सहकारी ठगी विरुद्ध सदन–सडक संघर्षमा कांग्रेस

जीवन शर्मा
१४ जेठ २०८१ १५:२६

काठमाडौं । प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सहकारी ठगी विरुद्धको संघर्षलाई सडक देखि सदनसम्म सशक्त बनाएको छ । गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको सहकारी ठगी प्रकरणमा संसद अवरोध गर्दै आएको कांग्रेस आइतबारबाट सडकमा ओर्लिको हो ।

सहकारीका लाखौं बचत कर्ताको करोडौं रकम अपचलन गर्ने व्यक्ति सत्ताको गृहप्रशासको नेतृत्वमा रहेका दावीसहित कांग्रेसले उनिमाथि संसदीय छानविन आवश्यक भएको भन्दै सडक संघर्ष थालेको नेताहरले बताएका छन् । सत्तापक्षले सदनमा प्रतिपक्षमाथि बलमिच्याई र सहकारी ठगीलाई संरक्षण गर्ने नियत राखेको कांग्रेससहित प्रतिपक्षी दलहरुले आरोप लगाएका छन् । वर्तमान गठजोड सरकारको रवैया निरंकुशताउन्मुख देखिएकाले उक्त रवैया विरुद्ध सदन देखि सडक सम्म आन्दोलन गर्नु परेको कांग्रेस महामन्त्री गगन कुमार थापाले बताए ।

उनले भने– ‘सत्ताले जुन रवैया देखाइरहेको छ, यो निरंकुशताउन्मुख रवैया हो । यो जुन खालको गठजोड छ, यो गठजोडले देखाएको रवैया निरंकुशताउन्मुख छ, अनुदारवादी छ । यसले बिस्तारै–बिस्तारै तपाईं हामीले प्राप्त गरेको उपलब्धि गुमाउनेछौँ । अहिले बोल्ने बेला आएको छ । सहकारी ठगीहरलाई बचाउने सर्वसत्तावादी रवैयाका विरद्ध हाम्रो विरोध प्रदर्शन हो ।’

संघीय संसद्मा चालु बजेट अधिवेशनको सुरुवातदेखि नै निरन्तर विरोधमा उत्रिएको कांग्रेसले आइतबारदेखि सडक आन्दोलनमा आउन बाध्य भएको जनाएको छ । सहकारी ठगी काण्डको छानविनका लागी संसदीय छानविन समिति नबन्दा सम्म र सरहकारले सहकारी पीडितको समस्या समाधान हुने ग्यारेन्टी नगर्दा सम्म सदन देखि सडक सम्मको आन्दोलन कायमै राख्ने कांग्रेस सांसद प्रतिमा गौतमले बताइन ।

‘हामीले सहकारी पीडित नागरिकको समस्या समाधानका लागी सरकारलाई सचेत गराएका हौं । सहकारी ठगीमा मुछिएका व्यक्ति नै गृहमन्त्री भएकाले उनिमाथि छानविन गर्न संसदीय छानविन आवश्यक भनेका हौं’, उनले भनिन– ‘तर, सरकारपक्षले सदनमा प्रतिपक्षका कुरा नसुन्ने र प्रतिपक्षी दलहरुको विरोधका बावजुत मर्यादापालकको घेरा बन्दीमा सदन चलाउने सभामुखको हर्कतले निरंकुशतन्त्रको झल्को दिएको छ । सहकारी समस्या समाधान हुने ग्यारेन्टी नहुँदा सम्म सदन अवरोध जारी राख्छौं ।’

काठमाडौं उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिमूलकरुपमा नेता कार्यकर्ता र सर्वसाधारणको सहभागिता रहेको छ । सहकारी ठगीमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको विषयलाई सरकारले सत्ता जोगाउने नाममा विषयान्तर गर्न खोजेको विरोध सभालाई सम्बोधन गर्ने अधिकांश नेताहरुले आरोप लगाएका छन् ।

गृहमन्त्री रवि लामिछानेसहित थुप्रै एमालेका नेताहरु सहकारी काण्डमा फस्ने देखेर नामबिनै कामचलाउ प्रकृतिको संसदीय छानबिन समिति बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीनै लागि परेको कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आरोप लगाए । काठमाडौँको प्रदर्शनी मार्गमा ‘सत्ताको बलमिच्याइँ र सहकारी ठगीविरुद्ध’ कांग्रेसले आइतबार गरेको खुला सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले भने– ‘सहकारी ठगी प्रकरणमा रवि लामिछानेको नाम नै नलेखी कामचलाउ हिसाबको संसदीय समिति बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीजी चाहनुहुन्छ । सहकारी ठगीमा एमालेका कैयौँ साथीहरू जोडिनुहुन्छ, रवि लामिछाने त देखिएका पात्र हुन् । नदेखिएका धेरै पात्र सहकारी सञ्चालन गरेर सहभागी हुनुहुन्छ । ती सबलाई जोगाउन चाहनुहुन्छ, कमरेड केपी ओली । त्यो जोगाउन एमाले पार्टीलाई नै बदनाम गराउने कर्म गरिरहनुभएको छ ।’ दुई वटा राहदानी हुनेले गृह मन्त्रालय चलाएको र दुई वटा नागरिकता हुनेले संसद् सचिवालय चलाइरहेको बताउँदै उहाँले ती व्यक्तिहरुमाथि समेत छानबिनको माग गरेका छन् ।