ५० वर्षको सम्बन्ध रहेको बताउँदै पुराना कुरा बिर्सेर नयाँ गठबन्धनमा सहभागि भएको उहाँको भनाई छ ।

एक अर्काप्रति कटु आलोचनामा उत्रिदै आएका ओली–नेपाल फागुन २१ पछिको नयाँ सरकार सँगै छन् । तर, माओवादी अध्यक्ष प्रचण्डले १० पुस २०७९ मा एमाले, रास्वपा, राप्रपा, जसपा, जनमतसहितको गठबन्धन गर्दा माधव नेपालको नेकपा एस सहभागी थिएन् । प्रधानमन्त्री दाहालले २ महिनामै गठबन्धन परिवर्तन गरेर नेपाली कांग्रेस, नेकपा एस, जसपासहितको आठ दलीय समीकरणमा १४ महिना सरकार चलाउनुभयो । एमालेको मुख्य बलमा गत फागुन २१ कांग्रेसँगको गठबन्धन तोडेर पाँच दलीय मोर्चाबन्दीमा सरकार पुनर्गठनप्रकृयामा माधव नेपाल समेत सामेल भएपछि ओली–नेपालबीचको पुरानो तिक्ततालाई विस्तारै मत्थर गर्दै जाने र पार्टी एकता सम्म पुर्याउन सकिने दुबै दलका नेताहरुले बताएका छन् ।

कुनैबेला माधाव नेपालको नाम लिएपछि मुख कुल्ला गर्छु भन्ने ओली यो गठबन्धनमा बहुमत पुर्याउन सहयोगको आग्रहगर्दै मास्क लगाएर माधव नेपालको घरमा पुग्नुभएको थियो । तर, पछिल्लो समय एमालेका नेताहरुले पनि विगतको समिक्षा गर्दै वामपन्थी शक्तिहरु एकाकार हुनु जरुरी रहेको बताएका छन् । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिमा सधै असहिष्णुता कायम राखेर जाँदा मुलुक र जनताका पक्षमा काम गर्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो–‘राजनीतिमा दलहरुबीच मात्र होइन कतिपय सन्दर्भमा एउटै दलका नेताहरुबीच समेत खटपट हुन्छ । त्यसबेला एक अर्काप्रति आरोप प्रत्यारोप पनि हुन्छन । तर, सधैभरी त्यस्तो अवस्था रहँदेन् । मुलुक र जनताको हितका लागि दलहरुबीच कार्यगत एकता आवश्यक हुनेहुँदा अहिले एमाले र नेकपा एसबीच सोही कुरालाई दृष्टिगत गर्दै अघि बढेका छौं । वामपन्थी कम्युनिष्टहरुबीचको एकताका पक्षिमा एमाले सधै खुल्ला छ ।’

२०७४ को निर्वाचनमा कार्यगत एकता गर्दै ०७५ मा पार्टी एकीकरण गरेर नेपाल कम्युनिष्ट पार्टी बनाएका एमाले–माओवादी नेताले २ वर्षमै फुटको बाटो रोजेका थिए । संसदमा दुइ तिहाइ प्राप्त गरेको शक्तिशालि कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटनगरेसँगै त्रिशंकु बनेका बोलचालनै बन्द गरेका नेताहरुबीच फेरि कार्यगत एकताका प्रारम्भ भएको छ । यसले फेरि पनि कम्युनिष्ट एकतालाई बलपुर्याएको वाम विश्लेषकहरु बताउँछन् । पार्टी फुटको वेला नेकपा माओवादी पुरानै अवस्थामा फर्किएको थियो भने माधव नेपाल समुहले नयाँ पार्टीको परिकल्पना गरेर २०७८ भदौ १० मा नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० दर्ता गरी अघि बढेको थियो । त्यस यताको सबै समय एकअर्कालाई गालि गर्नमै समय खर्चेका दुई नेताबीच एक्कासी भएको सत्तासहकार्यलाई पार्टी एकतासम्म लैजान दुबै दलका नेता कार्यकर्तातले सुझव दिएका छन् ।