बेइजिङको डिजाइनमा बनेको पाँच नेताको गठबन्धन टिकाउनै मुस्कील (यस्ता छन कारण)

जीवन शर्मा
२८ फागुन २०८० २२:४२

काठमाडौं,२८ फागुन । नेपाली कांग्रेससँगको गठबन्धन तोडेर गत फागुन २१ मा अप्रत्यासित र आकस्मिकरुपमा बनेको नयाँ सत्ता समीकण टिकाउन दलहरुलाई मुस्कील गर्ने देखिएको छ । बेइजिङको डिजाइन अनुसार नेकपा एमाले अध्यक्ष केपी ओलीसहित पाँच नेताबीच सहमति गरेर बनाइएको गठबन्धन लामो समय टिक्नेमा आशंकाहरु उत्पन्न भएको हो ।

नेपालका चार कम्युनिष्ट नेताहरु केपी ओली, प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादव र शैद्दान्त्कि बैचारिक धारविनाका नेता रवी लामिछानेसहितको गठबन्धनमा लफडाहरु भइरहेको छ । पछिल्लो समय नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले अघि सारेका मागहरुमा लिखित सहमति नगरे प्रधानमन्त्रीलाई विश्वासको दिन नसकिने बताएको छ । सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले बताउनुभयो ।

प्रधानमन्त्रीले लिखित सहमति नजनाए राष्ट्रियसभा अध्यक्षमा समेत मत दिन बाध्य नहुँने उहाँको भनाई छ । ‘आफ्नो पार्टीले प्रधानमन्त्रीलाई भनेका केही मागहरुको सुनुवाइ नभए भोट हालिरहनुपर्ने जरुरी छैन’, चौधरीले भन्नुभयो ‘मंगलबार हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचन र बुधबार प्रधानमन्त्रीज्युले लिने विश्वासको मत दिने बारेमा केही निर्णय गरेका छैनौँ । आफुहरुले भनेको केही कुरामा उहाँले लिखित सहमति गर्नुभयो भने राष्ट्रिय सभामा भोट दिनसक्छौँ । र प्रतिनिधि सभामा उहाँले लिने विश्वासको मतमा पोजिटिभ हुनसक्छौँ । तर उहाँले हाम्रा कुरा सुनुवाइ नगर्ने र हामीले भोट हाल्दिरहनुपर्ने जरुरी ठानेका छैनौँ, ठान्दैनौँ ।’

सो दलका सांसदहरूले सचिवालय बैठकको निर्णयविनै आफूखुसी मन्त्री बनाएको भन्दै अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसालको चर्को आलोचना समेत गरेका छन् । सत्ताको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रभित्र समेत सरकारमा पठाएका मन्त्रीका विषयमा सांसदहरुले तीव्र असन्तुष्टि जनाएका छन् । शनिबार बसेको पार्टीको संसदीय दल बैठकमा मन्त्री नियुक्तिको विधि प्रक्रियाबारे गम्भीर प्रश्न उठेको नेकपा माओवादी केन्द्रका एक नेताले बताए । सांसद माधव सापकोटा, मायाप्रसाद शर्मा, सूर्यमान दोङलगायत सांसदहरुले पटक पटक दोहोर्याइरहने मन्त्रीहरुका विषयमा खरो असन्तुष्टि व्यक्त गरेका हुन् ।

सांसदहरू उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतप्रति बढी आक्रोशित देखिएको नेताहरुले बताएका छन् । सांसद माधव सापकोटाले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठप्रति लक्षित गर्दै बैठकमा भन्नुभएको थियो –‘तपाईं सधैं मन्त्री खाइरहनूहोस् । तपाईं मन्त्री खानकै लागि जन्मिनुभएको रहेछ र तर म चुनौती दिन्छु, देशको जुनसुकै ठाउँबाट भए पनि एक पटक चुनाव जितेर देखाउनुस् ।’ एक जनाले अवसर पाइरहँदा ‘जनयुद्ध’ लडेर आएकाहरूको अपमान भएको सापकोटाको जिकीर थियो ।

