६६ औँ संसद् दिवस

संसदलाई कामयापी बनाउन सांसदको भुमिका प्रभावकारी हुनुपर्नेमा जोड

देशको आवाज
१६ असार २०८१ १९:१३

काठमाडौं ।  संसदलाई कामयापी बनाउन सांसदको भुमिका प्रभावकारी हुनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । संसद्को कामलाई प्रभावकारी बनाउन नसक्नु र गरिमा गिर्नुमा सांसदहरुको भूमिका माथि प्रश्न उठाउँदै वर्तमान र पूर्वसभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष उपाध्यक्षले स.सदको कामलाई प्रभावकारी तुल्याउन सांसदहरुले नै सक्रियता देखाउनुपर्ने बताएका हुन् । आइतबार ६६ औँ संसद् दिवसको अवसरमा आयोजित कार्यक्रममा संसद्लाई प्रभावकारी बनाउन नसक्नुको मुल कारण संसदको भूमिका कमजोर रहेको उनिहरुले निष्कर्ष निकाले ।

सांसदको गतिविधिप्रति प्रश्न उठाउदै पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसदमा विचार, सिद्धान्त र नीतिमा छलफल केन्द्रित नभइ प्रतिक्रियामा उत्रिएको आरोप लगाए । संसदमा भएका प्रतिक्रियात्मक टिप्पणीकै कारण अराजकताका समस्याहरु देखा परिरहेको भन्दै सापकोटाले वैचारिक रिक्तता देखा परेको उल्लेख गरे । संसदमाको गरिमा बढाउन सबै सांसदहरुले जिम्मेवारी वहन गर्नुपर्ने उनको सुझाव छ ।

सभामुख देवाराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक र जनतामा केन्द्रित गर्नुपर्ने बताए । कानुन निर्माण प्रक्रियामा सुधार तथा जनप्रतिनिधिको क्रियाशीलताले संसद् र संसदीय प्रक्रियामा देखिएका कमजोरीलाई सुधार गर्न सकिने उनको विश्वास छ । कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुंगानाले प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिक सांसदहरूलाई एउटै संसदमा राखेर संसद् प्रभावकारी बन्न नसक्ने जिकीर गरे । समावेशिता वर्तमान संविधानको सबैभन्दा राम्रो पक्ष भएको बताउँदै उनले समावेशिता कहाँ राख्ने भन्नेकुराको यकिन हुन आवश्यक रहेको बताए । प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा बराबर समावेशी सदस्यहरू भएको संसद् बराबर हुनै नसक्ने ढुंगानाको दाबी छ । ‘संसदको प्रभावकारिता बढाउन महिलाहरूको लागि छुट्टै, जनजाति, मधेसी, थारुहरूका छुट्टै प्रत्यक्ष निर्वाचन स्थल बनाउन जरुरी छ’, उनले भने ।

उपसभामुख इन्दिरा रानाले संसद् बैठकमा सांसदहरू निदाउने गरेको भन्दै आलोचना गरिन । संसद् बैठकका बेला सांसदहरू घुर्दै निदाउने गरेको उनको दाबी छ । संसद्मा फोटो खिच्न आफूले नपाउने भए पनि संसद् दिवसको अवसरमा आयोजित कार्यक्रममा पनि सांसदहरू निदाएको भन्दै फोटो र भिडियो खिचेर राखेको रानाले बताइन् । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद् ऐन, कानुन बनाउनुपर्ने भूमिकामा चुक्दै गएको टिप्पणी गरे । नागरिकको प्रतिनिधिको थलो संसद् भए पनि संसद् नागरिकका ऐन, कानुन बनाउनतर्फ अहिले कतै न कतै चुकेको दाहालको जिकिर छ ।

सांसदहरूले निर्माण गर्ने ऐन, कानुनले नै देश कता जान्छ भन्ने कुराको निर्धारण हुने भन्दै सांसदहरू ऐन निर्माणमा बढी केन्द्रित हुनुपर्नेमा उनको जोड छ । अध्यक्ष दाहालले संसद्लाई प्रभावकारी बनाउने सांसदहरूको भूमिका भनेको नेपाली नागरिकसँग गरेका वाचा, अहिलेको नेपालको वर्तमान राजनीतिक परिस्थिति, भविष्यको नेपालको सिङ्गो अर्थतन्त्रलाई कसरी अघि बढाउने र नेपाली जनताको जनजीविकाको सवालमा गम्भीर हुनुपर्ने बताए । त्यस्तै राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले सत्ताको खेलले गर्दा संसद प्रभावकारी हुन नसकेको टिप्पणी गरिन । ‘संसद्मा नीति निर्माण भन्दा सत्ताका लागि बढी केन्द्रित हुने कुराले संसदीय गतिविधि प्रभावकारी हुन सकेको अवस्था छैन्’, उनले भनिन