राई भाषाहरूको पत्रिका ‘खुवालुङ’को लोकार्पण

देशको आवाज
१८ साउन २०८१ १९:०४

काठमाडौँ । प्रज्ञा–प्रतिष्ठान साहित्य (मातृभाषा )विभागले प्रकाशित गरेको किरात राई जातिमा बोलिने भाषाहरूको पत्रिका ‘खुवालुङ’को लोकार्पण भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले ‘खुवालुङ’को लोकार्पण गर्दै उक्त पत्रिका प्रकाशन प्राज्ञिक र सांस्कृतिक रूपमा उपलब्धि भएको बताए ।

त्यस्तै बेलायतलाई कार्यक्षेत्र बनाउँदै आएका साहित्यकार काङमाङ नरेश राईद्वारा लिखित निबन्धात्मक कृति ‘पानी पतिया’ का बारेमा समालोचक डा.तारालाल श्रेष्ठले कार्यपत्र प्रस्तुत गरे । कुलपति राईले काङमाङ नरेश राईद्वारा लिखित ‘पानिपतिया’ले ‘गोर्खा सैनिक’ले भोग्नुपरेको सामाजिक र सांस्कृतिक विभेदलाई मसिनोसँग केलाएका बताए । युग अनुसार उत्पादन हुने संस्कृतिले समाजलाई कस्तो असर पार्छ भन्नेबारे गम्भीर हुनुपर्ने बताउँदै प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले नेपालमा बोलिने सबै भाषाहरूको संरक्षण गर्ने दायित्व प्रज्ञा–प्रतिष्ठानको भएको बताए ।

प्रतिष्ठानले सबै भाषा र साहित्यको खोजअनुसन्धान गर्दै जाने बताउनदै उनले राईभाषाहरूको साझा पत्रिकाको रूपमा ‘खुवालुङ’ प्रकाशित गरिएको जानकारी दिए । प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा ) विभाग प्रमुख राजन मुकारुङ, प्राज्ञ परिषद् सदस्य तथा सामाजिकशास्त्र विभाग प्रमुख डा.कौशिला रिसाल, डा. तारालाल श्रेष्ठलगायतले उक्त कृतिको समिक्षात्मक प्रसंसा गरेका छन् ।
‘पानीपतिया’का सर्जक काङमाङ नरेश राईले प्रश्नैप्रश्नहरूबिच उभिएर आफूले खोजमूलक कृति प्रकाशन गरेको बताउँदै गोर्खा भर्तीमा गएकाहरूले सामाजिक र सांस्कृतिक रूपमा धेरै अन्याय भोग्न विवश भएको भन्दै बिषयमा इतिहासकार र प्राध्यापक डाक्टरहरूले कलम चलाउनुपर्नेमा जोड दिए । कार्यक्रमको उद्घोषण योगविद् तथा प्रज्ञा–प्रतिष्ठान सामाजिकशास्त्र विभागका सदस्य डा.टिपी धमलाले गर्नुभएको प्रज्ञा–प्रतिष्ठानका प्रज्ञासभा सदस्य चेतनाथ धमलाले जानकारी दिए ।