सुर्तीजन्य पदार्थले बालबालिकामा गम्भिर असर

संगीत जोशी
२५ जेठ २०८१ २२:१८

काठमाडौं । काठमाडौं महानगर पालिकाले केही दिन पहिले आफू मातहतका विभिन्न वडाहरुमा रहेका सामुदायिक विद्यालयका विद्यार्थी र शिक्षकहरुका लागि सुर्तीजन्य पदार्थ विरुद्घ जनचेतनामूलक कार्यक्रम आयोजना गर्यो । एक दिन मेरो स्कुलको विदाको दिन परेकाले मेरो घर नजिकै रहेको सार्वजनिक स्कुलमा आयोजना भएको सचेतनामूलक कार्यक्रममा मैले पनि सहभागी हुने मौका पाए ।

सुर्तीजन्य पदार्थ विरुद्घको सचेतना अभियानका प्रशिक्षकमध्ये एक जना क्यान्सर रोग विज्ञ डाक्टर साव पनि हुनुहुन्थ्यो । स्कुलको सभा हलमा खचाखच भरिएका विद्यार्थी र शिक्षकहरुलाई डाक्टरसावले प्रश्न सोध्नु भयो, तपाईहरु मध्ये कति जनाको घरमा आमाबुबा चुरोट पिउनु हुन्छ ? हात उठाउनुहोस त ? हलमा सहभागी मध्ये ५० प्रतिसत जति अर्थात ५० जना जति विद्यार्थीले हात उठाए । हात उठाएको अर्थ हो ५० प्रतिसत विद्यार्थीको घरमा उनीहरुका आमाबुबाले चुरोट वा खैनी सेवन गर्नु हुदो रहेछ । त्यसपछि डाक्टर सापले सोध्नु भयो, ‘आमा र बुबा दुबै जना सुर्तीजन्य पदार्थ सेवन गर्ने कतिको घरमा हुनुहुन्छ ? पहिले हात उठाएका मध्ये आधा जति ले फेरि हात उठाए ।

कोही कोही हात उठाउन लजाए । मलाई अचम्म लाग्यो । हलमा सहभागी करिव १०० जना मध्ये करिव २५ प्रतिसत विद्यार्थीहरुको घरमा त आमा र बुबा दुबै जना सुर्तीजन्य पदार्थ सेवन गर्नु हुदो रहेछ । त्यो पनि दिनमा एक बट्टा । केही साथीहरुको घरमा बुबाले चुरोट वा सुर्ती सेवन गर्ने गरेका हुन्छन भन्ने मलाई थाहा थियो । तर मैले आमा र बुबा दुबै अम्मली भएको पहिलो पटक सुनेको थिए त्यो पनि म जस्तै साथीहरुको मुखबाट । मलाई कस्तो नरमाइलो लाग्यो । मेरो घरमा सुर्ती सेवन गर्ने कोही छैनन् । छिमेकीमा पनि छैनन् । कहिले काही गाउँबाट आउने टाढाटाढाका नातेदार भने चुरोट पिएर आउनु हुन्छ ।

चुरोटको गन्धबाट मैले गाउँबाट आउनु भएको होला भन्ने सिधै अनुमान लगाउन सक्छु । हाम्रो परिवारमा कसैले पनि चुरोट सेवन नगर्ने भएकाले चुरोट पिउने बानी भएका नातेदार समेत सतर्क भएर घरमा आउनु हुन्छ । चुरोट सेवन गर्नै पर्ने भए पनि घर बाहिर गएर पिएर घरभित्र पस्नु हुन्छ । यसरी हाम्रो घर परिवार सुुर्तीजन्य पदार्थ रहित तरिकाले चलिरहेको छ । त्यसैले पनि होला मलाई घरमा आमा र बुबा दुबै जना चुरोट पिउने भएपछि ती साथीहरुको घरको वातावरण कस्तो होला ? तिनीहरुले आफ्ना आमाबुबालाई चुरोट सेवन गर्न बन्द गराउन किन सक्दैनन होलान ? जस्ता प्रश्नहरु मेरो मनमा खेलिरहे ।

म सचेतना कार्यक्रममा ध्यान दिएर क्यान्सर रोग विज्ञ र अन्य दुई जना प्रशिक्षकको प्रशिक्षण सुनिरहे । प्रशिक्षकहरुले सुर्ती सेवनका हानीका बिषयमा धेरै कुरा सिकाउनु भयो । फोक्सोको क्यान्सरको प्रमुख कारक तत्व सुुर्तीजन्य पदार्थ भएको, स्वासप्रस्वास सम्बन्धी रोगको कारक पनि सुर्तीजन्य पदार्थ भएको, दम, मधुमेह, हृदयघाट लगायतका अधिकांश रोगको कारक सुर्तीजन्य पदार्थ भएको कुरा बारम्बार डाक्टरसापले स्मरण गराउनु भयो । अनि कार्यक्रममा पालो आयो अन्तरक्रियाको । प्रशिक्षकहरुले सुर्तीजन्य पदार्थ नियन्त्रणमा विद्यार्थीको भूमिकाका बिषयमा छलफल गर्नु भयो । सार्वजनिक स्लमा सुर्तीजन्य पदार्थ निषेध गरिएको कुरा स्मरण गराउनु भयो । घरमा आमा बुबा दुबै जना चुरोट सेवन गर्नु हुन्छ भने कसरी छुटाउन सकिन्छ ? भन्ने बिषयमा व्यापक छलफल भयो । कसैले चुरोट खान नछोडे उहाँहरुले भनेको काम नै नगर्ने भन्ने जवाफ दिए त कसैले चुरोटको लत नछोडे होम वर्क नै नगर्ने वा पढाई नै छोड्ने धम्की दिने सम्मका विचार राखे ।

