ईकमर्स प्लेटफर्म मार्फत उत्पादनसँग उपभोक्ता जोडने ‘मोलतोल’ को योजना

देशको आवाज
१३ फागुन २०८० २३:१८

काठमाडौं,१३ पुस । भरोसा नेटवर्क कम्पनीद्धारा संचालनमा आएको ईकमर्स प्लेटफर्म ‘मोलतोल डटकम’ले नेपालमा औपचारिक रुपमा सेवा दिने तयारी थालेको छ । स‐साना व्यावसायीलाई समेटेर इकमर्स मार्केट सुरु गर्न लागेको यो कम्पनीले विजनेस टु विजनेस, विजनेस टु कस्टमर अभियानमार्फत गुणस्तरीय सेवा दिने लक्ष्यकासाथ सेवा प्रारम्भ गर्न लागेको हो ।

अमेरिकामा रहेका गौरव मानन्धर, निरज मानन्धर र नेपालका युवा उद्यमी भुलन लाखेले सन् २०१६ मै स्थापना गरेको मोलतोल यही मार्च १ तारिखबाट औपचारिक रुपमा व्यवसायिक सेवा दिन लागेको संचालक भुलन लाखेले जानकारी दिए । ‘ईकमर्स मार्केटमा हामी फरक बन्ने प्रयासमा छौं’, उनले भने‐ ‘साना–ठूला सबै व्यवसायीहरुका निम्ती सहजीकरण गरेर गुणस्तरीय सेवा दिनका लागि आएका हौं । हामीले उत्पादनसँग उपभोक्ता जोडने काम गछौं । कतिपय अनलाईन व्यापार गर्ने कम्पनीहरुले व्यावसायिहरुलाई समयमा पैसा दिन नसकेको अवस्था छ । सामानको मूल्य नपाउने समस्याहरु भईरहेको अवस्थामा हामीले ती समस्या समाधान गर्ने गरी काम गरेका छौं । प्रक्रिया पुगेका व्यवसायिहरुलाई २४ घन्टाभित्र भुक्तानी दिनसक्छौं ।’

दैनिक जीवनमा उपभोग हुने आबश्यक सामग्रीहरु किनबेच गर्न र साना व्यवसायिहरुको व्यवसायिक सहजताका लागी शुरु गरेको यो प्लेटफर्मले व्यापारी देखि ग्राहक सम्म सहज, सरल र गुणस्तरिय सामग्रीहरु उपलब्ध गराउँने उद्देश्य राखेको दाबी गरेको छ । पाँच सय माथिको सामग्री खरिद गर्दा निशुल्क होम डेलिभरी सुबिधा रहेको परियोजनाका सञ्चालक तथा व्यवस्थापकहरुले बताएका छन् । हाल काठमाडौं उपत्यका भित्र सेवा दिदै आएको यस प्लेटफर्मले केही समयमै नेपालभर सेवा दिने लक्ष राखेको छ । लाखेले भने‐‘उत्पादीत सामग्रीहरुलाई बजारीकरणको सहजिकरणका लागि यो मोलतोल डटकमले काम गर्ने छ । बजारमा विश्वासका साथ काम गर्ने प्रतिबद्दता जनाउँछौं । हामीलाई विश्वास गरेर दर्जन व्यवसायिहरु यो प्लेटफर्ममा जोडिइसकेका छन भने दैनिक १०० को हाराहारीमा नियमित ग्राहक भइसकेका छन् ।’ अहिले खानाको परिकारको माग बढी भइरहेको उनिहरुले बताएका छन् ।

अनलाइन मार्केटको विश्वव्यापी प्रभावलाई बुझेर नै जापानबाट फर्किएर नेपाल आएर मोलतोलमा आबद्ध भएको सुनाउँदै मोलतोलका कार्यकारी प्रमुख प्रितेश शाक्यले भने,‘हामीले कसैलाई प्रतिस्पर्धी ठानेका छैनौं । डिजीटलको दुनियाँमा असम्भव केही छैन् । सानो टीम बनाएर बजारमा आएका छौं ।’ नेपालका मौलिक एवम रैथाने उत्पादनको बजारीकरण, साना–ठूला व्यापारीहरुका लागि सहजीकरण र छिटो छरितो सबैखाले बस्तुहरुको शुभल मूल्यमा अनलाइन सेवा दिनेगरी ईकमर्स प्लेटफर्म स्थापना गरी काठमाडौं उपत्यकाबाट सेवा शुरु गरिएको पनि शाक्यले जानकारी दिए । कम्पनीले हाल दर्जन बढी व्यक्तिहरुलाई रोजगार बनाएको उनको भनाई छ ।  मोलतोलले दैनिक उपभोग्य बस्तुलगायत सबैखाले सेवा अनलाइनमार्फत दिने जनाएको छ ।