क्रिप्टो करेन्सी कारोबारको डरलाग्दो तथ्य

देशको आवाज
१७ माघ २०८० ९:५२

काठमाडौं,१७ माघ । नेपालमा अवैध घोषणा गरिएको अनलाइन जुवा र क्रिप्टो करेन्सीको कारोबार डरलाग्दो अवस्थामा हुने गरेको तथ्य प्रहरीले सार्वजनिक गरेको छ। नेपालमा प्रतिबन्ध लगाइएको भए पनि यसको कारोबारमा संलग्न रहने नेपालीको संख्या ठूलो रहेको र यसले नेपालको अर्थतन्त्रमा नै ठूलो असर पार्ने दाबी प्रहरीले गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार अनलाइन जुवा खेल्नेका लागि अवैध रूपमा रकम ट्रान्सफर गरिदिने गिरोहको पर्दाफास गरेको छ। अनलाइन जुवा र किप्टो करेन्सीको कारोबारका लागि विभिन्न माध्यमबाट रकम पठाउने मुख्य नाइके डम्बर साहलगायतको समूहलाई पक्राउ गरी सार्वजनिक गरिएको छ। साहले जुवा खेल्नका लागि विभिन्न माध्यमजस्तै ह्वाटसएप, इमो, उद्गम भेन्चर क्यापिटल प्रोफिस्ट समूह खडा गरेर विभिन्न व्यक्तिको नाममा पैसा पठाउने र पीडितले पैसा खोजे नगद, क्रिप्टो, बैंक ट्रान्फर र इन्टरसेट गरेको देखाउने गरेको पीडितहरूले प्रहरीलाई जानकारी गराएका थिए।

साहले उक्त कम्पनीमार्फत् सन् २०२१ देखि हालसम्मको दुई वर्ष बीचमा अनलाइन जुवा र अन्य अवैध कारोबारका लागि १ अर्ब ४९ करोड रुपियाँ ट्रान्सफर गरेको तथ्य उपत्यका अपराध अनुसन्धान कार्यालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ। साहले विभिन्न प्रलोभन देखाएर ठगी गरेका ३४ जनाले प्रहरीमा उजुरी हालेका थिए। उजुरीको आधारमा प्रहरीले खोजी गर्दै जाँदा साहसहित ७ जनालाई पक्राउ गरेको थियो।

सो टोलीले अनलाइन जुवाका लागि अवैध रूपमा रकम लोड गरिदिनुका साथै ह्वाट्सएप, फेसबुक र ईमोलगायतका सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिलाई पार्सल पठाइदिन्छु भन्दै ठग्ने गरेको पनि प्रहरीले जानकारी दिएको छ। साहले अनलाइन जुवा र ठगीका लागि नगदै, क्रिप्टो करेन्सी र ब्याज लिएर बैंक ट्रान्सफरबाट पनि रकम पठाउने गरेको भेटिएको पनि प्रहरीले जानकारी दिएको छ।

साहसँग मिलेका मिथलेशकुमार मण्डलले नगद र क्रिप्टो किनबेच गर्ने गरेको पनि अनुसन्धानका क्रममा फेला परेको पनि सो कार्यालयले जनाएको छ। साहले उद्गम भेन्चर क्यापिटलका चारवटा बैंक खाता खोलेको र सोही चारवटा खाताबाट मात्रै ९१ करोड ६२ लाख ३८ हजार ६ सय ९ रुपियाँ कारोबार गरेको भेटिएको छ। यो काम उनले सन् २०२२ जुलाईदेखि २०२३ जुन अन्तिमसम्म गरेको पनि सो कार्यालयले जनाएको छ । साहले आफ्नै नाममा पनि विभिन्न बैंकमा ११ वटा खाता खोलेको भेटिएको छ।

उनले ती खाताबाट ५८ करोड ३५ हजार ६ सय ३४ रुपियाँ कारोबार गरेको भेटिएको पनि प्रहरीले जानकारी दिएको छ। यो कारोबार पनि २०२१ जुनदेखि २०२३ जुनसम्म भएको अनुसन्धानका क्रममा फेला परेको प्रहरीले जानकारी दिएको छ। साहले अनलाइन जुवासहित अवैध कामका लागि क्रिप्टो करेन्सी किन्ने र बेच्ने, अन्यलाई ट्रान्सफर गर्ने र एकाउन्ट ह्यान्डलिङ गर्ने काम पनि गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। प्रहरीले साहसहित सिराहाका मिथलेशकुमार मण्डल, मुरारी साह, आर्यन साह, अनिषकुमार रौनियार, रोशन चौधरी जैसवाल, शिवमकुमार यादव र हरिशंकर चौधरीलाई समेत पक्राउ गरी कारबाही अघि बढाएको छ।