चीनसँग सीमा जोडिएका १८ मध्य १४ नाका खुला

देशको आवाज
१९ जेठ २०८१ १२:१४

काठमाडौँ । चीनसँग सीमा जोडिएका १८ मध्य पारम्परिक १४ वटा व्यापारिक नाका खुला भएका छन् । जेठ १२ गतेदेखि औपचारिक रूपमा १४ वटै नाका खुला भएको घोषणा गरे पनि त्यसमध्ये हाललाई सात वटा नाकामात्र सञ्चालनमा आएका छन् । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ सङ्खुवासभाको किमाथांकाको नाका हुँदै तिब्बत पुगेपछ चीनसँगको नाका सुचारु भएको घोषणा गरिएको हो । नौ दिनको भ्रमण गरी गत चैत १९ गते नेपाल फर्केका परराष्ट्रमन्त्री श्रेष्ठले आफ्नो भ्रमणका क्रममा बन्द रहेका नाकाहरू खुलाउने सहमति गरेका थिए ।

उनी फर्केकै दिन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै विभिन्न १४ वटा नाका खुल्ने जानकारी दिएका थिए । चीनसँग जोडिएका १४ वटा जिल्लाका १८ वटा नाका छन्, जो विभिन्न कारणले २०७६ सालदेखि बन्द थिए ।

चीन र नेपालका १८ सीमा नाका

नेपाल–चीनबिच १८ नाकामा ताप्लेजुङको टिपताला–कायर विङचुङ, सङ्खुवासभाको किमाथांका–लेङदुप च्याङ्गा, सोलुखुम्बुको नाङ्पाला–यलङप, दोलखाको लाप्ची–राम्डिङ, सिन्धुपाल्चोकको तातोपानी–खासा नाका छन् । त्यस्तै, रसुवाको रसुवागढी–केरुङ, गोरखाको लार्के, समागाउँ–रुइला, छेकम्पार–दुइला, मनाङको च्याखु–रिगातोङवा, मुस्ताङको कोरला–न्हेचुङ लिजी, डोल्पाको मरिम भज्यांङ–मायुङ भञ्ज्याङ नाका छन् ।

मुगुको नाक्चेनाङ–ह्याजिमार, हुम्लाको यारी हिल्सा–शियरबा, लाप्चे भञ्ज्याङ–लाप्चश्या, बझाङको उराई–विलिङ, ठाडोढुङ्गा–भञ्ज्याङ र दार्चुलाको टिङ्कर भञ्ज्याङ–तोलाङ ताक्लाकोट नाका छन् । सीमविज्ञ बुद्धिनारायण श्रेष्ठका अनुसार नेपाल–चीनबिच १८ नाकामध्ये धेरैजसो नेपालतर्फ अव्यवस्थित छन् ।
टिपताला नाका नेपालतर्फ व्यवस्थित छैन तर चीनतिर कयर बिड्चुङमा सुविधा सम्पन्न भन्सार कार्यालय छन् । नेपालतिर टिपतालाभन्दा २४ किलोमिटर तल ओलाङचुमा भन्सार कार्यालय छ ।

नेपालतिरको कार्यालयमा कर्मचारी बस्न मान्दैनन्, कहिलेकाहीँ कर्मचारी नै हुँदैनन् । त्यसले गर्दा काम प्रभावित भएको समाचारहरू आइरहेका हुन्छन् । तर चीनतिर अत्याधुनिक कार्यालय भवनका साथै प्रवेशद्वारहरू स्वचालित छन् ।किमाथाङ्कामा पनि नेपालतर्फ भन्सार कार्यालय र अन्य पूर्वाधार छैन । दुवैतिर स्थानीय बजारमात्र छन् । जेठ १२ गते नाकाहरू खुलाउन परराष्ट्रमन्त्री श्रेष्ठ किमाथाङ्का पुगेको बेला त्यहाँ पत्रकार सम्मेलनसमेत गर्न नसकी सङ्खुवासभाको सदरमुकाममा पुगेर पत्रकार सम्मेलन गरेका थिए ।

