कांग्रेसलाई आस्था र निष्ठाको केन्द्र बनाउने गरी काम गर्नुछ -गगन थापा

देशको आवाज
२० साउन २०८१ १९:४०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने बताएका छन् । आइतबार सानेपामा पार्टीनिकट प्रजातन्त्र सेनानी संघको बैठकलाई सम्बाेधन गर्दै महामन्त्री थापाले पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने प्रतिवद्धता जनाए । पार्टीभित्र भएका गल्ती तथा कमजोरीलाई सच्याएर अग्रज नेता तथा कार्यकर्ताले भरोसा गर्ने ठाउँमा पुर्‍याउने उनको भनाइ थियो ।

पार्टीले गर्ने निर्णयहरूलाई शुद्ध र पवित्र राख्ने पनि बताए । पार्टीभित्रको शुद्धीकरणको विषयलाई पनि आफूहरूले गम्भीरतापूर्वक लिएको थापाले बताए । उनले भने, ‘नेपाली कांग्रेस पार्टी अझ शुद्ध होस् । पार्टीको निर्णयहरूको पक्षमा चोक, चौतारामा मज्जाले वकालत गर्न पाइयोस् । बोल्न पाइयोस् । पार्टीले गर्ने निर्णयहरूको कारणले गर्दा तपाईँहरू कसैको शिर ननिहुरियोस् ।

कहाँ बसेर हामीले एउटा निर्णय गरेका हुन्छौं, त्यो निर्णय गलत भयो भने अथवा गलत व्यक्ति छानियो भनेदेखि गाउँमा बसेको एउटा कांग्रेसले अनावश्यक ढंगले त्यसको उत्तर दिँदै हिँड्नुपर्ने अवस्था आउँछ । कतिपय कुरा परिणाममा पुर्‍याउन नसकिएको होला । तर पार्टीले गर्नेङ कुरा छोडेको छैन । छोड्दैनौं ।’ नेपाली कांग्रेसको कठिन समयमा पार्टी तथा आन्दोलनलाई जोगाउन भूमिका खेल्नुहुने अग्रजहरूलाई सम्मान गर्ने थापाको भनाइ छ ।