त्यस्तै नेकपा एसका उपमहासचिव एवं प्रवक्ता जगन्नथा खतिवडाले वर्तमान गठबन्धन जगै बलियो नभएकाले भरलाग्दो नभएको टिप्प्णी गर्नुभयो । ‘नेताहरुको अहलेको तरिकाप्रति सबै आक्रोशित छन्’, उहाँले भन्नुभयो–‘जग बलियो नबनाई गरिएको नयाँ समीकरण भर लाग्दो छन् । अहिले सबै नेताहरुलाई मन नपरेको गाँस खानुपरेको जस्तो भएको छ ।’ यो सरकारलाई विश्वासको मत नदिएपनि ठूलो दलको हिसावले कांग्रेसको नेतृत्वमा सरकार बन्ने भन्दै खतिवडाले थप्नुभयो–‘उनिहरुले पनि विश्वासको मत लिन सक्नुहुन्छ भन्ने नभएकाले विश्वासको मत दिनुपर्छ भन्ने मेरो तर्क हो ।’

सत्ताको प्रमुख सहयात्री दल नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सत्ता समीकरणलाई टिकाउने कुरा चुनौतीको रुपमा रहेको स्वीकार गर्नुभयो । बाह्य सम्बन्ध, अर्थतन्त्रको दुराअवस्था, जनताको राज्य प्रणालीलाई हेर्ने दृष्टिकोण, मुलुकको भविष्यप्रतिको अविश्वास, सामाजिक सम्बन्धहरु, राज्यको सबै संयन्त्रहरुको तैर तरिकालगायत विषयहरु नयाँ गठबनधन सरकारका चुनौति रहेको ज्ञवालीले बताउनुभयो । नयाँ सत्ता समीकरणमा चीनको चलखेल रहेको चर्चा चलिरहँदा पूर्व परराष्ट्र मन्त्री समेत रहेका ज्ञवालीले वर्तमान गठबन्धन र सरकार निर्माणमा बाह्य शक्तिको दौडधुप नरहेको दाबी गर्नुभयो ।

तर, माओवादी नेता वर्षमान पुनको विशेष पहल र एमाले नेता विष्णु पौडेलसहितको आग्रह अनुसार चीनले गठबन्धन परिवर्तनमा योगदान गरेको थियो । नयाँ गठबन्धनको सरकार निर्माण लगत्तै चीनको विदेश मन्त्रालयले बेइजिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता माओ निङले नेपालमा सत्ता समीकरण परिवर्तन भएको विषय जानकारीमा रहेको भन्दै यसले राजनीतिक स्थायित्व र आर्थिक उन्नतीका लागि काम गर्ने आशा गरेको बताउनुभएको थियो ।

उहाँले भन्नुभएको थियो ‘नेपालमा नयाँ सत्ता समीकरण बनेको र मन्त्रिपरिषद् पुनर्गठन भएको विषयलाई चीनने जानकारीमा राखेको । हामीले गठबन्धनका सम्बन्धित दलहरू एकताबद्ध भएर नयाँ सरकार गठनसम्बन्धी कामलाई अगाडि बढाउने र राजनीतिक स्थायित्व, आर्थिक वृद्धि तथा जनताको जीविकोपार्जनमा सुधार ल्याउने छन् भन्ने आशा लिएका छौं ।’ दुवै देशका नागरिकलाई फाइदा हुने गरी काम गर्न चाहेको चीनको विदेश मन्त्रालयले जनाएको छ । यसले नेपालको राजनीतिमा चीनको चासो ह्वात्तै बढेको पुष्टि गर्दछ ।

अहिले देशको परिस्थिति धेरै गम्भीर रहेको बताउँदै ज्ञवालीले भन्नुभयो– ‘अप्रत्यासित आकस्मिक, अपत्यारिलो लाग्ने गरी निर्माण गरेको नयाँ सत्ता समीकरणले त्यो संकट र निराशालाई चिर्दै अगाडि बढ्नुपर्छ ।’सत्ता सहयात्रामा रहेर उपप्रधान तथा गृहमन्त्री रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी बैशाख १५ मा हुने इलाम क्षेत्र नम्बर २ को उप निर्वाचनमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेसंगै सत्ता गठबन्धनमा अर्को झड्का लाग्ने नेताहरुले बताएका छन् । प्रधानमन्त्रीले यही ३० गते विश्वासको मत लिने कार्यक्रम छ । अहिले विश्वासको मत पाएपनि उपनिर्वाचन सम्म गठबन्धनभित्र ठूलै भुकम्प जाने खतरा रहेको स्वम सत्ता गठबन्धनका नेताहरुले नै दाबी गर्दै आएका छन् ।