जल, जमिन, जंगललाई उपयोग र प्रयोग गर्ने नीति अन्तर्गत चुरेलाई संरक्षण गर्ने योजना छ -महेश चौधरी

जीवन शर्मा
२० फागुन २०८० ९:२२

लाहान नगरपालिकाको समग्र विकास, सुशासन, समृद्धि र सेवा प्रवाहसहित सम्भावित अवसर तथा चुनौतीलाई समेटेर पत्रकार जीवन शर्माले लाहान नगरपालिकाका मेयर महेश चौधरीसँग गर्नुभएको अन्तर्वार्ताको सम्पादित अंश

निर्वाचन भएको डेढ वर्षभयो । यो अवधिमा लहान नगरपालिकाको समग्र विकास निर्माण र सेवा–प्रवाहको अवस्था कस्तो रह्यो ?

विकास निर्माणमा हामीले सोचेजस्तो काम गर्न पाएका छैनौं । तर, जनताका मागअनुसार शिक्षा, कृषि, स्वास्थ्य र रोजगार, पूर्वाधारलगायतका क्षेत्रको विकासलाई अघि बढाएका छौं । त्यस्तै सेवा–प्रवाहका सन्दर्भमा लाहान नगरपालिकाले दिने गर्दै आएको भौतिक विकास निर्माणबाहेक जनताका दैनिक जीवनमा जोडिएका सेवा–प्रवाहमा नागरिकलाई हुनेसम्म सहज र सरल रूपमा दिने व्यवस्था मिलाइएको छ। कानुन, नीति–नियम अनुसार आएका कुनै पनि सेवाग्राहीलाई असजिलो महसुस नगरी सेवा लिएर जाने वातावरण बनाएका छौं। हामीसँग स्रोत साधनको कमी छ। सेवा–प्रवाह धेरै गर्नु छ। कर्मचारीको समस्या त्यत्तिकै छ। कतिपय अवस्थामा स्थानीय तहमा मन्त्रालयले नै कर्मचारी समयमा नपठाइदिने गरेका छन्। यद्यपि सबै विषयलाई व्यवस्थापन गर्दै नगरपालिकाले नागरिकको पक्षमा काम गर्दै आएको छ ।

नगरपालिकाको बजेट कति छ ?

हाम्रो १ अर्ब ४६ करोडको बजेट पारित भएको छ । सबै क्षेत्रको यही बजेटभित्र रहेर हामीले विभिन्न योजनाहरु सञ्चालन गरेका छौं । कर्मचारी तलबभत्ता खुवाएका छौं ।

आन्तरिक स्रोतको अवस्था के छ ?

आन्तरिक स्रोत त्यहाँको व्यापार व्यवसाय नै हो । योसँगै त्यसमा नदीनाला, पोखरी, हाटबजार, व्यवसायिक कर, बहाल कर, एकीकृत सम्पत्ति कर लगायत बाट वार्षिक करिव १० करोडको हाराहारीमा आन्तरिक स्रोत उठ्ने गरेको छ ।

नगरपालिकाले बजेट विनियोजन गर्दा समानुपातिक ढंगले गरेको छ कि आन्तरिक स्रोत संकलनका आधारमा दिने गरेको छ ?

हामीले सबै वडालाई समानरूपले हेरेका छौं । बजेटमा समानुपातिक वितरणको अवधारणाअनुसार नै काम गर्दै आएका छौं । गत वर्ष सबै वडालाई ५० लाखका दरले दिएका थियौं । यसपटक पनि समान वितरण गरेका छौं । कसैलाई काखा, कसैलाई पाखा गरेका छैनौं । कर बढी उठाउने वडालाई भने नगरस्तरीय बजेटबाट प्रोत्साहन स्वरूप थप गर्ने गरेका छौं ।

नागरिकको मुख्य माग चाहिँ के छ ?

हरेक ठाउँमा बाटो बनाइदिनुपर्‍यो भन्ने माग आइरहेको छ। मुख्यतया नागरिकलेबाटोघाटो, नालापानी, कल्वर्ड, सिँचाइ कुलोको माग बढी गर्ने गरेका छन्। सडकहरुको स्तरोन्नति गर्नका लागि कालोपत्रे गर्नुपर्ने हुन्छ। तर, हाम्रो आयस्रोतले भ्याएको छैन। हाम्रो स्रोतले भ्याउने गरी नागरिकको आवश्यकतालाई प्राथमिकताका साथ राखेर पिच, ढलान गर्ने, अन्य पूर्वाधारका कामहरु गर्ने गरेका छौं।

यो वर्षको बजेटको प्राथमिकीकरणको अवस्था चाहिँ कस्तो रह्यो ?

लहानको अभिभावकका हिसाबले सबै क्षेत्रमा उत्तिकै महत्वका साथ हेरिनुपर्छ भन्ने मेरो मान्यता छ । नागरिक शिक्षित र जागरुक भएनन् भने गाउँ समाजको विकास भएको मानिँदैन । त्यसैले मैले पहिलो प्राथमिकता शिक्षालाई दिएको छु । त्यसपछि स्वास्थ्यलाई राखेको छु । तेस्रो नम्बरमा कृषिलाई, चौथोमा पूर्वाधार, रोजगारी र पर्यटनलाई राखेको छु । पर्यटनको सम्भावन धेरै भएकाले यसैबाट रोजगारीका अवसरको खोजी गर्न सकिने सम्भावनालाई ध्यानमा राखेर योपटकको नीति कार्यक्रम र बजेट बनाएका छौं ।

पालिकाले गरेका मुख्य काम के छन् ?

