शुक्रबार प्रधानमन्त्री निवासमा आगन्तुकमाथि जे व्यवहार भयो …
काठमाडौं । शुक्रबार बिहान त्यस्तै साढे ९ बजेको हुँदाे हो । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासको गेट नम्बर–३ बाट कम्तीमा १५० मान्छेकाे समूहभित्र छिर्यो । बीचमा पनि फाट्टफुट्ट प्रवेश गरिरहेकै थिए । आधा घण्टामा प्रधानमन्त्रीले सामूहिक भेटकक्षको ठूलो हलमा विभिन्न संघ संगठन र एमाले पार्टीकै जिल्ला कमीटीका नेतासमेत गरी २००भन्दा बढी मान्छे जम्मा भएका थिए । उनीहरू प्रधानमन्त्रीलाई भेट्नका लागि बधाई प्रमाणपत्र, ध्यानाकर्षण पत्रसहित आवश्यक छलफल गरिरहेका देखिथे ।
प्रधानमन्त्रीलाई भेट्ने र आफ्ना विषयमा कुरा राख्ने योजनाअनुसार पर्खिबसेका त्यतिबिघ्ना मानीस संस्थागत हिसाबले नै जम्मा भएको सहभागीले बताए । नेपाल प्रजातन्त्र सेनानी संघ, ओली वंश केन्द्रीय समिति, राष्ट्रिय ख्रिष्ट्रियन मण्डली महासंघ नेपाल, उद्योग वाणिज्य संघका शाखा, नेकपा एमाले भारत प्रवास कमिटी, एमाले जिल्ला कमिटीलगायत दर्जनभन्दा बढी संघ संगठनका जिम्मेवार व्यक्ति उपस्थित त्यहाँको माहोल कुनै राजनीतिक वा सामाजिकरूपमा गरिएका औपचारिक कार्यक्रमभन्दा कम थिएन ।
गेटबाटै बल्लतल्ल छिरेका उनीहरूलाई हल प्रवेशद्वारामा पनि लाइन राखेर सुरक्षा जाँचपछि प्रवेश गराइयो । ओलीको सचिवालयले प्रतिक्षा कक्षमा रहेका नेपाल प्रजातन्त्र सेनानी संघका अध्यक्षसहितको टोलीलाई पनि ठूलै हलमा सारियो । हल भरीभराउमात्रै थिएन गुनगुनाहट हल्लाले पनि गुञ्जिरहेको थियो । हलमा प्रवेश गरेका अधिकांश व्यक्तिको आग्रहमा ओली वंश केन्द्रीय समितिको ब्यानरसमेत निकालियो । सबैले भेट गर्ने ठाउँमा एउटा संस्थाको ब्यानर किन ? भन्ने उनीहरूको प्रश्न जायजै थियो । भेटको पूर्वतयारीस्वरूप समूहगत भेटका लागि क्रमबद्धसँग संस्थाको नामावली नै वाचन गरियो । भेटको तयारीका लागि सचिवालयका व्यक्तिले तीन पटकसम्म समूह विभाजन गरेर तयारी रहन भने । प्रधानमन्त्रीको आसनमा फूलदानी राखेर तयारी थियो ।
तर, प्रधानमन्त्री आउने छाँटकाटनै थिएन । हलभित्र राखेको २ घण्टा भइसक्दासमेत प्रधानमन्त्री नआएपछि मान्छे छटपटाउन थाले । जुन स्वाभाविकै थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले भेटका लागि मिलाइदिएको बिहान साढे ९ बजेदेखि साढे १० बजे भन्दा ढिला भए भेट गर्न नसकिने सोचका साथ त्यहाँ पुगेका आगन्तुकको अनुहारमा भोकको संकेत प्रष्ट देखिन्थ्यो । त्यतिमात्र होइन कतिपय ज्येष्ठ नागरिक खाना खान भनेर बीचमै बाहिरिए भने केहीले भोक लागेको कुरा एकआर्काप्रति सुनाउँदै थिए । तर, प्रधानमन्त्रीले प्रतिक्षारत ती नागरिकलाई भेट्न नसक्ने खबर पठाए ।
उनको सचिवालयका जिम्मेवार व्यक्तिबाट १२ः३० बजे प्रधानमन्त्री अब आउनुहुन्न उहाँलाई भेट्न भदौ १४ गते आउनुहोस्, फर्मान जारी भयो । समय मिलाएर प्रधानमन्त्रीसँग भेट्न पुगेका घण्टौ पर्खेर निराश मुद्रामा बालुवाटारबाट बाहिरिए । प्रधानमन्त्री ओली मुख्यमन्त्रीलगायत विशिष्ठ व्यक्तिको भेटघाटमा व्यस्त भएकाले उनलाई भेट गर्न पुनः १४ गते आउनु भन्ने उर्दी गरेर आगन्तुकलाई पठाएपछि प्रधानमन्त्री निवासको व्यवस्थापनप्रति उनीहरू आक्रोशित मुद्रमा देखिन्थे ।
बिहान खाना खानसमेत नपाइ ९ बजे नै बालुवाटार छिरेकाहरू भोकले छटपटिए पनि तीन घण्टा सहेर बस्तासमेत प्रधानमन्त्रीले भेट नदिनु गैरजिम्मेवारपन र बेवास्ताको पराकाष्टा भएको असन्तुष्टि पोखे । प्रधानमन्त्रीको सचिवालयका व्यक्तिपिच्छे फरक समय निर्धारण गर्नाले समस्या आएको सचिवालयकै एक कर्मचारीहरूले टिप्पणी गरेका छन् । आन्तरिक व्यवस्थापनका सन्दर्भमा सचिवालयका जिम्मेवार व्यक्तिहरूबीचकै तादम्यता नमिलेको धेरैको निष्कर्षसहित सबै आ–आफ्नो गन्तव्यतिर लागे ।
प्रतिक्रिया दिनुहोस