कांग्रेस ओखलढुंगाको महासमिती चयनमा चरम विवाद : पुरानालाई पाखा नयाँलाई अवसरको रणनीति कि लेनदेनको खेल ?

देशको आवाज
२३ माघ २०८० २३:५२

काठमाडौं,२३ माघ । नेपाली कांग्रेस ओखलढुंगाको महासमिती चयनमा चरम विवाद भएको छ । महासमिती छनोट प्रकृयामाथि असहमति जनाउँदै ८ जना महाधिवेशन प्रतिनिधिले केन्द्रीय निर्वाचन समितिमा उजुरी दर्ता गराएका हुन् । पार्टीको विधि, विधान र पद्दती अनुसार गरिनुपर्ने महासमिती सदस्य चयनलाई कसैको निर्देशन र लेनदेनका आधारमा उम्मेदवारहरुबीच छलफल नै नगरी विधिप्रकृया मिचेर रातारात घोषणा गरेको भन्दै जिल्ला कार्यसमिति ओखलढुंगा विरुद्द केन्द्रमा उजुरी दिएको महाधिवेशन प्रतिनिधिहरुले दाबी गरेका छन् ।

केन्द्रीय निर्वाचन समितिले ओखलढुंगाको महासमिति सदस्य चयनका सन्दर्भमा उजुरी दर्ता भएको पुष्टि गरेको छ । जिल्ला सभापति तेजेन्द्र खनाललगायत केही नेताहरुले महासमिति सदस्य मनोनयन दर्ता गराएका उम्मेदवारको मनोनयन पत्र समेत गायव बनाएको उजुरीकर्ताहरुको आरोप छ । ‘गुपचुपमा रातारात गरेको महासमिती सदस्यको निर्णय अबैधानीक र अव्यवहारिक छ’, नेता कुामर लुईटेलले भने–‘पार्टीमा बृहत एकताको आवश्यक परेको यो अवस्थामा गैरराजनीतिक र अबैधानिक कार्यले ओखलढुंगा कांग्रेसलाई अझ कमजोर बनाउने खेल भएको छ । यसले निर्णयकर्तामाथिको अक्षमता दर्शाएको छ ।’

कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिका सदस्य समेत रहेका लुइटेल, प्रदेश सदस्य रुद्र अधिकारी, सविता राई, पूर्व जिल्ला सभापति महेश कोर्मोचा, पूर्व पार्टी सचिव अशोक कार्की, प्रकाश दाहाल, दुर्गा तामाङ र अर्चना लुइटेलले निर्वाचन समितीमा मुद्दा हालेको बताएका छन् । यता नेपाली कांग्रेस जिल्ला कार्यसमितीले भने आगामी फागुन पहिलो हप्ता बस्ने महासमिती बैठकमा भाग लिनका लागि जिल्ला कार्यसमितिले सर्वसहमत महासमिती चयन गरेको दाबी गरेको छ । जिल्लाबाट प्रतिनिधित्व गर्ने ११ पदमा खिलानाथ दाहाल, लीला बल्लभ दाहाल, नवीन राई, वेदबहादुर रोका, सर्वधन तामाङ, गोमा केसी, बाला अधिकारी, हरि दाहाल, कुमार श्रेष्ठ, हेमालक्ष्मी राई र होमबहादुर विक चयन भएको नेपाली कांग्रेस ओखलढुङ्गाले जनाएको छ । पार्टीको १४ औ महाधिवेशनका लागि जिल्लाबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरुबाट विधानत छनोट हुनुपर्ने महासमिती सदस्यका लागि तत्कालीन जिल्ला निर्वाचन समितिले २०७८ मंसिर १० मा उम्मेदवारी दरखास्त आब्हान गरेअनुसार दरखास्त दिएपनि उम्मेदवारहरुबीच विना छलफल र विना जानकारी विधिप्रकृया मिचेर रातारात महासमिती सदस्यको घोषणाप्रति गम्भीर आपत्ति जनाउँदै नेताहरुले निर्णय सच्याउन दबाब दिएका छन् । महासमिती सदस्य छनौटको अनुहार हेर्दा पुरनालाई पाखा लगाएर नयाँलाई अवसर दिने रणनीतिको रुपमा ओखलढुंगा कांग्रेस अघि बढेको देखिन्छ । तर, कतिपयले यसलाई आर्थिक लेनदेनमा पद साटिएको टिप्पणी समेत गरेका छन् ।

महाधिवेशन प्रतिनिधिमध्य अधिकांशले महासमिति सदस्यका लागि त्यहीबेला मनोनयन दर्ता गराएका थिए । उक्त मनोनयनलाई खारेज गर्दै पुरानो मितिमा पुनः मनोनयन दर्ता गर्नु र अधिवेशनताका नै सर्वसहमत घोषणा भएका महासमिति सदस्यलाई समेत पूनः निर्वाचित घोषणा गर्नु अबैधानीक भएको कोशी प्रदेश कार्यसमिति सदस्य रुद्र अधिकारीले बताए । उजुरी निवेदनकासाथ २०७८ मंसिर १० मा दर्ता भएका उम्मेदवारको नामावली विवरण, सोही दिन निर्विरोध निर्वाचित दलित क्लष्टरबाट महासमिति सदस्यको प्रमाणपत्रको प्रतिलिपी, २०८० माघ २० मा टाँस गरिएको माघ १७ को निर्वाचन सम्बन्धी सूचना र निर्वाचित महासमिति सदस्यहरुको अन्तिम नामावली प्रकाशनको सूचना समेत पेश गरेका छन् । जिल्ला अधिबेशन भएको सवा दुईवर्ष सम्म महासमिति सदस्य चयन गर्न नसकेको ओखलढुंगा कांग्रेसमा अभिभावकत्वको अभावले निरन्तर समस्या उत्पन्न भइरहेको छ । पार्टीका केन्द्रीय सदस्य प्रदीप सुनुवार र रामहरि खतिवडा दुबै नेताले पार्टी मिलाउने भन्दापनि आ–आफ्नै डम्फू बजाउनमै रमाइरहेका कारण कांग्रेसभित्र भाडभैलो मौलाएको जिल्लाका आम कार्यकर्ताले गुनासाे गरेका छन् ।