आसनबाटै चर्कीए सभामुख

सभामुख-सांसद सवाल जवाफ पछि १० मिनेटमै सदन स्थगित

देशको आवाज
११ जेठ २०८१ १३:०४

 काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरे र प्रतिपक्षी दलका सांसदहरुबीच सवालजवाफ चलेको छ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका लागि शुक्रबार ११ बजेका लागि डाकिएको बैठक शुरु भएलगत्तै सभामुख घिमिरेले बैठकको शुन्य समय र विशेष समय नरहेको जानकारी गराएका थिए ।

प्रतिपक्षका सांसदहरु आसनबाट उठेर सदन अवरोध गरेपछि सभामुख देवराज घिमिरे प्रतिपक्षका सांसदहरुले सभामुखले बोल्न नदिएको भन्ने प्रचार गरेको भन्दै आसनबाटै चर्कीएका थिए । त्यसपछि प्रतिपक्षी दलहरुले बोल्ने समय पाउनुपर्ने भन्दै विरोध जनाएका थिए । प्रतिपक्षीले जनताको कुरा राख्नुपर्ने भन्दै समय माग गरेपछि सभामुख र प्रतिपक्षीबिच केहीँ बेर भनाभनको स्थिति बनेको बन्यो ।

सहकारीको मुद्दामा सरकार र दलहरुबिच छलफल र सहमति भइरहेको भन्दै सभामुख घिमिरेले सभाको बैठक पनि अगाडि बढाउन आग्रह गरेपनि प्रतिपक्षी दलका सांसदहरुले मान्दै नमानी विरोध जारी राखेपछि सभामुख घिमिरेले आजको बैठक स्थगित गर्दै १३ गते बिहान अर्को बैठक बस्ने जानकारी गराएका छन् । बैठक शुरु भएर प्रकृया अघि बढाएको १० मिनेटमै सदन स्थगन भएको हो ।