कांग्रेसलाई  कमजाेर बनाएर लाेकतन्त्र समाप्त गर्न अतिवादी शक्तिहरु सक्रिय छन् – डा शेखर काेईराला 

देशको आवाज
३२ जेठ २०८१ २०:०१

जनकपुर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई  कमजाेर बनाएर लाेकतन्त्र समाप्त गर्न अतिवादी शक्तिहरु सक्रिय  भएकाे बताएका छन् ।  कांग्रेसमाथी चौतर्फी आक्रमण हुन थालेकाले बिभिन्न समयमा पार्टी छाडेर अन्यत्र गएकाहरुलाई कांग्रेसमा फर्कन डा काेईरालाले आग्रह गरे।

कोइराला पार्टीमा निष्क्रिय भएर बसेका नेताहरूलाई समेत सक्रिय हुन आग्रह गर्दै उनले भने-`कांग्रेसलाई कमजोर पारे मात्रै लोकतन्त्र समाप्त गर्न सकिन्छ भन्ने सोचबाट केही अतिवादी शक्तिहरु सक्रिय भएका छन ।´ कांग्रेस जटिल मोडमा पुगेको उनले बताए । राष्ट्रियता र लोकतन्त्र बचाउँन कांग्रेस मात्रै सक्षम भएको भन्दै उनले  बलियो कांग्रेसको आवश्यकता रहेको बताए ।

कोइराला भने – “यतिबेला कांग्रेसको घर कमजोर भएको छ । पार्टी छाड्नुभएका तपाईं साथीहरूको आवश्यकता पर्यो।” जे कारणले पार्टी छाडेको भए पनि अब सबै तिक्तता बिर्सेर पार्टीमा फर्कन कोइरालाले सबैलाई आग्रह गरे ।

“हिजो पार्टी सञ्चालन गर्दा नेताहरूबाट पनि गल्ती भएको हुन सक्छ, सबैले आ-आफ्नो कमि कमजोरी स्विकार्दै पार्टी बलियो बनाउन लागौं”- कोइरालाले भने । नेपाली कांग्रेस धनुषाले जनकपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै कोइरालाले गुटबन्दीले पार्टी थिलथिलो बनेको बताए । गुटबन्दीकै कारण योग्य र ईमान्दार मानिसहरु पछाडि पर्दै गएको उनले बताए ।