नागरिकको स्वास्थ्यमा ख्याल गरौं

देशको आवाज
२९ साउन २०८१ १६:०१

पछिल्लो समय विश्वमै नसर्ने रोगको वृद्धि भइरहेको छ। यसमध्ये उच्च रक्तचाप विश्वको सुविधा सम्पन्न मुलुक अमेरिकाका ५० प्रतिशत मानिसमा छ। नेपालमा पनि कुल जनसंख्याको २५ प्रतिशत मानिसमा उच्च रक्तचाप देखिएको छ। यसको पहिचान कसरी गर्ने भन्ने विषयमा धुलिखेल अस्पतालले सिन्धुपाल्चोक जिल्लालाई लक्षित गरी तीनबर्से कार्यक्रम सञ्चालन गरेको छ।

अस्पतालले स्थानीय सरकारसँग समन्वय गरी प्रदेश, संघ, विश्व स्वास्थ्य संगठन, दातृ निकायलगायतको सहभागितामा सिन्धुपाल्चोक जिल्लामा उच्च रक्तचाप नियन्त्रण कार्यक्रम र त्यसको अनुसन्धान गत मंगलबारदेखि शुरु गरेको छ। यो कार्यक्रम नमुनाका रुपमा सिन्धुपाल्चोक जिल्लाबाट शुरु गरिएको अस्पतालको ठम्याइछ।

हरेक घरमा गएर रक्तचाप जाँच गर्ने र खानपानमा सुधारसहित चिकित्सकको परामर्शमा उपचार गर्ने वातावरण बनाउने यस कार्यक्रमको लक्ष्य रहेको छ। यसरी हरेक घरमा गएर या समूहमा भेला गरेर रक्तचाप परीक्षण गर्नु र उच्च रक्तचाप भएका व्यक्तिलाई खानपानको ज्ञान दिनुका साथै चिकित्सककोमा सिफारिस गर्नुले बिरामीले समयमै उपचार पाउन सक्ने हुन्छ। त्यसैले यो कार्यक्रमलाई सबैले सराहना गर्नै पर्छ। यस योजनाबाट आएका सिकाइ र भोगाइलाई राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तरमा नै फैलाई स्वस्थ जीवन जिउने कलाको शुरुवात गरिएको धुलिखेल अस्पताल तथा यस योजनाका प्रिन्सिपल डा। अर्चना श्रेष्ठको भनाइ छ।

देशमा २५ प्रतिशत उच्च रक्तचापका बिरामी छन् । राज्यले ९८ वटा औषधि निःशुल्क उपलब्ध गराउने उल्लेख गरिएकोमा उच्च रक्तचापको औषधि पनि पर्छ। यो औषधि चिकित्सकको सिफारिसअनुसार गाउँ–गाउँमा रहेका स्वास्थ्य चौकीहरुले पाउँछन्। स्वास्थ्य चौकीले जाँच गरेर उच्च रक्तचाप देखिएमा औषधि दिन सिफारिसका लागि जिल्ला अस्पतालका चिकित्सककोमा सिफारिस गर्नुपर्छ। जिल्लाका डाक्टरले औषधि दिन शुरु गरेपछि स्वास्थ्य चौकीले सोही औषधि नियमितरुपमा निःशुल्क दिन मिल्ने कानुनी व्यवस्था रहेको छ। तर सरकारले दिने उच्च रक्तचापको औषधि निःशुल्क छ भन्ने आम नागरिकलाई थाहै छैन। औषधि किनेर जीवनभरि खान सकिन्न भन्दै उच्च रक्तचाप भएको थाहा पाए पनि बिरामीले औषधि खान मान्दैनन् र ब्रेन ह्यामरेजलगायतका स्वास्थ्य समस्याको सिकार बन्न बाध्य भएको पाइन्छ ।

यस्ता विषयमा जनचेतना जगाउनुका साथै स्वास्थ्य चौकीदेखि जिल्ला अस्पतालसम्म औषधि पुर्‍याउनुपर्ने दायित्व सरकारको हो । तर तीन तहको सरकारले कार्य विभाजन गर्दा उच्च रक्तचापजस्तो जटिल समस्याको औषधि खरिदलाई थप झन्झटिलो बनाएको छ । औषधि खरिद प्रकक्रिया संघबाटै गरी आवश्यकताअनुसार स्थानीय निकायमा पठाएको खण्डमा बिरामीले समयमै औषधि पाउँछन्।

औषधि खरिदमा स्थानीय तहले सीमित औषधि खरिद गर्न पाउँछ । यता प्रदेश र संघले पनि औषधि खरिद गर्ने प्रक्रिया खर्चिलो र फरक–फरक मूल्य हुने हुँदा सरकारले निःशुल्क भनेका औषधि गाउँ–गाउँमा आवश्यकताअनुसार समयमै पुग्न सकेका छैनन्। पहिला नै रोगको पहिचान गरी आवश्यक औषधि एकद्वार प्रणालीबाट खरिद गर्न सकिने हुँदा नागरिकलाई फाइदा पुग्ने भएर नै धुलिखेल अस्पतालले उच्च रक्तचापको अनुसन्धान गर्न लागेको हो।

रक्तचाप जाँचसहित नागरिकको स्वास्थ्यको बारेमा जानकारी लिई उनीहरुले के खान हुन्छ र के खान हुँदैन भन्ने बारेमा चेतना जगाउनु देशकै लागि ठूलो उपलब्धि साबित हुनेछ । त्यसैले धुलिखेल अस्पताल मात्र नभएर नागरिकप्रति सरोकारवाला निकाय सबैले चासो राखी गम्भीर हुनै पर्छ।