दोलखाको नेपाल–चीन नाका लाप्ची–राम्डिङमा पनि नेपालको भन्सार कार्यालय तथा अन्य पूर्वाधार छैनन् तर त्यहाँको स्थानीय बजार पूरै सुचारु छन् ।

नेपालको तर्फबाट चौरीको घिउलगायतका वस्तु लगेर पारी राम्डिङमा बेच्छन् र त्यताबाट लुगा, नुनलगायत अन्य खाद्य सामग्री खरिद गरेर ल्याउने गरेको सीमाविज्ञ श्रेष्ठले बताए । उनले भने, ‘त्यो नाका स्थानीय बजारलाई लिएर एकदमै प्रचलित छ तर त्यहाँ नेपालको तर्फबाट कुनै पनि पूर्वाधार बनाइएको छैन ।’

सिन्धुपाल्चोकको तातोपानी–खासा नाका र रसुवाको रसुवागढी–केरुङ व्यावसायिक नाका हुन् । त्यहाँ दुवैतर्फ भन्सार कार्यालय लगायत अन्य सरकारी कार्यालय पनि छन् । तर ती नाकामा चीनतर्फ जति नेपालतर्फ अत्याधुनिक पूर्वाधार छैनन् ।

नेपालतिरको कार्यालयमा कर्मचारी बस्न मान्दैनन्, कहिलेकाहीँ कर्मचारी नै हुँदैनन् । त्यसले गर्दा काम प्रभावित भएको समाचारहरू आइरहेका हुन्छन् । तर चीनतिर अत्याधुनिक कार्यालय भवनका साथै प्रवेशद्वारहरू स्वचालित छन् । तर तातोपानी र केरुङ नाका पनि बेलाबेलामा बन्द हुने र सञ्चालन हुने गरेका छन् । जसले गर्दा नेपालको व्यापार व्यवसाय प्रभावित हुने गरेका छन् । चीनबाट सबैभन्दा बढी सामान आयात–निर्यात हुने यिनै दुई वटा नाका हुन् ।

नेपाल–चीनको लार्के, समागाउँ–रुइला, छेकम्पार–दुइला, कोरला–न्हेचुङ लिजी, मरिम भञ्ज्याङ–मायुङ भञ्ज्याङ, यारी हिल्सा–शियरबा, लाप्चे भञ्ज्याङ–लाप्चश्या, ठाडोढुङ्गा–भञ्ज्याङ र टिङ्कर भञ्ज्याङ–तोलाङ ताक्लाकोट पनि स्थानीय बजारलाई लिएर मात्र सञ्चालनमा छन् । यी नाकाबाट त्यति ठुलो व्यापार व्यवसाय हुन सकेको छैन । यद्यपि यी नाकालाई पनि व्यावसायिक नाका भन्ने गरिएको छ ।

चीनलाई दक्षिण एसिया प्रवेश गर्नका लागि सबैभन्दा उत्तम मार्ग तिब्बत हुँदै नेपालबाट मात्र सहज छ । त्यही भएर नेपालसँग जोडिएको सीमा नाकालाई चीनले यति धेरै महत्त्व दिएको छ । नेपाल र चीन बिचमा यातायात तथा पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर भइसकेको छ । प्रोटोकलमा उल्लेख भए अनुसार नेपाल र चीनबिचमा तातोपानी, केरुङ, किमाथांका, कोराला, यारी र ओलाङचुङगोला गरी ६ वटा नाकाबाट व्यापार हुने उल्लेख छ । नेपाल–चीनको नाङ्पाला–यलङप, च्याखु–रिगातोङवा, नाक्चेनाङ–ह्याजिमार, बझाङको उराई–विलिङ अझै खुलेका छैनन् ।

नेपाल–चीनको सीमा क्षेत्र
नेपाल–चीनबिच एक हजार ४३९ किलोमिटरको सीमा क्षेत्र छ । जसमा नेपालका १५ वटा जिल्ला पर्छन् भने चीन ९तिब्बत० तर्फबाट रोग डिङगे, चेन्ताङ डिङगे, टिङरी, झ्याङमु न्यालम, ग्यारङ, याग्रा झोङवा, डोङपा, पुराङ गरी आठ वटा काउन्टी छन् ।

किन बन्द भइरहन्छन् यी नाका ?

