पूर्व मन्त्री जबेगुलाई अभिनन्दन, पत्रकार बाँस्कोटासहित सात जना सम्मानित

देशको आवाज
१९ जेठ २०८१ १८:४१

फिदिम । ‘दोस्रो फालेलुङ साहित्यिक एवम् सांस्कृतिक महोत्सव २०८१’ को अवसरमा कोशी प्रदेशका पूर्व मन्त्री कमल जबेगुलाई अभिनन्दन गरिएको छ । राजनीतिको माध्यमबाट ठूलो योगदान गरेको ठहर गर्दै फालेलुङ गाँउपालिकामा थठित वाङ्मय प्रतिष्ठानले जबेगुलाई अभिनन्दन गरेको हो ।

महोत्सवको अवसरमा अन्नपूर्ण पोस्ट्का पाँचथर संवाददाता भिमकुमार बाँस्कोटासहित बिभिन्न क्षेत्रमा योगदान गरेका सात जना व्यक्तित्वलाई सम्मान गरिएको छ । पत्रकारिताको माध्यमबाट भाषा, साहित्य र संस्कृतिमा योगदान गरेकोमा बाँस्कोटालाई सम्मान गरिएको हो । त्यस्तै संगीत तथा गायनतर्फ लिला प्रकाश जबेगु, भाषा सहित्यतर्फ ज्ञान बहादुर राई, हिमाल आरोहणतर्फ सगरमाथा आरोही उदय केरुङ र किशोर जबेगु, शिक्षातर्फ कर्ण बहादुर राई र सन्तवीर खपाङ्गीलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि फालेलुङ गाँउपालिकाका अध्यक्ष बिरबिक्रम थाम्सुहाङले अभिनन्दित र सम्मानितहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् । वाङ्मय प्रतिष्ठानका अध्यक्ष सुरेन शिशिर केरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिभिन्न किसिमका जातीय झाँकीहरुको समेत प्रस्तुति थियो । उक्त अवसरमा साहित्यकारहरुले साहित्यवाचन समेत गरेका छन् ।

महोत्सवमा स्थानीय र राष्ट्रिय कलाकारहरुले सांगीतिक प्रस्तुति दिएका थिए । महोत्सवको दोस्रो दिन ‘रैथाने अर्थतन्त्र र पर्यावरण’ बिषयमा समूह छलफल सेमत भएको थियो । उक्त छलफलको सहजिकरण राज दिलाञ्जलीले गरेका थिए भने साहित्यकार धर्मेन्द्र नेम्बाङ र मधुराज केरुङ बक्ताको रुपमा थिए । दुई दिनसम्म सञ्चालन भएको महोत्सव फालेलुङ गाँउपालिका ३ नाम्लुवास्थित प्रेमवादी सामूदायिक भवनमा आयोजना गरिएको हो ।