भ्रष्टाचारमा व्यप्त नेपाल दुई स्थान सुधार

देशको आवाज
१७ माघ २०८० ९:४४

काठमाडौं,१७ माघ । भ्रष्टाचार हुने मुलुमध्य नेपाल गत वर्षभन्दा २ अंकले सुधार भएपनि व्यापक भ्रष्टाचार हुने मुलुकहरूको सूचीमा यथावत् रहेको छ। ट्रान्सपरेन्सी इन्टरनेसनलका अनुसार गत वर्ष ३४ अंक पाएको नेपालले यसपटक ३५ अंक पाएको थियो। मंगलबार सार्वजनिक भएको भ्रष्टाचारसम्बन्धी अवधारणाको मापन गर्नेसम्बन्धी सो प्रतिवेदनमा नेपाललाई १०० मा ३५ अंक (१०८) औं स्थान दिइएको छ। अघिल्लो वर्ष नेपाल अंकले ३४ (११०) औं स्थानमा रहेको थियो । प्रतिवेदनले यस वर्ष नेपालको भ्रष्टाचारसम्बन्धी सूचीमा दुई स्थान सुधार भएको देखिएको छ।

यद्यपि, एक अंक बढी ल्याएका कारण नेपाल सुशासन हुने मुलुकहरूको वरीयता क्रममा दुई अंक अगाडि आएको छ। ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले प्रतिवेदनअनुसार नेपालको सुशासनको अवस्था नाजुक रहेको औंल्याएको छ। प्रतिवेदन सार्वजनिक गर्दै ट्रान्सपरेन्सी नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले सरकार भ्रष्टाचार नियन्त्रण गर्न असफल रहेको, कमजोर न्याय प्रणाली र निरंकुश हुँदै नेताहरूले न्यायलाई अवमूल्यन गरेको लगायतका कारण दण्डहीनता बढेको बताउनुभयो।

नेपाल एक अंकले घटे पनि भ्रष्टाचार व्याप्त मुलुकको अवस्थामै रहेको अध्यक्ष प्रधानाङ्गको भनाइ रहेको छ । उहाँले भन्नुभयो– ‘५० भन्दा कम अंक प्राप्त गर्ने मुलुकहरू भ्रष्टाचार व्याप्त मुलुकमा गनिने हुँदा नेपालमा पनि भ्रष्टाचार कम भयो भनेर खुसी हुने अवस्था छैन।’ ५० अंकभन्दा कम स्कोर गर्ने मुलुकहरूलाई सुशासनको क्षेत्रमा समस्यायुक्त रूपमा चित्रण गर्ने गरिएको छ। ३५ अंकभन्दा कम स्कोर ल्याउने मुलुकहरू गम्भीर भ्रष्टाचारको समस्यामा परेको मानिन्छ। यसपालि सबै मुलुकको औसत अंक ४३ छ । विश्वका दुई तिहाइभन्दा बढी मुलुकले ५० भन्दा कम अंक पाएका छन्।

१ सय ८० देश सम्मिलित सूचकांकमा डेनमार्क ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया ११ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा सूचीकृत भएको ट्रान्सपरेन्सी इन्टरनेसनले जनाएको छ । यस सूचकांकमा १०० अंकले अति स्वच्छ र ० अंक अति भ्रष्ट जनाउने ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालकी अध्यक्ष प्रधानाङ्गले जानकारी दिनुभयो।