काठमाडौंमा तापक्रम घट्दै जाडाे बढ्दै

देशको आवाज
१५ माघ २०८० ५:५०

काठमाडौं । काठमाडौं उपत्यकामा चिसो बढ्दो क्रममा छ। नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।

केही दिनअघिदेखि तापक्रम क्रमशः घट्दै गएर न्यूनतम तापक्रम २.२ मा झरेको काठमाडौंको तापक्रम आइतबार २.१ डिग्रीमा आएको थियाे । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद मीनकुमार अर्यालले काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै सबभन्दा कम २.१ डिग्री अभिलेख भएको बताए। सबभन्दा कम जुम्लामा माइनस ४.९ र जोमसोममा माइनस ४.५ डिग्री रहेको पनि जानकारी दिए।

तराईमा भने बाक्लो कुहिरो नदेखिएकाले केही न्यानो महसुस भएको उनले जानकारी दिए। उच्च बादल भएकाले पानी भने नपर्ने उनले बताए। ‘खाली यसले तराईको हुस्सुलाई घटाएर पातलो बनाएको छ, आइतबार साँझ ६ बजेको समयमा धेरै क्षेत्रमा एक हजार मिटरमाथि भिजिबिलिटी छ,’ मौसमविद अर्यालले भने, ‘जसले हिजोभन्दा कम कुहिरो हुँदा घाम लागेर राहत मिलेको छ।’

मौसमविद अर्यालका अनुसार भिजिबिलिटी एक हजार मिटरभन्दा तल भएमा कुहिरो लाग्ने र त्यसभन्दा माथि भएमा हुस्सु भन्ने गरिन्छ। तराईमा सोमबार पनि केही राहत मिल्ने तर जनजीवनमा चिसोले असर पार्ने भएकाले सचेत हुन आग्रह गरिएको छ। कतैकतै हुस्सु तथा कुहिरो पनि रहने बताइएको छ। उच्च पहाडी भेगमा केही मौसम बदली रहेको र हिमाली क्षेत्रमा हिमपात भने जारी नै छ।