परराष्ट्रमन्त्री आरजूको भारत भ्रमणमा के पाक्यो खिचडी !

देशको आवाज
४ भदौ २०८१ ८:५६

काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी छन् । मोदीसँग भेट भएकोबारे राणाले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् ।

भेटका क्रममा उनीहरुबीच नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताबारे छलफल भएको राणाले बताएकी छन् । आफ्नो परराष्ट्रमन्त्रीका रुपमा भएको भ्रमण र भेटवार्ताले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने राणाले अपेक्षा गरेको उल्लेख गरेकी छन् ।

‘भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूसँग आज साँझ नयाँ दिल्लीमा शिष्टाचार भेट गरेको छु । यस भेटवार्ताका क्रममा नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भयो । नेपालको परराष्ट्रमन्त्रीका रुपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु’, राणाले लेखेकी छन् ।

भेटमा नेपालले अब करिब एक हजार मेगावाट विद्युत निर्यात गर्न सक्ने र यसले नेपालका लागि आम्दानी र भारतका लागि स्वच्छ ऊर्जाका थप स्रोतहरुको सिर्जना गर्नेबारे चर्चा गर्दै दुवै पक्षले ऊर्जा सहकार्यको क्षेत्रमा पारस्परिक लाभदायी साझेदारीमा भएको प्रगतिका बारेमा छलफल गरेको मन्त्रालयले बताएको छ । दुवै परराष्ट्रमन्त्रीले दीर्घकालीन ऊर्जा व्यापार सम्झौताको कार्यान्वयनका कारण ऊर्जा सहकार्यको क्षेत्रमा उपलब्ध अभूतपूर्व अवसरहरु उपर छलफल गरेका छन् ।

यस अघि राणाले आजै आफ्ना समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन् । आइतबार नयाँ दिल्ली पुगेकी राणा आफ्नो पाँच दिने भारत भ्रमण सकेर बिहीबार स्वदेश फर्किने कार्यक्रम रहेको छ । राणाले भारतीय प्रधानमन्त्री,मन्त्री र विशिष्ट व्यक्तिहरुसँगको भेटलाई नेपाली राजनीतिमा महत्वकासाथ हेरिएको छ ।

एकाथरिले यसलाई वर्तमान सरकारको स्थिरतामा बल पुगेकोरुपमा लिएका छन भने अर्कोथरिले भारतसंगको सम्बन्धको नाममा गतल सन्धी संझौतालाई यथावत राख्न र भारतीय हेपाहा प्रबृतिलाई बल पुर्याएको ढंगले समेत व्यख्या गर्ने गरेका छन् ।

 

परराष्ट्रमन्त्री राणाले नेपाल र भारतबीच सहकार्यको अर्को क्षेत्रका रुपमा खेलकुद उदाइरहेको उल्लेख गर्दै नेपाली क्रिकेट टोलीका लागि हालै बैंगलोरस्थित नेशनल क्रिकेट एकेडेमीमा व्यवस्था गरिएको प्रशिक्षण कार्यक्रमको पनि सराहना गरेको मन्त्रालयले बताएको छ । यस्तै प्रधानमन्त्री मोदीसँगको भेटमा आपसी हितका विविध क्षेत्रमा भारत–नेपाल सहकार्यलाई थप सुदृढ बनाउने तरिकाबारे छलफल भएको मन्त्रालयले बताएको छ ।