सीमा विज्ञ श्रेष्ठ भन्छन्, ‘नेपाल–चीनका नाकाहरू बन्द हुने, खुल्ने भइरहेका हुन्छन् तर जहिले पनि चीनको तर्फबाट नै बन्द हुने गरेको छ । कोभिडका कारण लामो समयसम्म सीमा नाका बन्द गरिएको थियो भने त्यसअघि विभिन्न सुरक्षा कारण देखाएर बेलाबेलामा बन्द गर्दै आएको थियो ।’

उत्तरी भेगका नेपाली जनताका लागि भरपर्दो बजार भनेकै चीन ९तिब्बत० को बजार हुन् । चार वटा देशसँग तिब्बतको अन्तर्राष्ट्रिय सीमा जोडिए पनि नेपालसँगको सम्बन्ध अत्यन्त घनिष्ट र सुमधुर रहँदै आएको छ ।

चीनलाई दक्षिण एसिया प्रवेश गर्नका लागि सबैभन्दा उत्तम मार्ग तिब्बत हुँदै नेपालबाट मात्र सहज छ । त्यही भएर नेपालसँग जोडिएको सीमा नाकालाई चीनले यति धेरै महत्त्व दिएको छ । ती नाकाबाट खाद्यान्न लगायत लत्ताकपडा ल्याउने गरिएको छ । ती नाका बन्द हुँदा नेपालीहरूलाई नै बढी सास्ती हुने गरेको छ ।

सीआरआइ डट सीएनका अनुसार तिब्बतमा उद्योगहरू स्थापना हुँदा त्यसको प्रत्यक्ष फाइदा नेपाललाई हुने गरेको छ । सीमा क्षेत्रसँग जोडिएका स्थानीय नेपालीलाई तिब्बतले मावनीय सहयोग पनि बृहत् रूपमा गर्दै आएको छ ।

चीनसँग जोडिएका नेपालका उत्तरी १५ जिल्लालाई प्रत्येक वर्ष एक करोड चिनियाँ युआन अर्थात् साढे १६ करोड रुपैयाँ बराबरको खाद्यान्न, निर्माण उपकरण लगायतका सामग्री सहायता स्वरुप प्रदान गर्दै आएको छ ।

भूकम्पको समयमा खासामा फसेका र घाइते भएका ५७ जना नेपालीलाई उद्धार गरी तिब्बतको सिगाच्छेमा राखेको थियो । अहिले पनि तिब्बतमा लगभग दुई हजार नेपाली विभिन्न व्यवसाय गरी बसेका छन् । केरुङ र हिल्सा नाकाबाट मात्र १५ सय नेपाली तिब्बतमा काम गर्न जान्छन् ।

तर बेलाबेलामा ती नाका बन्दा हुँदा नेपालीले निकै दुःख पाउने गरेको सीमाविज्ञ श्रेष्ठले बताए ।

चीनसँग अहिलेको सम्बन्ध तिब्बतकै कारणले भएको हो । नेपालको सम्बन्ध पहिला तिब्बतसँग थियो भने त्यसपछि मात्र चीनसँग भएको थियो ।

नेपाल–चीन नाकाबाट आवतजावत
नेपाल र चीनका नागरिकले एक अर्काको देशमा आउ–जाउ गर्न पासपोर्ट तथा भिसा अनिवार्य छ । तर नेपाल–चीनसँग जोडिएका १५ वटा जिल्लाका ३० किलोमिटर वरपरका जनता एक अर्काको देशमा आउन–जान पासपोर्ट तथा भिसाको आवश्यकता पर्दैन ।

