सतर्क रहन अनुरोध

असार दोस्रो हप्ताको चार दिनमै विपदबाट ३० जनाको मृत्यु, करोडौंको क्षति

देशको आवाज
१७ असार २०८१ १०:१३

काठमाडौं । असारको दोस्रो हप्ताको चार दिनमै प्राकृतिक विपदबाट ३० जनाको ज्यान गएको छ । असार ११ गते रातिदेखि सक्रिय भएको मनसुनका कारण देशका विभिन्न ठाउँमा बाढी तथा पहिरोले जनधनको व्यापक क्षति भएको हो । अविरल वर्षापछि आएको पहिरोले गुल्मी, बागलुङ र कास्कीमा शनिबार ९ जनाको मृत्यु भएको छ । निरन्तरको वर्षाका कारण पहिरोले घर पुरिँदा गुल्मी स्थित मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा एकै घरका पाँच जनाको मृत्युभएको छ ।

स्थानीय भेषबहादुर विकको घर पुरिदा भेष बहादुर विक, उनकी श्रीमती सुन्तली विक, बुहारी सिता बिक, नातिनी सपना विक र बिपना विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी शंकर पोखरेलले जानकारी दिए । त्यस्तै बागलुङमा गएराति गएको पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् । गलकोट नगरपालिका–८ काँडेबाँस बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीय वसन्ती विकको पहिरोमा पुरिएर मृत्यु भएको छ । प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएको जिल्ला प्रहरीले जनाएको छ ।

शनिबार बिहान परेको पानीपछि गएको पहिरोले स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नम्बर ५ बाँगे स्थित दुर्गा जिटीको घर पहिरोले बगाउँदा आमा छोरी पुरिएर मृत्यु भएको छ । घरमा सुतिरहेकी ३१ वर्षीय दुर्गा जिटी र उनकी ३ वर्षीय छोरी निकिसा जिटीको मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ । मनसुन सक्रिय भएसँगै देशका विभिन्न नदीहरूमा बाढीको जोखिम समेत बढेको छ । बाढी पूर्वानुमान महाशाखाले एक बुलेटिन जारी गर्दै सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ ।

महाशाखाका अनुसार शनिबार देखि आईतबार कालिगण्डकी, सेती र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्ने र नारायणी नदीका अन्य सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ । गत मंगलबार राति र बुधबार बाढीपहिरो र चट्याङले २१ को मृत्यु भएको थियो । बाढीपहिरोमा परी मंगलबार र बुधबार लमजुङमा ५, मोरङमा ३, कास्कीमा २, ओखलढुंगा र झापामा १–१ जनाको मृत्यु भएको थियो ।

मोरङमा खोलामा बगेर दुई जना बेपत्ता भएका थिए भने विभिन्न जिल्लामा बाढीपहिरोबाट दुई दर्जनबढी घाइते भएका गृहमन्त्रालयले जनाएको छ । त्यस्तै चट्याङ लागेर झापा, रोल्पा, कपिलवस्तु र कैलालीमा २–२ तथा सुनसरीमा १ गरी ९ जनाको ज्यान गएको थियो भने कैलालीमा ६, मकवानपुर, लमजुङ, दैलेख र तनहुँमा २–२ तथा सुनसरीमा एक घाइते भएको मन्त्रालय श्रोतले जनाएको छ ।

प्राकृतिक विपदको खतरालाई ध्याननमा राखेर विपद पूर्वतयारी अन्तर्गत आवश्यक जनशक्ति र सामग्रीहरु तयारी अवस्थामा राख्न सबै संयन्त्रलाई निर्देशनसहित तयारी गरिएको साथै विपद राहत कोषको समेत व्यवस्था गिरएको मन्त्रालयका सुचना अधिकारी एकदेव अधिकारीले बताए । सम्भावित जोखिमयुक्त स्थानमा बसोवास गर्नेलाई स्थानान्तरणको कामलाई संगै लगेको जनाउदै उहाँले आम नागरिकलाई सतर्क रहन र विपद आईपरेको खण्डमा आवश्यक सहयोग आदान प्रदान समेत अधिकारीले अनुरोध अनुरोध गरेका छन् ।