कोशी अस्पतालमा क्यान्सर उपचार सेवा विस्तारको सम्झौता

देशको आवाज
१३ भदौ २०८१ १९:२३

काठमाडौँ । विराटनगरस्थित कोशी अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार सम्झौता भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा अस्पतालमा विस्तारित सेवा दिने विषयमा भक्तपुर क्यान्सर अस्पताल तथा सेवा सञ्चालन गर्ने विषयमा कोशी अस्पतालले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

स्वास्थ्य सचिव डा। रोशन पोखरेलसमेत उपस्थित कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा। उज्वल चालिसे र कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। रविनराज सिंहबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । गत साउन २७ गते उनले घोषणा गरेको योजना तथा प्राथमिकतामा सबै प्रदेशबाट क्यान्सरको उपचार सेवा उपलब्ध गराउने उल्लेख थियो ।

सोही अनुसार भक्तपुर क्यान्सर अस्पतालले अब कोशी अस्पताललाई क्यान्सरसम्बन्धी बिरामीको पहिचान र निदानसम्बन्धमा सेवा दिन सघाउने छ । कोशीमा क्यान्सर उपचारका लागि चापका आधारमा सेवामा सघाइने भक्तपुर क्यान्सर अस्पतालले बताएको छ । कार्यक्रममा बोल्दै मन्त्री पौडेलले लामो समयपछि सबै प्रदेशमा क्यान्सरको परीक्षण र निदान सुरु हुने अवस्था आएको बताए ।

उनले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन सकिए नागरिकको ठुलो धनराशि जोगिने र राज्यको छरिएको रकमसमेत एकत्रित हुँदा उपचार सहज हुने बताए । मन्त्री पौडेलले कोशी प्रदेश सरकारको सक्रियतामा विराटनगरस्थित शैलजा आचार्य हृदयरोग केन्द्रको निरीक्षणसमेत गरेका छन् । त्यसक्रममा उनले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रसँग समन्वय गरेर केन्द्रको उपचार प्रभावकारी बनाउन सघाउने बताए । जनशक्ति र प्याथ ल्याब सञ्चालनमा समेत सहजीकरण गर्ने उनले प्रतिबद्धता जनाए ।