उनीहरूलाई एक अर्काको देशमा आउन जान विशेष पासको व्यवस्था गरिएको छ । त्यो पास लिएर एक अर्काको देशमा जान सकिन्छ । वीरबहादुर शाह गृहमन्त्री हुँदा चीनसँग खर्क सम्बन्धी एउटा सम्झौता भएको थियो । त्यो सम्झौता अनुसार एक अर्काको देशमा आउजाउ गर्न कुनै पासपोर्ट वा विशेष पासको आवश्यकता पर्दैन, नागरिकता देखाएर पनि आउजाउ गर्न सकिन्छ ।

तर चीनले सुरक्षाको कारण देखाउँदै सीमा नाकामा कडाइ गरेपछि त्यो सम्झौताको उल्लङ्घन भएको सीमाविज्ञ श्रेष्ठले बताए । उनी भन्छन्, ‘चीनको तर्फबाट त्यो सम्झौताको उल्लङ्घन भएको हो । त्यही कारणले चीनको तर्फबाट बेला बेलामा नाकाहरू बन्द हुने गरेका छन् ।’

तिब्बतलाई लिएर चीन निकै नै संवेदनशील छ । र, नेपालले त्यसमा प्रत्याभूति गराउन नसकेको गुनासो भइरहेको छ । नेपाल–चीन सीमा वरपर नेपालतर्फ विभिन्न गुम्बा बनेका छन्, जहाँ विदेशीहरू पनि बस्ने गरेको आशङ्का चिनियाँ पक्षको छ ।

तिब्बती नेता दलाई लामा भारतमा निर्वासित जीवन बिताइरहेका छन् । नेपाल–भारतबिच खुला सीमा छन् । त्यसलाई पनि चीनले चुनौतीको रूपमा लिएको छ । जसले गर्दा चीनले आफ्नो सीमा क्षेत्रलाई कडाइ गरेको विज्ञ श्रेष्ठ बताउँछन् । नेपाल तथा भारतमा रहेका तिब्बती शरणार्थीले चीनविरुद्ध गतिविधि गरिरहेका कारण पनि चीनले चिन्ता जाहेर गर्दै आएको छ ।

नेपालतर्फ ३० किलोमिटर क्षेत्रको फुलपिङ, बाह्रबिसे, लामोसाँघु, लिस्कोट, डाँडापाखर, बलेफीजस्ता बस्तीका नेपालीलाई आर्थिक तथा भौतिक रूपले स्वतन्त्र तिब्बतको क्रियाकलाप गराएको आशङ्का चिनियाँ पक्षको छ । त्यही आशङ्काका भरमा भूकम्पको निहुँमा खासावासीलाई विस्थापित गरिएको विज्ञ श्रेष्ठले दावी गरे ।

सीमाविज्ञ श्रेष्ठ भन्छन्, ‘नेपाल–चीन सीमारेखादेखि दुवै सीमावर्ती क्षेत्रको २/२० किलोमिटर भूभागलाई १९६० मार्च २१ को चीन–नेपाल सीमा सम्झौताले सेनारहित क्षेत्र तुल्याएको थियो ।’  १९६४ मे १९ तथा १९६६ मे २ को नेपाल–चीन व्यापार सम्झौतामा ‘दुई देशबिचको सीमारेखाबाट ३०÷३० किलोमिटर क्षेत्रभित्र बसोबास गरिरहेका सीमाञ्चलवासी कुनै एक देशको सीमावर्ती जिल्लाका बासिन्दा अर्को देशको सीमावर्ती जिल्लामा जाँदा राहदानी, भिसा वा अन्य प्रमाणपत्र आवश्यक पर्दैन’ भनिएको छ ।

तर त्यसरी एकअर्को देशमा जाँदा सीमा जाँच चेकपोस्टमा नाम दर्ता गराउनुपर्ने व्यवस्था छ । सन् २००६ जनवरी १ देखि आधिकारिक परिचयपत्र बेगर जान–आउन नपाउने व्यवस्था गरिएको छ ।