अस्पतालको लापरवाहीले मृत्यु भएको डेढ महिने शिशुको शव आफन्तले बुझ्न मानेनन्

देशको आवाज
२० असोज २०८० २२:४९

ओखलढुंगा,२० असोज । ओखलढुंगा सामुदायिक अस्पतालको लापरवाहीका कारण डेढ महिने शिशुको मृत्यु भएको भन्दै पीडित पक्षले शिशुको शव बुझ्न मानेका छैनन् । पीडित पक्षले ओखलढुंगा सामुदायिक अस्पतालका निर्देशक रोशन खरेलको राजीनामा लगायतका ४ बुँदे माग राख्दै शव बुझ्न नमानेका हुन ।

सिद्विचरण नगरपालिका ५ बस्ने डोमप्रसाद दाहालकी डेड महिनाकी छोरीको पिसाब रोकिएर शुक्रबार विहान ७ बजे अस्पतालको इमर्जेन्सी कक्षमा पुर्याइएको थियो । बिहान अस्पतालको इमर्जेन्सी कक्षमा पुर्याएको शिशुलाई शुक्रबार दिउँसो मात्रै ओपीडीबाट इमर्जेन्सीमा पठाएर शिशुको उपचार सुरु गरेको थियो । पिसाब रोकिएको लक्षण भएकी शिशुको उपचारमा ढिलाई भएपछि शुक्रबार राति करिब ९ः४५ बजेतिर मृत्यु भएको हो । इमर्जेन्सी कक्षमा समयमै पुर्याइए पनि शिशुले उपचार नपाएर मृत्यु भएको शिशुका बुबा डोमप्रसाद दाहालको भनाई छ ।

शिशुको मृत्यु भएपछि अस्पताल प्रशासन र पीडित पक्ष बिच भएको वार्ता निष्कर्ष बिहिन भएको छ । पीडित पक्षले अस्पताल निर्देशक खरेलले राजीनामा गर्नुपर्ने, इमर्जेन्सी कक्षमा उपचाररत चिकित्सकमाथि छानबिन र कारबाही गर्नुपर्ने, अस्पतालको इमर्जेन्सी कक्षमा सिकिस्त भएर पुग्ने सबै विरामीलाई ईमर्जेन्सी कक्षमै भर्ना लिएर उपचार गर्ने वातावरण सिर्जना गर्नुपर्ने र अस्पतालले घटनाको विषयमा सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्ने लगायतका माग राखेका छन् ।

माग पूरा नभएसम्म शव नबुझ्ने पीडित पक्षको भनाई छ । पिडितले डिउटीमा रहेका डाक्टरलाई घटनाको बारेमा स्पष्ट पार्नका लागि बोलाउन आग्रह गरेका थिए । यता अस्पतालका निर्देशक खरेलले आफु असुरक्षित भएको भन्दै डाक्टरलाई बोलाउन अस्बीकार गरेको शिशुका आफन्तले बताएका छन् । घटनाको बारेमा छानबिनका लागि समिति गठन गरेको र भोली आईतवार समितको बैठक बस्ने अस्पताल प्रशासनले जानकारी दिएको छ ।