देउवा-ओलीबीच शनिबार भएको तीन घण्टा लामो छलफलको विषय के हो ?

देशको आवाज
१६ असार २०८१ १९:४३

काठमाडौं । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोटमा कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटबार्तालाई लिएर राजनीतिक बृत्तमा तरैग उत्पन्न भएको छ । सत्ताको नेतृत्व गरेको नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस विषयमा चासो राख्दै आइतबार ओलीसँग भेट गरेका छन् । तर एमालेले भने यसलाई नियमित भेटघाटको रुप दिएको छ ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीबिच भएको छलफल नियमित भएको जिकिर गरे । शनिबार देउवा र ओलीबिच ओली निवास बालकोटमा भएको तीन घण्टा लामो छलफललाई लिएर विभिन्न आशंका भइरहेको बेला उनले नियमित भेट भएको जिकिर गरेका हुन् । देउवा र ओलीबिचको भेटवार्ताले सत्ता गठबन्धनलाई कुनै समस्या नपार्ने उनले स्पष्ट पारे ।

‘यो एक खालको नियमित भेट जस्तै हो । केन्द्रीय समितिको बैठकबाट नै भनेका थियौँ कि जुन ढंगबाट हाम्राविरुद्ध त्यतिबेलाको सत्ता गठबन्धनले निषेधको वातावरण लियो । हामीले त्यस्तो गर्दैनौँ । प्रमुख राष्ट्रिय मुद्दाहरू संविधान कार्यान्वयन, राष्ट्रिय हितका प्रश्न, सङ्क्रमणकालीन न्याय, मुलुकको आर्थिक विकास जस्ता प्रश्नहरूमा प्रतिपक्षसँग पनि संवाद गर्छौँ भनेका थियौँ’,देउवासँग भेटबारे प्रष्ट पार्दै ज्ञवालीले भने, ‘प्रधानमन्त्रीले त संवाद गरिनै रहनुभएको थियो । हाम्रो पनि दायित्व थियो, गर्‍यौँ । यसलाई सत्ता समीकरणसँग जोड्ने केही कारण छैन । तर केही कुरामा कांग्रेसलाई पनि साथै लिएर हिँड्नु पर्ने आवश्यक छ । त्यही विषयमा कुराकानी भयो ।’ देउवासँगको संवादबारे जानकारी दिन आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसहित नेताहरूसँग छलफल भएको उनले बताए ।

‘कांग्रेससँग भएको विषयमा जानकारी गराउन आज प्रधानमन्त्रीसहित रवि लामिछानेसँग छलफल भएको हो । सामान्य र नियमित विषय भएकाले संवाद निरन्तर भइरहन्छ । पहिला कांग्रेसले नै हो संवादको ढोका बन्द गरेको अहिले भेट्न चाहँदा संवाद हुनु स्वाभाविक कुरा हो । प्रमुख राजनीतिक पार्टीका बिचमा छलफल भइरहनुपर्छ । यो संवादले सत्ता गठबन्धनलाई तलमाथि पार्दैन । त्यो उद्देश्यले छलफल गरेको पनि होइन’, उनले भने ।