दिपेश पुन पक्राउ, सीआईबी प्रमुख बज्राचार्यको सरुवा, माओवादी नेता महरालाई के गर्छ सरकार ?

सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनले ल्यायो तरंग

जीवन शर्मा
२ चैत २०८० २१:३७

काठमाडौं, २ चैत्र । सुन तस्करी प्रकरणमा सुनको अबैध तस्करी तथा बैठारी जाँचबुझ आयोगले पाँच महिना लगाएर ल्याएको प्रतिवेदनले राज्यका ठूला निकाय र तीनका जिम्मेवार व्यक्तिमाथि तरंग ल्याएको छ । आयोगको सुझावका आधारमा सरकारले काम गर्दा राजनीतिक नेतृत्व देखि प्रहरी नेतृत्व समेतलाई खोरमा जाक्ने अवस्था आएको हो । सोही प्रतिवेदनका आधारमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुन तस्करी प्रकरणमा दीपेशको नाम पनि जोडिएको थियो । उनी सहकारी ठगीमा समेत मुछिएका छन् । प्रहरी प्रधान कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । ब्रेक शुमार्फत भएको ६० केजी सुन तस्करीमा पक्राउ परेका भियना होटलका मालिक दावा छिरिङसँग दीपेशको सम्पर्क देखिएको थियो । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका दुवै छोरा मुछिएका छन् ।

त्यस्तै माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पनि सुन काण्डमा प्रत्यक्ष जोडिएको पाइएको छ । उनलाई सरकारले पटक पटक बचाउने प्रयास गरिनै रहेको थियो । गृहमन्त्री नारायणकाजी श्रेष्ठले उनको मुद्दा कमजोर बनाउ अनुसन्धानमा खटिएका प्रहरीमाथि नै दबाब दिएको विषय समेत सावर्जजनीक भएको थियो । सोही प्रकरणमा अनुसन्धान फितलो बनाएको र अनुसन्धानमा गम्भीर त्रुटि देखिएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख एआइजि किरण बज्राचार्यलाई कारबाही गर्न सिफरिस गरेको थियो । शुक्रबार नै बज्राचार्यलाई सरकारले कारवाहीको सट्टा सरुवा गरेर चोख्याउने तयारीमा छ । बज्राचार्यको ठाउँमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई जिम्मेवारी दिएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सीआईबीमा ज्ञवालीलाई पठाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । यसअघि सीआईबीकी निर्देशक रहेकी एआईजी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्यविभागको जिम्मेवारी दिइएको उनले बताइन् ।जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको र तत्काल कार्यान्वयन गरेर जानको निम्ति नयाँ लिडरसिपलाई सहज हुन्छ भनेर सरुवा गरिएको हो’, मन्त्री शर्माले भनिन् ।

सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले बज्राचार्यको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याएपछि उनलाई जिम्मेवारीबाट हटाउने तयारी भएको थियो । आयोगले सुन तस्करीको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याउँदै सीआईबी प्रमुख बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रूगम कुँवर र दुर्गा दाहाललाई कारबाही गर्न सिफारिस गरेको छ ।

सरकारले सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग २०८० को प्रतिवेदनको गम्भीर अध्ययन गरी कार्यान्वयनमा लैजाने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । यस काण्डमा धेरैजसो माओवादी र एमालेकै नेता तथा उनिहरु निकटका व्यापार्री र प्रहशरी उच्च अधिकारीहरुकै संलग्नता रहेकाले कार्यन्वायमा गर्ने कुरामा विश्वास गर्न सकेका छैनन् ।