कसैले बारम्बार चुरोटको हानीका विषयमा वाक्क दिक्क हुने गरि आमाबुबालाई सचेत गर्ने बताए । केहीले जति गरे नि छोड्नु हुन्न भन्दै निरासा समेत व्यक्त गरे । कार्यक्रम जे भए पनि फलदायी नै भयो । मैले यो कार्यक्रमबाट धेरै कुरा सिक्ने मौका पाए । प्रशिक्षकहरुले स्वस्थ्य समाज निमार्ण गर्न र सुर्तीजन्य पदार्थ विहीन समाज बनाउन विद्यार्थीहरुको भूमिका महत्वपूर्ण रहेका बताउनु भयो । डाक्टर सावले भन्नु भयो, सुर्तीजन्य पदार्थ सेवन स्वास्थ्यका लागि मात्र नभएर आर्थिक, समाजिक र शारिरीक दृष्टिले पनि हानीकारक छ ।

त्यसैले यसको सेवनबाट टाढै रहनु पर्छ । यो कुरा तपाई हामी सबैलाई जानकारी छ । त्यो जानकारीलाई हामी सूचना भन्छौ । सूचना वा जानकारी जवसम्म हामी आफ्नो दैनिक जिवनमा अथवा व्यवहारमा प्रयोग गर्दैनौ तब सम्म त्यो जानकारी जानकारीमा मात्र सिमित हुन्छ । त्यो जानकारीलाई व्यवहारमा प्रयोग गर्न सके मात्र त्यो वास्तविक रुपमा सचेतना हो । हामीले सुर्तीजन्य पदार्थका बिषयमा सचेतना अपनाउनु पर्ने डाक्टरसावले भन्नुभयो । त्यो दिनको कार्यक्रम सकियो । घर फर्कनु बेला बाटोमा पनि सोचिरहे, घरमा आमा र बुबा दुबै जना सुर्तीजन्य पदार्थ सेवन गर्ने साथीहरुको घरको वातावरण कस्तो होला ? आमाबुबाले नै चुरोट पिएपछि उनीहरुले पनि त सिक्छन होला चुरोट पिउन ।

आखिर घरबाटै त हो हामीले धेरै कुरा सिक्ने । नभन्दै दुई हप्तापछि स्कुलबाट फर्किरहेको बेला दुई जना फुच्चेहरु सडकको छेउतिर गएर लुकीलुकी चुरोट पिइरहेको देखे । मलाई ठ्याक्कै त्यो सचेतनामूलक कार्यक्रमको याद आयो । कतै त्यही कार्यक्रममा सहभागी भएका त्यही स्कुलका साथीहरु त होइनन ? मेरो मनमा अनायासै शंका उत्पन्न भयो । साझको समय थियो । मैले को रहेछन सोध्छु भन्दै आट गरे । म १३ वर्षको भए । उमेरले पनि उनीहरु मभन्दा सानै थिए । मैले सोधे, तिमी कुन स्कुल पढ्छौ ? किनकी उनीहरु स्कुलको पोसाकमै थिए । उनीहरुले मलाई आँखा तरेर झै गरेर स्कुलको नाम भने अनि अगाडि गए । स्कुलको नाम त्यही थियो, जहाँ दुई हप्ता अगाडि सुर्तीजन्य पदार्थ सम्बन्धी सचेतना कार्यक्रम आयोजना भएको थियो ।

त्यो सचेतना कार्यक्रममा उनीहरु सहभागी थिए वा थिएनन् थाहा भएन । उनीहरु भागी सकेकाले सोध्न पाएन । तर मलाई लाग्यो, कठै घरमा आमाबुबा सुर्तीजन्य पदार्थ सेवन गर्ने छन भने उहाँहरुका छोराछोरीले पनि सिक्ने त त्यही हुन । आमा बुबाले गर्ने हरेक कामको प्रभाव छोराछोरीमा पर्ने रहेछ । सुर्तीसेवन नगर्ने आमाबुबा पाउनु पनि भाग्यकै कुरा रहेछ । त्यसैले मेरो बिन्ती छ, कुनै पनि आमाबुबाले आफ्नो स्वास्थ्यका लागि मात्र नभएर आफ्नो भावी सन्ततिका लागि समेत सुर्तीपदार्थ सेवन नगरौ । (जोशी, कक्षा ९ का विद्यार्थी हुन )