अन्तरदेशीय पर्यटकीय पूर्वाधार र आवागमनको सुदृढीकरणमा मन्त्री पाण्डेको जोड

देशको आवाज
८ भदौ २०८१ १९:०९

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले अन्तरदेशीय पर्यटकीय पूर्वाधार र आवागमनको सुदृढीकरणमा जोड दिएका छन् । संस्कृति, पर्यटन र उड्डयनको चक्र निर्माण गरि अन्तरदेशीय पूर्वाधार निर्माण र आवागमनको सुदृढीकरण, धार्मिक पर्यटनको प्रवद्र्धनका साथै विश्वभरका आगन्तुकहरुलाई नेपालका धार्मिक स्थलहरुको पवित्रताको सहज अनुभूति गराउने वातावरणको निर्माणका लागि सहकार्य गर्न पाण्डेले आव्हान गरे । भारतको गुजरतामा आयोजित आठौं धर्म–धम्ब सम्मेलनलाई शुक्रबारसाँझ सम्बोधन गर्दै मन्त्री पाण्डेले सो आब्हान गरेका हुन् ।

नेपालका पशुपतिनाथ हलेसी र मुक्तिनाथ तथा भारतको काशीस्थित शान्तिस्तुपा दुई देशबीचका साझा सम्पदाहरु रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले नेपालमा यस सम्मेलनको भावना प्रतिविम्बित हुने खालको आध्यात्मिक अनुभुति गर्न सकिने बताए । सम्मेलनका सहभागीहरुलाई नेपाल भ्रमणमा आउन समेत उनले निम्तो दिएका छन् ।

भूटान श्रीलङ्का लगायतका देशका मन्त्रीहरु र अन्य देशका धार्मिक विचारकहरुको ठूलो संख्यामा सहभागिता रेहेको सो सम्मेलनमा मन्त्री पाण्डेले एकता र विविधता नै हाम्रो परम्पराको आधारभूत मान्यता भएको बताउँदै शान्ति र करुणको प्रतिकको रुपमा नेपालमा धर्म र धम्बका सिद्धान्तहरु सदियौंदेखि व्यबहारमा रहेको कुरामा जोड दिए ।

उनले भने “हाम्रा मनमोहक हिमाल, पवित्र तीर्थस्थलहरु तथा सांस्कृतिक सम्पदाहरुले ब्रम्हाण्डीय शक्ति र दैवीय उपस्थितिको झल्को दिई रहेका छन् तसर्थ नेपाल प्रकृति र दैवीय शक्तिको जीवित उदाहरण हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको हैसियतमा हाम्रा आध्यात्मिक सम्पदाहरुको संरक्षण प्रवद्र्धन गर्ने निर्णय गरेको छु । म हाम्रो संस्कृति, पर्यटन र उड्डयनको चक्र निर्माणका लागि अन्तर देशीय पूर्वाधार निर्माण र आवागमनको सुदृढीकरण, धार्मिक पर्यटनको प्रवद्धनका साथै विश्वभरका आगन्तुकहरुलाई हाम्रा धार्मिक स्थलहरुको पवित्रताको सहज अनुभूति गराउने वातावरणको निर्माणका लागि सहकार्य गर्न आव्हान गर्दछु । सायद यहिनै धर्म–धम्ब परम्पारको वास्तविक अर्थ प्रतिको योगदान हुने छ ।”

इण्डिया फाउन्डेसनको पहलमा भारतको गुजरातमा आयोजित सम्मेलनमा धर्म–धम्म हिन्दू र बौद्ध सभ्यक्रताहरूबीच सदियांैदेखि स्थायी निरन्तर रुपमा निकट रहेका विचारहरु भएको र जुन आज पनि सान्दर्भिक भएको बताइएको थियो । अहिलेको बदलिदो विश्यमा यी दुई विचार बीचको सम्बन्धको पहिचानमा ध्यान केन्द्रित गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको हो । यो सम्मेलनको मुख्य उद्देश्य यी दुई विचारबीच अपसमा परागसेचन (क्रस पोलिनेशन) गराउने र दुई प्राचीन सभ्यताहरू बीचको सद्भाव बढाउँदै धर्म–धम्म स्वतन्त्रताको वास्तविक महोल खडा गर्ने रहेको छ । शताब्दीयौंदेखिको सांस्कृतिक र सभ्यताको अन्तरसम्बन्धले प्रदान गरेको धर्म–धम्म बीचको साझा विचारहरुलाई एकीकृत गर्नु आजको भूमण्डलीकरणले युगमा अति आवश्यक ठानिएको विषयमा सो सम्मेलनमा जोड दिइएको थियो ।

भारत फाउन्डेसनले गुजरात विश्वविद्यालय, अहमदाबादसँगको सहकार्यमा गुजरातको अहमदाबादमा आठौं सम्मेलनको नारा ‘धर्म र धम्ममा ब्रह्माण्ड विज्ञान’ रहेको छ । सम्मेलनको उद्देश्य उदीयमान नयाँ विश्व व्यवस्थाको लागि दार्शनिक संरचना निर्माण गर्नका लागि धर्म–धम्म परम्पराका धार्मिक, राजनीतिक र विचारधारा नेताहरूलाई एकसाथ ल्याउने रहेको छ । आठौं अन्तर्राष्ट्रिय धर्म धम्म सम्मेलनमा १८ देशका तीनसय भन्दा बढी विज्ञ तथा प्राज्ञको सहभागिता रहेको अनुमान छ ।