सम्पदा जोगाउन कसैसंग झुक्दिन : मेयर

सम्पदा क्षेत्र अतिक्रमण गर्ने अख्तियार आयुक्तकै घरमा ललितपुर महानगरको डोजर

देशको आवाज
२० असार २०८१ १६:५५

ललितपुर । सम्पदा क्षेत्र अतिक्रमण गरेर बनाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. सुमित्रा अमात्यको घरको गेट र पर्खालमा ललितपुर महानगरपालिकाले डोजर चलाएको छ । वडा नम्बर १० चाकुपाटस्थित अमात्यको घरको गेटमा डोजर चलाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ वर्षअघि मेयर महर्जनविरुद्ध परेको एउटा उजुरीलाई लिएर जवाफ दिन बोलाएको छ ।
सो विषयले यतिबेला महानगरप्रमुख चिरिबाबु महर्जन चर्चामा छन् ।

महानगरपालिकाले अमात्यको घरको गेट र पर्खाल भत्काएपछि धेरैजसो स्थानयिले यसलाई अख्तियारको ‘बदला’ को रूपमा लिएका छन् । आयुक्तले सम्पदा मिचेर बनाएको पर्खाल भत्काएपछि पुरानो मुद्दामा मेयरलाई अख्तियारको पत्र काटेको स्थानीयले बताएका छन् । २०७८ साल असारमा आएको बाढी पहिरोबाट धापाखेलमा धेरै घरमा क्षति पुगेपछि त्यहाँका बाढीपीडितलाई ललितपुर महानगरपालिकाले राहत उपलब्ध गराएको थियो । बाढीपीडितलाई राहत दिँदा नगर कार्यपालिकाबाट निर्णय नगरी राहत दिएको भनेर परेको बेनामे उजुरीलाई अख्तियारले ३ वर्षपछि एकाएक झिकेर महानगर प्रमुख महर्जनलाई जवाफका लागि बोलाएपछि तरङ्ग सिर्जना भएको छ ।

अमात्यको घरमा राखिएको गेट र पर्खालले सम्पदा क्षेत्रमा असर परेको भन्दै महानगरपालिकामा त्यस क्षेत्रका विभिन्न संस्था तथा स्थानीय व्यक्तिहरूले उजुरी गरेका थिए । त्यसपछि घरधनी अमात्य परिवारसँग मेयर महर्जनले पटक पटक छलफल गरेपनि नटेरेपश्चता डोजल लगाउनु बाध्य भएको महानगले जनाएको छ । उनीहरूलाई आफै पर्खाल हटाउन आग्रह गर्दा अवज्ञा गरेपछि प्रक्रियागत रूपमा गेट भत्काएको मेयर चिरीबाबु महर्जनले बताए । ३ वर्षअघि कसैले अख्तियारमा दिएको बेनामे सामान्य उजुरीलाई एका–एक निकालेको देखेर आफू चकित परेको महर्जनको भनाई छ । सम्पदा क्षेत्रको मध्यभागबाट घरमा मोटर जाने बाटो खोल्न लागेको र नक्सा पासविपरीत घरको गेट राखेपछि घरधनी अमात्य परिवारसँग पटक–पटक छलफल गरेर हटाउन भन्दा पनि नहटाएपछि बुधबार महानगरपालिकाले हटाएको मेयर महर्जनले बताए ।

मेयर महर्जनले भने– ‘दक्षिणतर्फको गेट बन्द गरेर तपाईंले पूर्व वा पश्चिमतर्फ गेट राख्ने व्यवस्थापन गर्नुस् भनेर मैले उहाँलाई भनेको थिएँ तर उहाँले यो कुरा मान्नुभएन । म कहाँ निरन्तर रूपमा गुठियारहरूको दबाब रहिरह्यो । हिजो महानगरपालिकाको प्रहरी र म स्वयं उपस्थित भएर उहाँको दक्षिणतर्फको गेट भत्काइदिएको हो ।’ उनले २०७८ सालमा आएको बाढी पहिरोका कारण घरबारविहीन भएका धापाखेलका नगरवासीलाई विविध कोषबाट नियमसंगत रूपमा बैंकिङ प्रणालीबाट राहत दिएका थिए । उक्त विषयमा कसैले बेनामे उजुरी दिएको ३ वर्षपछि अहिले अख्तियारबाट पत्र पठाएको कुरा अचम्म लाग्दो विषय भएको भन्दै मेयर महर्जनले सम्पदा क्षेत्र जोगाउनका लागि आफू कुनै शक्तिसँग नझुक्ने बताउ ।