हामीले रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनका क्षेत्रमा काम गरिरहेका छौं । हामीले अहिले एम्बुलेन्स सेवा निःशुल्क गरेका छौं । त्यस्तै, कृषि मिटरअन्तर्गत खेती गर्दा चलाएको कृषिमोटरमा उठेका सबै किसानका विद्युत्को बिल नगरपालिकाले तिरिदिने व्यवस्था मिलाएका छौं । बच्चा स्वस्थ होस्, कूपोषित नहोस् भनेर गर्भवति महिलाका लागि पौष्टिक आहार प्याकेजको व्यवस्था गरेका छौं । सामाजिक र जनतासँग प्रत्यक्ष जोडिएका विषयलाई लाहानले सँगै लाने प्रयास गरेको छ । भौतिक विकास सँगसँगै नागरिकलाई अन्य सेवा दिइरहेका छौं ।

जनताको मागअनुसारको भौतिक विकासका काम कहिलेसम्म पूरा होलान् ?

यो हाम्रो बजेटले मात्रै सम्भव छैन । प्रदेश र संघीय सरकारले दिए भने मात्रै हो । नत्र नागरिकका माग असंख्य छन् । संघ र प्रदेशले बजेट दिएको छैन । हामीसँग जे–जति छ, त्यहीअनुसार विकासका काम अगाडि बढाइरहेका छौं । घरसम्म नै पिच सडक होस् भन्ने सबैको चाहाना हुन्छ । भौतिक विकास एकैपटक पूरा हुने कुरा पनि होइन, विस्तारै आवश्यकता अनुसार हुन्छ ।

स्थानीय तहका योजना र बजेटकै सवालमा संघीय र प्रदेश मन्त्रालयमा दौडधूपमै हुनुहुन्छ । उनीहरूको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

माथिल्लो निकायको सकारात्मक प्रतिक्रिया छ। तर, हाम्रो स्थानीय तहको सांसदरमन्त्री कोही पनि छैनन्। संघ र प्रदेश मन्त्रालयले पनि सांसद र मन्त्रीकै क्षेत्रहरुलाई मात्रै ध्यान दिने जस्तो देखिएको छ। सांसदरमन्त्री भएको क्षेत्रमा विकास बढी भएको छ। उहाँहरुको प्रथमिकतामा हाम्रो क्षेत्र परेको छैन। स्थानीय तहको आम्दानीको स्रोत पनि न्यून भएकाले हामीलाई जनताको आवश्यकताअनुसारको विकास गर्न निकै कठिन भएको छ । त्यसका लागि कहाँबाट के गर्न सकिन्छ भनेर म धेरैजसो मन्त्रालय, विभागहरूमा धाइरहेको छु ।

योजना निर्माणमा ‘अन्तिम घडी’ ९लास्ट आवर० को प्रभाव कस्तो छ ?

त्यस्तो छैन । हामीले उपभोक्ताबाट गराउँदा पनि इमानदारीतापूर्वक समयमै काम सकेर फरफारकका लागि आउने गरेका छन् । हामीले पनि समयमै सूचनाहरु जरी गरेका हुन्छौं । लहान सुशासनको देष्टिकोणले पनि सफल छ । हामीले सावैजनिक सुनुवाइ पनि गरिरहेकै छौं ।

लाहानको समृद्धिका लागि के गर्ने योजना बनाउनुभएको छ ?

लाहानका नागरिकको मुहारमा खुसी ल्याउन र यहाँका जनतालाई समृद्ध बनाउने एउटै कुरा छ, पर्यटन विकास । छिमेकी मुलुक विहारसँगै जोडिएकाले थारू होम–स्टेको प्रवद्र्धन गर्न सकिन्छ । हामीसँग भएका सहलेस फूलबारी, माता राजदेवीलगायत पर्यटकीय क्षेत्रको विकास गर्ने योजना बनाएका छौं । नगरपालिकाको मुख्य ध्येय पनि पर्यटन विकासलाई प्राथमिकतामा राखेर जानुपर्छ भन्ने छ । त्यस्तै, यसपटक जनमैत्री योजनाका रूपमा हामीले नगर अस्पताल बनाउँदै छौं । त्यस्तै, व्यावसायिक कम्प्लेक्स ९सपिङ महल० बन्दै छ । लहानको फोहोर व्यवस्थापन गर्न व्यवस्थापन केन्द्रको निर्माण हुँदै छ । सिँचाइ पानी ल्याउनका लागि ड्रेनको व्यवस्था गर्दै छौं ।

जल–जमिन र जंगललाई उपभोग गर्न कस्तो नीति बनाउनुभएको छ ?

जल, जमिन, जंगललाई उपयोग गर्दै प्रयोग गर्ने नीतिअन्तर्गत चुरेलाई संरक्षण गर्ने योजना ल्याएका छौं । राष्ट्रपति चुरे कार्यक्रमसँग समेत कुरा गरेर काम अघि बढाएका छौं। आउने दिनमा पानीका मुहान संरक्षण र आकासे पानीलाई सञ्चित ग¥यौं भने जमिनमा पर्याप्त पानी पुग्छ । खाने पानीको अभाव हुँदैन । खेतीकिसानीमा पनि फाइदा पुग्छ । चुरे अन्तर्गत वातावरण संरक्षणमा वृक्षरोपणका कार्यक्रमहरु समेत हामीले ल्याएका छौं ।