रास्वपा लक्षित नेता भट्टराई भन्छन्-आफूले खाएको अमृत, अरुको भ्रष्टाचार हुन्छ ?

देशको आवाज
१६ माघ २०८० २१:२१

तनहुँ,१६ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले रास्वपातिर लक्षित गर्दै भ्रष्टाचारमा दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका छन् ।

उनले भने, ‘यो देशको राजनीति सुधार्नुपर्छ । भ्रष्टाचार निमूल हुनुपर्छ तर आफूले खाएको अमृत र फलानो भ्रष्टाचार हो भन्ने दोहोरो मापदण्ड लागु हुन सक्दैन ।’ तनहुँको पूर्कोटस्थित कालिका बहुमुखी क्याम्पसको ११ औं वार्षिकोत्सव कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेसँग जोडिएको सहकारी प्रकरणतर्फ संकेत गर्दै उनले भने, फोहोर सारौं तर दोहोरो मापदण्डले फोहोर सार्न सकिन्न ।

रास्वपा उपसभापति स्वर्णिम वाग्लेले दिएको तनहुँमा गोरु बेचेको साइनो नभए पनि चुनाव जितेको अभिव्यक्ति नदिएको भनी दिएको प्रष्टीकरणतर्फ लक्षित गर्दै उनले आज आफूले के बोल्यो एक घण्टामै बिर्सने प्रवृत्ति भन्दै कटाक्ष गरे ।

यस क्षेत्रको विकासमा आफू जुनसुकै पदमा रहे पनि नरहे पनि सक्रिय रहने भन्दै उनले चुनाव हारे पनि मस्र्याङदी खानेपानी आयोजना सम्पन्न गरेर पानी ल्याउने घोषणा गरे । तनहुँ र चितवन जोड्ने घुमाउने घाटमा पुल बनाउन बजेट विनियोजन गरे पनि ठेकेदार भागे पनि खोजेर ल्याएको भन्दै आफूहरुकै नेतृत्वमा त्यो काम पूरा हुने दृढता व्यक्त गरे ।