निराशालाई आसा जगाउन ‘समुदायमा कांग्रेस’ अभियान

देशको आवाज
१३ माघ २०८० २१:०२

 काठमाडौं,१३ माघ । सत्ताको प्रमुख सहयात्री दल नेपाली कांग्रेले समाज, राजनीतिक र वर्तमान ब्यवस्थाप्रति नागरिकको निराशामा आसा भर्नकालागि ‘समुदायमा कांग्रेस’ अभियान शूरु गरेको छ । देशभरका ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वटै वडामा सञ्चालन गर्ने अभियान अन्र्तगत स्थानीय नागरिकका समस्या, गुनासा, भुगोलको आर्थिक, सामाजिक, भौगोलिक, राजनीतिक अवस्था तथा सम्भावनाका बारेमा संवाद यात्रा थालेको हो ।

शनिबार नेपाली कांग्रेसका महामन्त्री द्धय गगन कुमार थापा, विश्वप्रकाश शर्मा, पूर्व महामन्त्री तथा राष्ट्रि सभा सदस्य कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य प्रदीप पौडेल, मधु आचार्यलगायतले झापाबाट अभियानको सुरुवात गरे । कार्यकर्तामा जागरण ल्याउन र जनतामा देखिएको निराशाको अन्त्यका लागि संवाद यात्रा तय गरिएको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताउनुभयो ।

नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयासस्वरुप यात्रा आरम्भ गरेको बताउदै थापाले पार्टीलाई समुदायसँग जोड्ने अभियान भएको दाबी गर्नुभयो । महामन्त्री थापाले आफूहरु भुईंमान्छेको प्रतिनिधि भएको उल्लेख गर्दै पार्टी प्रतिको गुनासो सुन्न र आम समुदायको समस्या बुझ्ने यात्राको उद्देश्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘जनतामा निराश छ, त्यही निराशामा कसैले व्यापार गर्ने र कसैले फाइदासहित लाभ लिने गरेका छन् । तर, नेपाली कांग्रेसले समाज परिवर्तनसहित निराशामुक्त बनाउनु छ । त्यसेका लागि ये अभियान थालेका छौं ।’

पहिलो चरणमा माघ १३ देखि २६ गतेसम्म सञ्चालन गर्न लागेको उक्त अभियानअन्तर्गत ७ प्रदेश, ७७ जिल्ला, ७ सय ५३ वटै स्थानीय तह र ६ हजार ७ सय ४३ वटै वडामा प्रतिनिधि खटाईएको नेपाली कांग्रेसका सूचना तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताउनुभयो । ‘यो अभियानमा पार्टीका केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरू समेत गाउँ–गाउँ पुग्ने र जनताका समस्या, गुनासा र सुझाव सुन्ने कार्यक्रम तय गरिएको छ’, उहाँले भन्नुभयो–‘ कांग्रेसले तीनै तहका सरकारसँगका जनताका अपेक्षा, सुझाव र गुनासो सुन्ने जनताबाट प्राप्त सुझावलाई सम्बन्धीत सरकारसँग लैजाने, पार्टी सरकारमा रहेका ठाउँमा सरकारको नीति कार्यक्रममा समावेश गरी कार्यान्वयनतर्फ लैजाने र प्रतिपक्षमा रहेका ठाउँमा समाधानका उपायहरु खोज्ने छ ।’

अभियानका लागि प्रत्येक प्रदेशमा केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी वा पार्टीका नेताले अभियानको प्रादेशिक समन्वय गर्ने र संयोजन गर्नेछन भने जिल्लाका लागि केन्द्रीय सदस्यहरूलाई परिचालन गरेको छ । अभियानको शूरुवात गर्दै पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले यात्राले जनताको दुःख, दर्द र मर्मलाई बुझ्नुका साथै आफूले गरेका कमीकमजोरी पत्ता लगाउनसमेत मद्दत पुग्ने बताउनुभयो । ‘पार्टीलाई बलियो बनाउन कांग्रेसलाई बदल्नु आजको आवश्यकता हो’, उहाँले भन्नुभयो ।

अभियानका क्रममा नेताहरुले वडाको पायक पर्ने ठाउँमा कम्तीमा एक पटक वडावासीसँग सार्वजनिक छलफल गर्ने र त्यसमार्फत जनताका अपेक्षा, गुनासा र सुझाव सुन्ने कार्यक्रम गर्नुपर्ने केन्द्रीय कार्यालयले परिपत्र गरेको छ । त्यस्तै, नागरिक समाज, शिक्षक, प्राध्यापक, आमा समूह, युवा क्लब, कृषक समूहदेखि समाजका सबै समूहसँगसमेत छलफल गर्न र उनीहरूका कुरा सुन्न समेत परिपत्र गरिएको नेपाली कांग्रेस जनाएको छ । समुदायमा कांग्रेस अभियानअन्तर्गतको यात्रा शुभारम्भ कार्यक्रममा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य प्रदीप पौडेललगायत सहभागी थिए। कांग्रेसले केन्द्रीय समितिले यही माघ १३ देखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।