नेकपा एसको दशौं महाधिवेशन एमालेलाई ‘नो मतलव’

देशको आवाज
१६ असार २०८१ १९:२५

काठमाडौं । आइतबारबाट शुरु भएको सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) को दसौं राष्ट्रिय महाधिवेशनमा सत्ता सहयात्री दल एमाले बाहेक सबै दलका शीर्ष नेताहरु सहभागी भए । आइतबार कमलादीस्थित प्रज्ञा भवनमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले महाधिवेशनको उद्घाटन गरेको महाधिवेशनमा एमालेले भने मतलबै राखेन ।

महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उपस्तिति रहेको थियो । त्यस्तै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जसपा, नेपालबाट विभाजित भएर बनेको जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत क्रियाशील राजनीतिक दलका नेता उपस्थित भए ।

महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा शान्ति स्थापना गर्न र संविधान निर्माणमा माधव नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । बुधबार सम्मकालागि तय भएको नेकपा एसको महाधिवेशन उद्घाटन समारोहमा सत्ता सहयात्री दल नेकपा एमाले नगएपछि केही राजनीतिक चर्चा पनि भए । ‘एमालेलाई पनि निम्तो पठाएको थियो तर एमाले हाम्रो महाधिवेशनमा सहभागी भएन’, पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले भने । एमालेले एकीकृत समाजवादीलाई दलको मान्यता दिनै अस्वीकार गर्दै आएको छ । तीन वर्षअघि षड्यन्त्रमूलक ढंगले विभाजन गरिएको उसको तर्क छ । यद्यपि नेकपा (एमाले) को चियापानमा भने एकीकृत समाजवादीलाई निम्तो गरेको थियो । एमालेको कुनै कार्यक्रममा पनि नेकपा एसका अध्यक्ष नेपाल पनि सहभागी भएका थिएनन् ।

महाधिवेशन उद्घाटनमा एमाले नआएपछि अध्यक्ष नेपालले पार्टी विभाजनको घाउ आलै भएको त्यसको असर बाँकी भएको हुन सक्ने बताए । ‘भर्खर तीन वर्षको घाउ, अझै पनि आलो छ, त्यसैको असर बाँकी होला, राजनीतिमा यस्ता कुरा पचाएर जान सक्नुपर्छ’, नेपालले भने–‘मैले आफैले दसौंपटक फोन गरेको छु । फोन नलागेपछि पिएहरूलाई पनि लगातार फोन गरेको छु, एउटा पिएले भएन, अर्को पिएलाई गरेको छु । म्यासेज पठाइदिएको छु डिटेलमा । म्यासेज पाएको सूचना पनि भएको छ,’ तर उहाँहरु किन आउनुभएन ?’ एमाले नआउदैमा नेकपा एकीकृत समाजवादीलाई केही फरक नपर्ने उनको भनाई छ ।

२०७८ भदौ २ गते एमालेबाट फुटेर माधव नेपालको नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी) को पहिलो महाधिवेशन हुनु पर्नेएमा पार्टीको महाधिवेशन प्रतिनिधिहरु एमालेबाटै आएर नेकपा एस बनाएकाले सोही प्रतिधिनिहरुको भेलाबाट नेतृत्व चयन हुने हुँदा दशौं महाधिवेशन भनिएको नेताहरुले दाबी गरेका छन् । महाधिवेशनमा सहभागी शीर्ष वाम नेताहरुले शुभकामना दिदै एउटै कम्युनिष्ट बनाउने योजना दोहोर्याएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको प्रयास भइरहेको दाबी गरे । उनले एउटै मोर्चामा बसेर अहिले पनि काम गरिरहेको जिकीर गर्दै पार्टीको महाधिवेशनबाट एकताको ठोस प्रस्ताव पारित गर्न आग्रह समेत गरे ।

‘एकीकृत समाजवादी र माओवादीबीच एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास गरेका छौं,’ प्रधानमन्त्री दाहालले भने–‘यस महाधिवशेनमा ठोस निर्णय गरोस् । जनताका आवश्यकतालाई सम्बोधन गरियोस् । कम्युनिस्ट आन्दोलनको एकताको पक्षमा निर्णय गर्नुहुन्छ भन्नेमा शुभकामना दिन चाहन्छु ।’ पार्टी एकताको विषयले भाषणमा प्राथमिकता पाएपनि व्यवहारिक तवरबाट एउटै कम्युनिष्टको परिकल्पना निकै अप्ठ्यारो रहेको कम्युनिष्ट नेताहरुले बताएका छन् ।